अझै छ डेल्टाको जोखिम

अझै छ डेल्टाको जोखिम

कोभिड—१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले विश्व ग्रसित भएको वर्तमान अवस्थामा नेपाल अछुतो रहन सकेको छैन। स्वास्थ्य मन्त्रालयका तथ्यांक हेर्दा हरेक दिन अधिक संख्यामा संक्रमित भइरहेको र ७२ हजारभन्दा बढी संक्रमित पुगेको देखिन्छ। विभिन्न जिल्लाका मालपोत कार्यालय, पालिकाहरू तथा अन्य महत्त्वपूर्ण कार्यालयहरूका कर्मचारी संक्रमित भएका कारण सेवा प्रभावित भएको छ। चौबिसैघण्टा स्वास्थ्य सेवा दिने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा दिन कठिनाइ भएको छ। लगातार दुई, तीन सिफ्ट नै काम गर्नु परेको बाध्यता छ। करिब ५५ कर्मचारी रहेको सुनसरीको इटहरी अस्पतालका १६ जना स्वास्थ्यकर्मी संक्रमित रहेकाले नियमित सेवा दिन पनि कठिनाइ भएको इमर्जेन्सी इन्चार्ज रामकुमार धमला बताउँछन्। आइसोलेसनमा रहेका उनी भन्छन्, ‘इटहरी अस्पताल जस्तै अधिकांश अस्पतालका स्वास्थ्यकर्मी संक्रमित छन्। संख्या कतै कम त कतै बढी मात्रै हो।’

कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा देशभर ८ सय ८८ स्वास्थ्यकर्मी संक्रमित बनेको तथ्य स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरेको छ। पहिलो र दोस्रो लहरभन्दा तेस्रो लहरमा छोटो समयमै यत्ति धेरै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले बताएको छ। तर संक्रमित अझ बढी हुन सक्ने अनुमान छ। धेरै स्वास्थ्यकर्मी संक्रमित भए पनि उनीहरूलाई अस्पताल भर्ना गर्नु परेको छैन। खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः संक्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरियन्टभन्दा संक्रामक छ। डेनमार्कको कोपेनहेगन विश्वविद्यालयको अध्ययनअनुसार ओमिक्रोन पहिलेको डेल्टा भेरियेन्ट भन्दा २ दशमलव ७ देखि ३ दशमलव ७ गुणा बढी संक्रामक छ।

पहिलो पटक कोभिड महामारी नेपालमा भित्रिँदा निकै भयावह अवस्था थियो। मानिस घरबाट निस्किन पनि डर मान्थे। लकडाउनका कारण धेरै बाहिर निस्कनु पर्ने अवस्था पनि थिएन। तर अति आवश्यक काम र सेवामा रहेका वर्ग पनि धेरै त्रसित थिए। स्वास्थ्यकर्मी घर आउन, परिवार बच्चा तथा वृद्धसँग बस्न डराएका थिए। तर, अहिले अवस्था त्यो रहेन। तत्कालीन अवस्थामा सुरक्षाका साधनहरू (मास्क, सेनिटाइजर, पीपीई) को अभाव थियो। यी साधनहरू महँगो पनि थियो। तर पनि सर्वसाधारणले समेत प्रयोग गरेका थिए। अहिले स्वदेशमै उत्पादन हुन्छ। सहज र सस्तो भयो तर सावधानी अपनाउन गाह्रो मानेको देखिन्छ।

त्यसैले संक्रमणको गति तीव्र हुनुको कारण भाइरस संक्रमण मात्र होइन, सावधानी कम भएर पनि होभन्दा फरक नपर्ला। ओमिक्रोन कोभिडभन्दा कम खतरनाक भएकाले असावधानी बढेको त होइन ? पहिले दैनिकजसो कोभिडका कारण हुने मृत्युका खबरहरूले मनमस्तिष्कमा भय बनाएको थियो। त्यो भयमा क्रमशः कमी आउँदै गएको सत्य हो। ओमिक्रोनको संक्रमणले मृत्यु नै नभएको पक्कै होइन। पछिल्लो साताको तथ्यांक हेर्दा प्रत्येक दिन औसत पाँच नेपालीको संक्रमणकै कारण मृत्यु भएको पाइन्छ। तर पनि जुन दरमा संक्रमण फैलिएको छ, मृत्युदर सोही अनुपातमा पक्कै छैन। क्यालिफोर्नियामा ७० हजार संक्रमितमा गरिएको अध्ययनले कोभिड—१९ को डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्टको संक्रमणमा ९१ प्रतिशतले मृत्युको जोखिम घटेको देखाएको छ।

डेनमार्कको कोपेनहेगन विश्वविद्यालयको अध्ययनअनुसार ओमिक्रोन पहिलेको डेल्टा भेरियन्ट भन्दा २ दशमलव ७ देखि ३ दशमलव ७ गुणा बढी संक्रामक छ।

अध्ययन प्रतिवेदनमा ओमिक्रोन संक्रमणले संक्रमितलाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने बाध्यतालाई ७१ प्रतिशतले घटाएको उल्लेख छ। यूके हेल्थ सेक्युरेटी एजेन्सीको अध्ययनले कोभिडविरुद्धका खोप ओमिक्रोन संक्रमण रोक्न कम प्रभावकारी रहेको बताएको छ। तर खोप लगाएकामा डेल्टा भेरियन्टको तुलनामा आकस्मिक सेवा र उपचारका लागि अस्पताल भर्ना हुनुपर्नेमा ८१ प्रतिशत कमी आएको देखाएको छ। यी अध्ययनका आधारमा ओमिक्रोन अलि कम घातक रहेको यथार्थलाई पुष्टि गरेको छ।

ओमिक्रोनका लक्षण अन्य बेलाको रुघाजस्तै नै हुन्छ। विश्व स्वास्थ्य संगठनले अझै पनि मानिसले कोभिडका आधारभूत लक्षणहरू निरन्तरको खोकी, ज्वरो र स्वाद परिवर्तन हुने वा हराउने बताएको छ। अहिलेसम्म ओमिक्रोन भेरियन्टका प्रमुख पाँच लक्षण नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने, हाच्छिउँ आउने तथा घाँटी दुख्ने देखिएका छन्। पहिले र अहिलेमा उस्तैउस्तै लक्षण भए पनि पहिले अलिक बढी डर र सतर्कता अहिले बढी परिपक्वता र कम सतर्कता हुने गरेको देखिएको छ। पहिले अस्पतालमा शय्याको अभाव, अहिले अस्पतालभन्दा घर नै उपयुक्त ठान्नेहरूको संख्या बढ्दो छ। पहिलो चरणमा श्वासप्रश्वासमा गाह्रो भएकाले घरमा अक्सिजन लगाउनेहरू, अस्पतालको आईसीयूमा भर्ना भएका व्यक्तिहरू यसपटक नआत्तिएर घरमै आइसोलेसनमा छन्। पहिलो चरणमा अस्पताल, दोस्रो चरणमा अक्सिजनको चरम अभाव देखिए पनि तेस्रो चरणमा अहिले स्वास्थ्य सेवामा अभाव रहेको वा सेवा नपाएको गुनासो देखिएन।

पहिलो र दोस्रो चरणमा कोभिड परीक्षणका लागि निकै सकस थियो। अहिले त्यस्तो अवस्था छैन। एन्टिजेन परीक्षण पालिका तथा वडास्थित स्वास्थ्य संस्थाहरूमा समेत उपलब्ध छन्। पीसीआर परीक्षणका लागि समय पर्खिनु पर्दैन। प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार प्रदेश ल्याबले अहिले सोही दिन रिपोर्ट दिन थालेको छ। यादवका अनुसार पहिले ५–१० प्रतिशत मात्र टेस्ट पोजिटिभ आउँथ्यो, पुल टेस्टिङ गरेर भए पनि एकै दिनमा हजार, १५ सयको रिपोर्ट दिँदा पनि केही दिन कुर्नु पथ्र्यो, कामको चाप धेरै थियो। अहिले ५०–६० प्रतिशत टेस्ट पोजेटिभ आउने भएकाले पुल टेस्ट गर्न मिल्दैन। हरेक नमुनाको छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ, तर पनि भ्याइन्छ।’

एकातिर परीक्षण गर्ने स्थान र प्रयोगशालामा वृद्धि, निजी क्षेत्रमा पनि परीक्षण हुने भएकाले संख्यामा कमी आएको छ। संक्रमितको प्रतिशतमा भने निकै वृद्धि भएकाले र छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने निर्देशक यादवको तर्क छ। पहिले सर्वसाधारण डरका कारण पनि परीक्षणमा जोड दिएका थिए तर अहिले लक्षण देखिएकाहरू पनि परीक्षण गराउन खोजेको देखिँदैन। चार दिनदेखि होम आइसोलेसनमा रहेकी ज्योति लाइफ इन्सुरेन्स धनकुटाकी मेनेजर मुना पोख्रेलले कोरोनाको परीक्षण गरेकी छैनन्। उनी चिकित्सकको सल्लाहमा आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहेकी प्रदेश १ तालिम केन्द्रका नर्सिङ अधिकृत भन्छिन्, ‘लक्षणहरू देखिएका सचेत व्यक्ति पनि परीक्षण गरे पोजिटिभ आउँछ, काममा जान सकिँदैन भनेर पनि परीक्षण गर्दैनन्। त्यसैले पनि जनस्तरमा ओमिक्रोन चाँडै फैलिएको हो।’ जनस्वास्थ्यको दृष्टिकोणबाट परीक्षण नगर्नु अपराध हो। उदयपुर स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दास भन्छन्, ‘आर्थिक समस्या छ, समय पनि खर्चिनु पर्छ। त्यसैले परीक्षणका लागि सबै आकर्षित नहुन सक्छन्। परीक्षण गर्नु जिम्मेवार नागरिकको कर्तव्य हो।’ परीक्षणले स्वास्थ्यका योजना र व्यवस्थापनलाई मात्र होइन, परिवारलाई पनि जोगाउँछ भन्ने दासको तर्क छ। संक्रमणको शंका भएपछि आइसोलेसन, परीक्षण र उपचार जरुरी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.