बिरामी श्रीमती अस्पतालमा छोडेर रगतको खोजीमा भौतारिदै मनिराम

बिरामी श्रीमती अस्पतालमा छोडेर रगतको खोजीमा भौतारिदै मनिराम

चितवन : श्रीमतीको उपचारका लागि दाङबाट आएका मनिराम चौधरी रगतको खोजीमा दिनहुँ भौतारिन्छन्। हरेक दिन भरतपुर अस्पतालको परिषरमा रहेको नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसंचार केन्द्रमा भेटिन्छन्।

गडवा गाँउपालिका-५ चैनपुरका मनिराम श्रीमती ३३ वर्षीय रुपा चौधरीलाई अस्पतालमा एक्लै छोडेर उनी रगतको खोजीको हिँडेका हुन्। रक्त क्यान्सरको शंका लागेर १० दिन अघि भरतपुर आएदेखि नै रगतको खोजीमा छन्। उनी अस्पतालमा कम, रगतको खोजीमा बढी दौडधुप गर्छन्। श्रीमती बिरामी भएको पीडा त छँदैछ। त्यसमा रगत नपाउँदा झन बढी दुखित छन्। अहिलेसम्म १२ युनिट रगत चढाइसकेका छन्। अझै रगत नपुगेपछि उनी चिन्तित छन्। रक्तसंचारमा रगत संकलन भएर कहीबाट आँउछ कि भनी कुरेर बस्छन्।

रक्तसंचारकेन्द्रमा रगत नभएपछि केन्द्रमा भएको रक्तदाताको नम्बर हेरेर फोन गरेर रगत माग्छन्। कोभिड संक्रमणको डरले रगतको अभाव भएपछि त्यसको मारमा मनिराम परेका छन्। ‘मानिसको नम्बर खोजेर हात जोडी-जोडी रगत माग्न परेको छ,’ उनले भने, ‘एक्लै दौडिरहेको छु। श्रीमती अर्कैलाई हेरिदिनु भनेर आएको। सारै पीडा छ हजुर। ’ 

रुपन्देहीका मुकेश यादव पनि आमालाई अस्पतालको वेडमा छोडेर रक्तसंचार केनद्रमा चार घण्टादेखी रगत पर्खिरहेका थिए। रोहिणी गाँउपालिका-३ का मुकेश रक्तदान कार्यक्रमबाट संकलित रगत पाउने आशमा थिए। आमा ५५ वर्षीय सोरती यादव रक्तक्यान्सर भएर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन्। ‘कहिले पाइन्छ, कहिले पाइदैन। रगत पाउन धेरै धाउन परेको छ। फोन गरेर मान्छे खोजौ अन्तबाट आएको नयाँ मान्छे परियो।  आफूले कोही चिनेको छैन,’ उनले पीडा सुनाए, ‘रगत आयो भनेर सोध्न आउन जान मात्रै चार सय त भाडामा मात्रै सकिन्छ। त्यही पनि रगत पाए हुनथ्यो नि। कहिले त खाली फर्किनुपर्छ।’ 

अहिले चितवनमा रगतको चरम अभाव छ। धेरै जिल्लाबाट चितवनमा बिरामी आउने कारण पनि जिल्लामा रगतको माग बढी छ। रगतको माग बढी भएको छ तर रगत दिने दाता शून्य जस्तै छन्। जटिल अवस्थाका बिरामीलाई झनै समस्या छ। भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कन्सलटेण्ट क्यान्सर सर्जन डा.अनिल विक्रम कार्कीले रगतको अभावमा शल्यक्रिया कम हुने गरेको बताए। क्यान्सरको विरामी जटिल हुने कारण ढिलाइ गर्न मिल्दैन। तर रगतको अभावले समस्या भएको छ, ‘उनले भने,‘जुन हिसाबले सर्जरी गर्नुपर्ने हो त्यो अनुपातमा गर्न सकेका छैनौ। ’ 

कोरोना संक्रमणले दाता नजुट्दा रगतको अभाव भएको हो। कोरोना संक्रमण बढेपछि रक्तदान कार्यक्रम हुन सकेको छैन। संक्रमण जोखिमले दाता त्रसित छन्। उपचारका लागि अस्पताल आएका विरामीका आफन्त रगतको जोहो गर्न कठिन भएको छ। कोभिडको डरले रक्त संकलन कार्यक्रम प्रभावित भएको छ।  

बिरामीका आफन्त दौडधुप गर्दै रगतको खोजीमा भौंतारिरहेका छन्। भरतपुरको रक्तसंचार केन्द्रलाई रगतको ब्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। समुदायमा कोरोना महामारी फैलिएको देखिएको अवस्थाले रक्तसंकलन हुन नसक्दा रगतको ठुलो अभाव भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए। 

कोरोनाको डरले चितवनमा गत हप्तादेखि रगत संकलन हुन सकेको छैन्। ‘उपचारको लागी रगत लिन आउनुहुन्छ। बिरामीको मान्छेसंग पनि दाता छैनन्। हाम्रो सम्पर्कमा हनुभएका दाताहरु बोलाएपनि त्यसले धानेन,’उनले भने,‘अहिले आकस्मिक दाता बोलाएर ब्यवस्थापन गरेका छौ, रक्तदान कार्यक्रम भयो भने यसको समस्या समाधान हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.