समुदायमा नपुगोस् संक्रमण
दुई मात्रा खोपका कारण हामीमा अलिकति आत्मविश्वास जागेको छ। त्यसैले पहिलेको जस्तो कोरोनाको भय र आतंक हामीमा छैन।
कोरोनाको तेस्रो लहर भारत हुँदै नेपालमा पनि प्रवेश गरिसकेको छ। नेपालमा पनि पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरियन्टसहितका संक्रमितको संख्या अप्रत्याशित रूपमा बढिरहेको छ। सरकारी तथ्यांकले कोरोनाको ग्राफ निरन्तर उकालो लागेको देखाएको छ। आगामी दिनमा कोरोनाको यो ग्राफ अझै उकालो लाग्ने निश्चित छ। सक्रिय संंक्रमितको संंख्या २५ हजार नाघिसकेकाले अब अस्पतालमा संक्रमितको थप चाप बढ्ने र उपचार पाउनै हम्मे हुनसक्छ। अस्पतालमा संंक्रमितको चाप बढ्न थालेसँगै सबै अस्पताललाई कोरोना उपचारका लागि तयारी अवस्थामा रहन र जनशक्तिको अभाव हुन नदिन सरकारले अपिलसमेत गरिसकेको छ।
पूर्वतयारीसहित कोरोनाको रोकथाम तथा संक्रमितको उपचार र व्यवस्थापनका लागि अहिलेदेखि नै तयारी अवस्थामा रहनु आवश्यक भइसकेको छ। विगतमा अक्सिजन र भेन्टिलेटरको अभावमै धेरै संक्रमितले ज्यान गुमाउनु परेको थियो। सोही अवस्थालाई ध्यानमा राख्दै पर्याप्त अक्सिजन, भेन्टिलेटर र अक्सिजन दिन आवश्यक उपकरणको जोहो अहिलेदेखि नै गर्नु वाञ्छनीय हुनेछ। घरमा आगो लागिसकेपछि मात्रै इनार खन्न थाल्ने कथालाई दोहोर्यायांैं भने क्षतिको परिमाण अकल्पनीय बन्न सक्छ। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले मानवअधिकारको विश्वव्यापी अवस्थासम्बन्धी प्रतिवेदन हालै सार्वजनिक गरेको छ। जसमा नेपालमा राज्यको असफलताले कोरोनाको दोस्रो लहरमा धेरै कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। कोरोना महामारीका बेला पूर्वतयारी गर्न र संक्रमण उच्च बिन्दुमा पुग्दा त्यसलाई सम्बोधन गर्न सरकार पूर्णतया असफल भएको पाइएको थियो। अब त्यस्तो अवस्था दोहोरिन नदिन सरकार सचेत हुनुपर्छ। कछुवा गतिको कोरोना परीक्षणले हुँदैन। परीक्षणको दायरा बढाएर सम्भावित जोखिमलाई न्यून गर्नुको विकल्प छैन।
विगतझैं परीक्षणको दायरा नै सानो बनाएर कम संक्रमित भएको देखाएर यथार्थलाई लुकाउने र ढाँट्ने दुष्प्रयास गर्नु हुँदैन। अन्यथा फेरि परिस्थितिले भयावह रूप लिनेछ र धनजनको ठूलो क्षति हुनेछ।
अहिले विशेषगरी भारतबाट नेपाली फर्कने क्रम ह्वात्तै बढेकाले देशभरिका नाकामा परीक्षण बढाउनुपर्छ। संक्रमित र संक्रमणको शंका रहेका व्यक्तिलाई तोकिएको दिनसम्म क्वारेन्टिन र आइसोलेसनमा राख्नुपर्छ। यसले गाउँगाउँ अथवा समुदायमा कोरोना फैलिने जोखिम न्यून हुन्छ। पछिल्लो पटक कोरोनाको जोखिम बढेसँगै प्रधानमन्त्रीले खोप अभियानमा तीव्रता, अस्पतालको क्षमता वृद्धि, अक्सिजन, भेन्टिलेटरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहोमा जोड दिन दिएको छ। जसलाई सम्बन्धित निकायले जिम्मेवारीपूर्वक पालना गरिदिने र आमनागरिकले पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरिदिने हो भने नेपालमा कोरोनाले भयावह रूप लिन सम्भावना कम हुन्छ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार अहिले देशभर कोरोनाको उपचारका लागि सरकारले ७८ वटा सरकारी स्वास्थ्य संंस्था तोकेको छ। यस्तै देशभर ८ हजार २ सय २ आइसोलेसन बेड, ३ हजार ८ सय ४६ एचडीयू बेड, २ हजार ७ सय ९७ आईसीयू बेड, १ हजार ८ भेन्टिलेटर, १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, ६ सय ९३ कन्सन्ट्रेटर र ४७ अक्सिजन प्लान्ट तयारी अवस्थामा रहेको छ। ठूला निजी अस्पतालले पनि कोरोनाको उपचार गरिरहे पनि चर्को शुल्कका कारण त्यहाँ सर्वसाधारणको पहुँच कम छ। कोरोनाको उपचार नगराए ज्यान रहँदैन र उपचार गराए घरखेत रहँदैन भन्ने पीडा सर्वसाधारणलाई छ। त्यसबाट मुक्त राख्न राज्यले निःशुल्क उपचारको दायरालाई अझै विस्तार गर्नुपर्छ। दुई मात्रा खोपका कारण हामीमा अलिकति आत्मविश्वास जागेको छ। त्यसैले पहिलेको जस्तो कोरोनाको भय र आतंक हामीमा छैन। तर यही मौकामा कोरोनाले भयावह रूप लिने खतरा भने बलियो बनेको छ। हामीले भीडभाड जम्मा गरेर भोजभतेर गरिरहेका छौं। राजनीतिक दलहरूले अधिवेशन, भेला र जुलुस गरिरहेका छन्। प्रमुख राजनीतिक दलहरूको महाधिवेशन भर्खरै सकिएको छ। एमालेको जिल्ला अधिवेशन अझै चलिरहेको छ। सीसीएमसी, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलगायत संघीय सरकारले गरेका निर्णयहरू प्रभावकारीरूपमा कार्यान्वयन नभए समस्या दोहोरिने निश्चित छ। सर्वसाधारण र राजनीतिक दलहरूले भोजभतेर, भेला, जुलुस र अधिवेशन गर्न नछोडे कोरोना संक्रमण समुदायस्तरमै फैलिने जोखिम उच्च छ।
सरकारी कार्यशैलीको विगतदेखिको अनुभवले चाहिँ अझै पनि सरकारमा चेत आउला भनेर भन्न सकिने अवस्था छैन। कोरोनाकै कारण सिर्जना भएको स्वास्थ्य संंकटकालको बेलामा पनि कमिसन, भ्रष्टाचार र राजनीतिक दाउपेच चलिरहेकै हुन्छ। यसमा लागेको सरकार र राजनीतिक दलहरूले अहिले पनि कोरोनाको जोखिमलाई गम्भीरतापूर्वक लिन्छन् भनेर आशा गर्ने ठाउँ अझै देखिएको छैन। भीडभाड हुन नदिने र विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय मात्रै कोरोना रोकथामका लागि पक्कै पर्याप्त छैन। रोकथाम, उपचार र संक्रमितको व्यवस्थापनलाई उत्तिकै प्राथमिकता र महŒव दिएर काम गर्नुपर्ने खाँचो छ।
कोरोना संक्रमण रोकथाम, उपचार र संंक्रमितको उचित व्यवस्थापनमा गम्भीर भएर लाग्नुपर्ने बेला छ। सरकारले कोरोना रोकथाम, उपचार र संक्रमितको व्यवस्थापनका लागि यस्तोयस्तो गर्यौं, अब यस्तो यस्तो गर्दैछौं भन्नुको तुक छैन। सर्वसाधारण नागरिकले पनि कोरोनासँग डराउनु र अत्तालिनुको मात्रै कुनै अर्थ छैन। संयम, आत्मानुशासन र सावधानी अपनाई कोरोनाप्रति गम्भीर बन्नु आवश्यक छ। कोरोनाबाट सुरक्षित रहन जीवनशैलीमै पनि केही परिवर्तन गर्नु बुद्धिमानी ठहरिनेछ। कोरोनालाई गफको विषय मात्रै नबनाऔं। खतरनाक छ कोरोना। त्यसैले गम्भीर बनौं।