गौशालास्थित सिटिजन बैंकमा सेवाग्राही कुटिए
महोत्तरी : गौशालास्थित सिटिजन बैंकमा एक सेवाग्राही कुटिएका छन्। मंगलबार आफ्ना भतिजाको लागि खाता खोलाउन गएका गौशाला नगरपालिका १२ का संजय महतोमाथि बैंकमा खटिएका सुरक्षाकर्मीले हातपात गरेका हुन। प्रत्यक्षदर्शी गौशाला १२ का राजकुमार महतोले भने, ‘बैंकमा त्यतिबेला भिड थिएन् । कर्मचारीसँग सोध्न गएको समयमा कार्यरत सुरक्षाकर्मीले हातपातमा उत्रिएका हुन्। उनका आफन्तले छोडाउन गएको समयमा उनीहरु पनि कुटिएका हुन्।’
पीडित संजयले भने, ‘आफूसँग खाता खोलाउनका लागि चाहिने सबै कागजात रहेका थिए। बच्चाको खाता खोलाउनका लागि यसभन्दा अघि कैयो दिन आउँदासमेत बैंकमा काम हुन सकेको थिएन्। मंगलबार पनि काम गराउनका लागि लामो समयदेखि बच्चालाई लिएर लाईनमा बसेका थिए। अरुको काम हुने तर आफनो काम भईरहेको थिएन। मंगलबार पनि किन काम हुँदैन भनेर सोध्न जाँदा गार्डले आफूमाथि खनिएको हो।’
कर्मचारीको आदेशअनुसार आफूले संजयलाई हटाउन गएको समयमा विवाद भएको बैंकमा कार्यरत सुरक्षाकर्मी रामचन्द्र सिंह कुशवाहाले बताए। उनले भने, ‘कस्टमरलाई प्रवेश निषेध गरिएको यार्डमा गएको समयमा आफूले सुरुमा सम्झाएको हुँ। तर कुरा नमानेपनि उनलाई त्यहाँबाट निकाल्नका लागि उनलाई समात्न जाँदा विवाद भएको हो। त्यसपछि दुईतर्फी घम्साघम्सी भएको हो।’
घटना समान्यरुपमा रहेकोले आपसी सहमतिअनुसार नै विवाद समाधान भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। तत्कालै दुईपक्षलाई वोलाएर समस्याको समाधान भएको प्रहरीले जनाएको छ।