त्रास होइन, आस भरौं
सन्त्रासले नयाँ सम्भावनाका अनुपम आयामहरू पनि बोकेको हुन्छ, त्यसलाई खोज्नुपर्छ। छिट्टै जीवन सामान्य लय र गतिमा फर्कन्छ।
अन्त्यहीन अस्थिरता र टुटफुटको विरूप विकृतिले राजनीतिलाई धावा बोल्दै गर्दा कोरोना कहरको तेस्रो लहर निकै घातक बन्दैछ। जनस्वास्थ्यका नियमित र मौजुदा संरचनालाई हायलकायल बनाएको देखिन्छ। संक्रमण पैmलावटको दर, संक्रमितको संख्या, संक्रमणका प्रभाव तथा व्यापकताले दैनिक नयाँ उचाइ लिँदैछन्। अघिल्लो हप्ता मात्रै विश्वका केही देशमा छिट्टै अन्य नयाँ लहरसमेत आउन सक्ने प्रक्षेपण जनस्वास्थ्यविद्हरूले गरेबाट भविष्यमा पनि नयाँ संकटहरूको सम्भावनालाई नकार्न सकिँदैन। केही अनौपचारिक छलफलहरूमा त कोरोनाको सातौं लहरसम्म आउन सक्ने आकलनका सूचनासमेत सम्प्रेषण हुँदैछन्। संक्रमणलाई काबुमा राख्न उच्च जोखिम महसुस भएका क्षेत्रमा निषेधाज्ञा, विभिन्न प्रकारका भेला तथा जमघटहरूमा प्रतिबन्ध, सम्भावितहरूको पहिचान, पृथकीकरण, परीक्षण, उपचारलगायतका काम हुँदैछन्। सरकारले सकेको प्रयास गरिरहेको बताउँछ।
कोरोना कहरको दोस्रो लहरको समय यस्तै त्रासको मौका छोपेर केही अस्पतालमा उपचारलाई व्यापार गरेको आरोप लाग्यो। अहिलेको तरंगमा चाहिँ समाजमा लगभग सबै संक्रमित जस्तो देखिएका छन्। तर पनि अस्पतालहरूमा बिरामीको न्यून उपस्थिति छ। यद्यपि सतर्कता भने सबैले सकेको तहमा अवलम्बन गर्नुपर्छ। विषम परिस्थितिमा सरकारको जस्तोसुकै आयतन र गतिको सक्षमतासमेत अपूर्ण हुने देखिन्छ। त्यो सत्यता विकसित भनिएका देशको नाजुक अवस्था एवं निरीहताले समेत प्रमाणित गर्दैछ। महामारीकै प्रवाह तथा भेलमा परेर विश्व व्यवस्थामाथि बदलाव अनि शक्ति सन्तुलनको समीकरणसमेत परिवर्तनको सम्भावना पनि देखिँदैछ। संसार पराग खन्नाको पुस्तक ‘द फ्युचर इज एसियन’ तथा फरिद जकारियाको ‘पोस्ट अमेरिकन वल्ड’का भविष्यवाणी उन्मुख हँुदैछ। शक्ति र सफलताको परिभाषा फेरिँदो छ। युद्घपोत, हतियार, सैनिक दबदबा, बम, बारुद, रसायनिक भट्टी तथा आणविक शक्ति लाचार र निराश बन्दैछन्। रोगभन्दा अनावश्यक र असमानुपातिक शोक अधिक प्रत्युत्पादक चुनौती बन्दैछ। नकारात्मक सन्देश, घोर निराशावाद तथा पूर्वाग्रही गैरजिम्मेवारीपनाको प्रवद्र्धन हुँदैछ।
सीमित सुविधा तथा साधनबीच अस्पताल र यसका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन्। सेवानिवृत्तहरू पनि पुनः करारमा आएर सेवा दिँदैछन्। ज्यानको जोखिमसमेत प्रवाह नगरी चिकित्सक तथा स्वास्थ्यकर्मी लागिराखेका छन्। कम्तीमा आत्मसमर्पण गरेका छैनन्। सक्दैनौं भनेका छैनन्, राजीनामा दिएका छैनन्। जति छ त्यसको भरपूर उपयोगसँगै हरसम्भव खटेका छन्, ढोकामा ताल्चा लगाएका छैनन्। सुरक्षाकर्मीहरूसमेत आमनागरिकलाई सकेको सहजीकरणमा व्यस्त छन्। भरसर नागरिकमाथि कुनै भवितव्य नहोस् भनेर अहोरात्र खटेका छन्। नागरिकलाई सुुसूचित र सुरक्षित गर्न हरसम्भव प्रयासलाई शिरोपर गर्दैछन्। तर समाज उनीहरूको मनोबल बढाउनेभन्दा हाँसीमजाक गर्नेमा व्यस्त छ, संक्रमितलाई त्रास बढाउनेमा मस्त छ।
यही समाज हो, राहत नदिँदा सरकार खोइ ? अनि राहत दिए नाटक गर्यो भन्नेहरू छन्। लकडाउन कडाइ गर्दा मानवीयता नभएको, कडाइ नगरे सरकार सक्षम नभएको भनेर बुझ्नेहरू छन्। सीमा नछेके भाइरस भिœयाएको अनि नाका कडाइ गर्दा मानिस आउन नदिएको प्रश्न गर्नेहरू प्रशस्त छन्। रोगको समयमा भोक सँगै आउँछ, यसमा स्थानीय सरकारहरू लाग्नुपर्छ। निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनसँगै स्थानीय तहबाट परीक्षणको दायरामा ल्याउनुपर्ने सम्भावित मानिसको व्यापक खोजतलासी तथा तथ्यांक संकलन कार्य प्रशंसनीय छ। यस्तो समन्वय र सद्भावी कार्यले संघीयताको उपादेयता प्रमाणित हुँदैछ। यद्यपि विरोध गर्नेलाई बहाना सर्वव्यापी हुन्छन्। अझ कोरोनापछिको भयावह र विकाराल स्थिति अनुमान गरेर विचारको आतंक सिर्जना गर्ने मूर्धन्यजनहरूकोे भीड बन्दैछ। जुन स्वयं कोरोनाभन्दा कहरपूर्ण र हानिकारक छ। खप्तड स्वामीकृत पुस्तक ‘विचार विज्ञान’ले भनेअनुसार त्रास हटाएर आशाको जगेर्नामार्पmत भरोसा निर्माण गर्नुपर्छ।
समाज यही हो, राहत नदिँदा सरकार खोइ ? अनि राहत दिए नाटक गर्यो भन्नेहरू छन्। लकडाउन कडाइ गर्दा मानवीयता नभएको, कडाइ नगरे सरकार सक्षम नभएको भनेर बुझ्नेहरू छन्।
कोरोना कहरलाई आधार बनाएर नकारात्मकताको उत्कर्षमा आत्मरति लिनेहरू पनि बाक्लै छन्। अर्थतन्त्र धराशायी हुन्छ, घरजग्गाको मूल्य शून्यमा झर्छ, सेयर बजार सोत्तर हुन्छ। कम्पनीहरू सबै डुब्छन्, रोजगार बजार तहसनहस हुन्छ, मानिस भटाभट मर्छन्, भोकमरी लाग्छ, अपराध बढ्छ, गरिबी चुलिन्छ आदि। यस्ता तर्कहरू सबै वैचारिक आतंक उत्पादक दुःखी मनुवाहरूका दृष्टिभ्रम मात्र हुन्। यथार्थमा सन्त्रासले नयाँ सम्भावनाका अनुपम आयामहरू पनि बोकेको हुन्छ, त्यसलाई खोज्नुपर्छ। छिट्टै नै जीवन सामान्य लय र गतिमा फर्कन्छ। अधिकांश मानिसले खोपको मात्रा पूरा गरिसकेको अवस्था छ। मानिसमा एन्टिबडी विकास भइसकेको र भाइरसको विध्वंसात्मक क्षमता पनि निकै कम भएका प्रतिवेदन प्रकाशित भएका कारण ठूलो क्षतिको सम्भावना देखिँदैन। अर्थतन्त्र ध्वस्त भइहाल्ने सम्भावना छैन। कृषिमा आधारित भएकाले सम्पन्न नभइएला। भोकभोकै हुने र ज्यान जाने स्थिति रहँदैन। कृषि उत्पादनमा अलिकति जोडबल दिए तुरुन्तै आत्मनिर्भर हुन्छौं। बाँझिएका खेतबारीमा फेरि लहलह बाली झुल्नेछन्। सहरकेन्द्रित असमान बसाइँसराइ रोकिएर गाउँगाउँमा नयाँ सम्भावना सुचारु हुनेछन्।
भुइँचालो तथा नाकाबन्दीमा समेत नकारात्मक आकलन गरिए तर त्यसको लगत्तै लगभग ७ प्रतिशतको आर्थिक वृद्घि भयो। धेरै कमाएर होइन, धेरै जोगाएर मात्र धनी भइन्छ। अहिलेको हाम्रो अवस्था भनेको नकमाएर होइन, नजोगाएर केही हुन नसकेको हो। विभिन्न प्रतिवेदनअनुसार वार्षिक एक खर्बको खाद्यान्न तथा तीन खर्बको पेट्रोलियम पदार्थ आयात गर्छौं। खाद्यान्नमा आत्मनिर्भर भए र पेट्रोलियम तथा खाना पकाउने ग्यासलाई विद्युतीय स्वरूपमा परिवर्तन गरेमा वार्षिक चार खर्ब जोगिन्छ। अन्य तीन खर्बबराबरको आयात पनि उत्पादन गर्न सक्ने सामानमा भएको देखिन्छ। संकटको मौका छोपेर अर्थ चरित्रलाई यतातिर लैजाने सम्भावनाको खोजी गरौं।
विदेशमा बसेका नेपाली स्वदेश फर्किए ठूलो मात्रामा पुँजी आप्रवाह हुन्छ। समस्त अर्थतन्त्रको आयतन बढ्छ। त्यहाँ सिकेको ज्ञान, प्रविधि तथा व्यावसायिकता समेत यहाँ आउँछ। गाउँगाउँसम्म उद्योग तथा नयाँ खालका व्यावसायिकता सुरु हुन्छन्। व्यापार असन्तुलन घट्नेछ, मुद्रा सञ्चिति बढ्छ। खाडी क्षेत्रमा श्रम गर्ने नेपाली फर्किंदा अत्यधिक विदेशी श्रमिक खपत गर्नु परिरहेको अवस्थाबाट मुक्त हुनेछौं। हरेक संकटमा सम्भावनाका सुवर्ण अवसरहरू हुन्छन्। संक्रमण प्रतिरोधी प्राकृतिक र जीवन विज्ञानका विशिष्टतामाथि व्यापक अध्ययन तथा अनुसन्धान हुन्छन्। पूर्वीय दर्शनमा आधारित आहार÷विहार तथा व्यवहार संसारकै लागि स्तुत्य तथा अनुकरणीय बन्नेछन्। प्रविधिमैत्री समाज बन्नेछ। अहिलेसमेत बैंकिङ तथा भुक्तानी पद्घतिमा प्रविधिको प्रयोग उच्च छ। नयाँ सामाजिक स्वरूप तथा व्यावसायिक धारको सम्भावना प्रबल देखिन्छ।
सामान्य घरायसी उपचार पद्घति तथा आहारबिहारका उन्नत आचरणले संक्रमित निको भएका छन्। ९५ प्रतिशतले घरमै बसेर रोगलाई जितेका छन्। पाँच प्रतिशतलाई अस्पताल सुविधा आवश्यक देखिन्छ।
आईसीयूको आवश्यकता नगन्य भएको छ, मृत्युदर दैनिक निकै थोरैजना आसपास मात्र छ। दैनिक कोरोना जित्नेको दर बढ्दो छ। विभिन्न प्रकारका औषधि तथा खोपका मात्राहरू देशमा आउने तयारीमा छन्। परिदृश्यहरू यसरी देखिँदैछन् कि डराए जति भयावह स्थितिमा पुग्दैनौं। घरभित्र बसेर निराशा र नकारात्मक मनोविज्ञान नपैmलाऔं। घरबाहिर निस्कएपछि समाजलाई केही महिनामा छोडिएको समयको क्षतिपूर्ति गर्ने योजना बनाऔं। नयाँ व्यावसायिकताको कुरा सोचौं। पारिवारिक रूपमा खुसी र सुखी बनौं। लामो र अनवरत यात्रामा रहेको समयमा केही दिनको आरामले नयाँ जोश र ऊर्जाका लागि शक्ति सञ्चय हुनेछ। सदा सत्कर्म गरौं, निराशा नभरौं। ख्यालख्याल होइन, ख्याल गरौं। त्रास होइन, आश भरौं।