किन हुन्छ लाटोकोसेरोको तस्करी ?

किन हुन्छ लाटोकोसेरोको तस्करी ?

काठमाडौं/कास्की : लाटोकोसेरो किसानलाई गुनकारी पन्छी हो। यसले अन्नबाली खाएर दुःख दिने मुसाको संख्या नियन्त्रण गरी गुन लगाउँदै आएको छ। पर्यावरण सन्तुलनमा राख्न पनि महत्वपूर्ण योगदान रहेको विज्ञ बताउँछन्। तर, यसको संरक्षणको साटो कतिपयले तस्करी गर्दै आएका छन्। नेपालबाट भारत, चीन, मध्यपूर्वी एसियासहित विभिन्न देश लैजाने गरेको पाइएको संरक्षणकर्मी राजु आचार्य सुनाउँछन्।

‘वर्षमा कम्तीमा २ हजार लाटोकोसेरोको अवैध कारोबार हुने अनुमान छ’, तीन दशकदेखि संरक्षण तथा अनुसन्धानमा सक्रिय आचार्य भन्छन्। क्यान्सर निको हुने, भियाग्राबराबरको औषधि बन्ने ‘विश्वास’ले अवैध कारोबार हुँदै आएको जनाइएको छ। विशेषगरी चीनमा यस्ता ‘अन्धविश्वास’ देखिएको अध्ययनले देखाउँछ। लाटोकोसेरोका विभिन्न अंगबाट आयुर्वेदिक औषधिसमेत बन्ने मान्यता छ। 

आचार्यका अनुसार सबैभन्दा बढी चीन र भारतीय बजारमा कारोबार भए पनि भियतनामसम्म पनि पुग्ने गरेको छ। भारतमा मुख्यतः तान्त्रिकले प्रयोग गर्छन्। लक्ष्मी खुसी हुने मान्यताले दिल्लीमा मात्रै लक्ष्मीपूजामा १ हजारवटाको बलि दिने गरेको जनाइएको छ। 

जानकारका अनुसार तस्करले लाटोकोसेरोको मात्रै कारोबार गर्दैनन्। वन्यजन्तु तस्करीमा संलग्नहरू नै यो पन्छीको अवैध कारोबारमा लागेको अध्ययनले देखाएको आचार्यको भनाइ छ।
‘तस्करहरूले  मुख्यतः १४ वटा बोर्डर प्वाइन्ट र ३२ वटा रुट प्रयोग गरेको देखिन्छ’, आचार्य भन्छन्, ‘तल्लो तहमा गरिबहरू प्रलोभनमा परेको देखिएको छ। तर, गुणबाट लाटोकोसेरो झिक्नेहरूले पाँच प्रतिशत पनि रकम पाउँदैनन्।’ गाउँलेले ५ हजारदेखि १० हजारसम्म पाउने देखिएको उनको भनाइ छ। विगतमा ५० हजार रुपैयाँदेखि लाखौं कमाउने आशामा यसको अवैध ओसारपसार गरेको घटना देखिएका थिए। 

सुरुमा स्थानीयवासीले नै गुँडबाट लाटोकोसेरो झिकेर ल्याउँछन्। सदरमुकाम वा जिल्ला पुर्‍याउँछन्। त्यहाँबाट मुख्य सहरसम्म पुर्‍याइन्छ। पोखरा, विराटनगर, धनगढी, काठमाडौंजस्ता सहरबाट तस्करले अवैध व्यापार गर्छन्। तस्करीमा संलग्न व्यक्तिभन्दा अबैध रूपमा पाल्ने, एक ठाउँबाट अर्कोमा ओसार्नेहरू पक्राउ पर्ने गरेको जनाइएको छ।

‘सात–आठ वर्षअघि पश्चिम नेपालमा व्यापक समस्या थियो’, आचार्य भन्छन्। तर, प्रहरी र वन कार्यालयको सक्रियताले खुला रूपमा लाटोकोसेरोलगायत पन्छी लिएर हिँड्नेहरू घटेको उनी सुनाउँछन्। लाटोकोसेरो पक्रने क्रममा सन् २०१० मा दोलखामा भएको दुर्घटनाको प्रसंग उनी यसरी सुनाउँछन्, ‘गुँणबाट लाटोकोसेरो झिक्न जाँदा भीरबाट लडेर तीन महिना अस्पताल बस्नुपरेको थियो।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतो एक वर्षयता लाटोकोसेरोमै अप्रेसन नगरिएको बताउँछन्। ‘म आएको करिब वर्षदिन भयो। लाटोकोसेरोमै अप्रेसन भएको छैन’, प्रवक्ता महतो भन्छन्, ‘विगतमा यसमै अप्रेसन भएका होलान।’ कुनै पनि प्रकारका अवैध कारोबार गरेको भेटिए कानुनअनुसार दण्डित गरिने महतोको भनाइ छ। उनका अनुसार वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐनलगायत छन्। 

उनका अनुसार एक देश र अर्को देशको व्यापार जोडिए संकटापन्नसम्बन्धी ऐन लागू हुन्छ। वन र राष्ट्रिय निकुन्ज कार्यालयबाट आखेटोपहारहरूका मुद्दा चल्छन्। ‘कुन ठाउँबाट पक्राउ गरिएको हो ? आरक्षित क्षेत्रतिरका मुद्दा नेपाली सेनाले हेर्छ। आरक्षण बाहिरका ठाउँमा डिभिजन वन कार्यालयहरूले हेर्दै आएका छन्’, उनी भन्छन्।

आचार्यका अनुसार विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो पाइन्छन्। २३ प्रकारका नेपालमा छन्। यिनीहरूको मरेपछि मूल्य हुँदैन। त्यसैले जिउँदै समाउने चलन छ। अन्धविश्वास र प्रलोभनमा परी अबैध कारोबार गर्नेहरूका कारण पन्छीहरू जोखिममा परेको उनी बताउँछन्। काठमाडौंबाट बेलायत लैजान लागेको अवस्थामा सन् १९७० तिर लाटोकोसेरो समातिएको थियो। यसले वर्षौंदेखि लाटोकोसेरोका अवैध  व्यापार हुँदै आएको प्रष्ट्याएको उनको ठम्याइ छ।

वातावरणको सूचकका रूपमा हेरिन्छ लाटोकोसेरो। जहाँ यी पन्छी हुन्छन् त्यस क्षेत्रलाई स्वस्थ मानिन्छ। उक्त क्षेत्रमा सबै वातावरणीय तत्वको अन्तक्रिया भइरहेको भन्ने बुझिन्छ। 

किन हुन्छ अवैध व्यापार ? 
भारतीय लेखक अबरार अहमदले लामो अनुसन्धानपछि लेखेको पुस्तकमा लाटोकोसेरो तस्करीको चर्चा गरिएको आचार्य सुनाउँछन्। लाटोकोसेरोको हड्डीको लेप लगाउँदा महिलामा लाग्ने थुनेलो रोग निको हुन्छ भन्ने विश्वास छ। हड्डीको माला लगाउँदा मसानघाटमा तर्साउँदैन भनिन्छ। लाटोकोसेरो घरमा झुन्ड्याउँदा भूतप्रेत छिर्दैन भन्ने मान्यता छ।   

पोखराको मुस्ताङचोकनजिकै २०७० सालमा झारफुकका लागि तान्त्रिकले प्रयोग गरेको भेटेको पनि उनले उल्लेख गरेका छन्। नेपालमा अझै तान्त्रिकहरूले लाटोकोसेरोको प्रयोग गरिरहेको अनुमान उनी गर्छन्। भारतमा उक्त संख्या ठूलो रहेको जनाइएको छ। 

अबरारले लाटोकोसेरो धनगढी, नेपालगन्जको बाटोबाट भारत पुर्‍याउने गरेको देखेको उल्लेख गरेका छन्। भारतीयहरूले स्थानीयवासीलाई प्रयोग गरेर पश्चिम नेपालका सिमानासम्म पुर्‍याउन लगाएको दाबी उनले गरेका छन्।

पोखरामा उद्धार गरिएको गोठे लाटोकोसेरो। तस्बिर : कृष्णमणि बराल

चीनमा विभिन्न प्रयोजनका लागि प्रयोग हुने गरेको उनले बताएका छन्। यौनबद्र्धक औषधि बनाउन, दमको औषधिका रूपमा प्रयोग गर्न, मरेपछि घरबाट भूतप्रेत हटाउने प्रयोग गरिन्छ। लाटोकोसेरोको प्वाँख खल्तीमा राख्दा सेनाहरूले युद्ध जितिन्छ भन्ने अन्धविश्वास छ। लाटोकोसेरोलाई जिउँदै पानीको भाँडोमा एक साता डुबाएर त्यही पानी पिए सम्पूर्ण रोग हराउँछ भन्ने मान्यता रहेको जनाइएको छ। लाटोकोसेरो राखे व्यापार बढ्ने विश्वासमा होटलहरूले समेत लाटोकोसेरो राख्ने गरेको देखिएको छ। 

करिब १९८२ तिर पनि भारतको बाटो हुँदै अमेरिका, युके, स्वीट्जरल्यान्डतिर लैजाने गरेको बताएका छन्। नेपाल–भारत तथा भारत–बंगलादेशको बाटो भएर संसारभरका चिडियाघरमा समेत ओसारपसार भएको दाबी उनको छ।

नेपाल पन्छी संरक्षण संघमा अनुसन्धानरत सन्तोष बजगार्इं लाटोकोसेरो जस्तै अन्य पन्छीहरूको पनि अबैध व्यापार भइरहेको पाइएको सुनाउँछन्। उनका अनुसार ठूला चराहरूलगायत सुगा, मुनियाँ, लभबर्ड, फिन्चेस, मकाउ, परेवा, काक्रातौलगायतको कारोबार हुने गरेको छ। 

तराईबाट भुँडीफोर (भुँडीफोरुवा) चराको गिदी भारतमा बेच्न लगिने गरेको उनको भनाइ छ। भुँडीफोरुवाको गिदी आयुर्वेदिक तथा झारफुकको काममा प्रयोग हुँदै आएको अध्ययनले देखाएको उनी सुनाउँछन्। भन्छन्, ‘सुगा, मुनियाँ, फिन्चेस प्रजातीहरू पाल्नका लागि समातिन्छ। मयूर प्वाँखका लागि। बगेडी चरा खाएमा जाडोमा शरीर न्यानो गराउँछ भन्ने विश्वास देखियो।’
ठाउँअनुसार चराका मूल्य पनि फरक रहेको उनी सुनाउँछन्। जनकपुरमा चार सय पर्ने सुुगालाई काठमाडांैमा ४५ सयसम्म लिएको भेटिएको। काकातौको मूल्य १२ हजार ५ सय रुपैयाँसम्म छ। मुनियाँ ९५० सम्म पर्ने भेटिएको उनको भनाइ छ।  

अध्ययनका क्रममा नेपालबाट भारत लगिएको र भारतबाट नेपालको बाटो हुँदै कारोबार भएको घटना पनि छन्। तर, व्यापारको रुट अझै स्पष्ट नभएको बजगाईंको भनाइ छ। ‘विगतमा अमेरिका, कतार, नेदरल्यान्ड्सलगायत मुलुकमा पनि व्यापार भएको देखिएको छ।’

अबैध व्यापारकै कारण उपत्यकामा नयाँ चराहरूले पुरानालाई विस्थापित गरेको अवस्थासमेत आएको देखिएको छ। एलेक्जेन्ड्राइन प्याराकीट (कर्रा सुगा) को संख्या उपत्यकामा धेरै छ।  यो प्रजातीको सुगा काठमाडौं खासै हँुदैनथ्यो। मानिसहरूले कुनै प्रयोजनमा लिएर हिँड्दा फुत्किएर संख्या बढेको हुन सक्छ बुझाई उनको छ। उनले भने, ‘अन्य प्रजातीलाई विस्थापित गरेर ठूलो बथान बनाइसकेको छ।’ 

खुलेआम रूपमा चराहरूको बिक्री पनि हुँदै आएका छन्। कन्ठे सुगा, (प्लम हेडेड) ट्वीसी सुगाहरू बजारमा बेच्न राखिएका भेटिएका छन्।  फिन्चेस, मुनियाँ, लभबर्ड, बजरी चरा, काकातौलगायतका चरा बजारमा देखिन्छन्। 

मकाउ नाम गरेको चरा अफ्रिकाबाट ल्याइएको भेटिएको उनको भनाइ छ। फिन्चेस चरा नेपालमा पाइन्न। भारतबाट ल्याएको भनिएको हुन्छ। लभबर्ड पनि नेपालमा पाइन्न। बजरी पनि उतैबाट आएको देखिएको छ। खुला सीमाबाट ल्याएको प्रतिक्रिया पाएको उनी सुनाउँछन्।   

विगतमा शाही बाज नेपालबाट कतार लैजाने गरिएको घटनाहरू पनि भेटिएको उनको भनाइ छ। सन् २०१८ मा काठमाडौंमा तीन सय स्पाइसी फिन्चेस पक्राउ परेको थियो। सन् २०११ मा मयूरको प्वाँख ३ सय १७ किलोजति पक्राउ गरिएको थियो। अमेरिका लैजान लागिएको भनिए पनि कता कुन प्रयोजनमा लैजान्छन् भन्ने स्पष्ट नभएको उनको भनाइ छ। 
नेपाल पन्छी संरक्षण संघकी कार्यकारी प्रमुख ईशाना थापा केही वर्ष पहिला अफ्रिकन ग्र्रे प्यारोट समातिएको प्रशंग सुनाउँछिन्। भन्छिन्, ‘सात सय डलरसम्म बिक्री हुन्छ रे।  नेपालमा पनि महँगो पन्छी पाल्नेहरू छन्।’

चराहरू पिंजडामा बोकेर हिँड्नु पनि अबैध काम भएको उनको भनाइ छ। कतिपयले लाइसेन्स लिएर पन्छी खोजे पनि लाइसेन्स दुरुपयोग गरेको आरोप उनी लगाउँछिन्। ‘तोकेको भन्दा फरक प्रजातीसमेत पालेका छन्। नियमन कसैले गरेनन्’, उनी भन्छिन्, ‘अनुगमनका लागि अलि विज्ञहरूको टिम बनाएर काम गर्न आवश्यक छ।’ 

अबैध कारोबार गर्नेहरूले पन्छीलाई अत्यन्त दयनीय ढंगले एकठाउँबाट अर्को ठाउँमा ओसार्ने गरेको थापाको भनाइ छ। आँखा र मुख सिलाइदिने गर्छन्। गन्तव्यमा पुर्‍याउन उनीहरूले विभिन्न उपाय लगाउने गरेका घटनाहरू पनि भएको उनी बताउँछिन्। उनीहरू सजिलो रुटको पत्ता लगाउँछन्। 

कानुनको जानकारी नहुँदा समस्या
पोखरामा प्रकृतिका साथीहरू संस्थाले लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव आयोजना गर्दै आएको छ। त्यसको प्रभावस्वरूप घाइते भएका, चोरी शिकारीमा परेका लाटोकोसेरोको संरक्षणका लागि विभिन्न जिल्लाबाट सूचना आउने गरेको कार्यकारी निर्देशक राजु आचार्यको भनाइ छ। उनका अनुसार यस किसिमको उत्सव अमेरिका, इटाली र भारतमा आयोजना गरिन्छ। 
उक्त संस्थाका वन्यजन्तु अनुसन्धान निर्देशक यादव घिमिरेका अनुसार धेरै नागरिकलाई कानुनको जानकारी नहुँदा गैरकानुनी रूपमा पाल्ने, मार्ने र अवैध रूपमा बिक्री बढेको छ। यी पन्छीले रूखको टोड्को, भुइँमा तथा पहराहरूमा फुल पार्छन् र बच्चा कोरल्छन्। यिनको शरीरका तौल ३१ ग्रामदेखि लिएर ४ किलो ५ सय ग्रामसम्म हुने अनुसन्धानले पत्तालगाइएको छ। लाटोसकोसेरोको शरीर अत्यन्तै हुलुका तथा नरम भुवाहरूले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन।

यस्तो छ धार्मिक मान्यता 
    जीवनमा अन्धकार हटाउने चराका रुपमा लिन्छन् ईशाइ धर्मावलम्बी 
    लक्ष्मीका वाहनका रुपमा मान्छन् हिन्दु धर्मावलम्बी 
    युरोपेली मुलुक र जापानमा शुभ मानिन्छ लाटोकोसेरो 

भनिन्छ, 
    मासु वा सुकुटी खाँदा दम, पखाला, मासी तथा क्यान्सर सञ्चो हुन्छ।
    मासुलाई तेलमा मिसाएर शरीरमा मालिस गर्दा दुखाइ निको हुन्छ।
    मर्चा बनाउन उपयोगी हुन्छ।
    टाउको र खुट्टाको मासु पकाएर खाँदा जिउ तथा जोर्नी दुखेको सञ्चो हुन्छ।
    हड्डीको माला लगाउँदा मसानघाटतिर हिँड्दा तर्साउँदैन।
    हाडलाई क्यान्सरको औषधिका रूपमा प्रयोग गरिन्छ।
    लेप प्रयोग गर्दा हर्ष र जिउ दुखाई सञ्चो हुन्छ। यसले भाँचिएको हाडसमेत जोडिन्छ। 
    मरेको लाटोकोसेरो राख्दा भूतप्रेतले घरमा बास गर्दैन। 
यी बुँदा राजु आचार्य र यादव घिमिरेले लेखेको पुस्तक ‘लाटोकोसेरो की बाटोकोसेरो’बाट लिइएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.