सरकार, यहाँ २५ जना मात्रै छन् ?

सरकार, यहाँ २५ जना मात्रै छन् ?

काठमाडौं : कोरोना महामारीको तेस्रो लहर फैलँदै गएपछि सरकारले नियन्त्रणका लागि मापदण्ड बनायो। भौतिक रूपमा बढीमा २५ जना मात्रै सहभागी हुन पाउने नियम सरकारले सार्वजनिक गर्‍यो । पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयको एक/एकप्रति सबै स्थानीय तह र सेवाग्राहीको चाप हुने कार्यालयमा पठायो। तर, संघीय राजधानीका सरकारी कार्यालयकै अवस्थालाई नियाल्दा निर्णयको कुनै बुँदा पनि लागू नभएको प्रष्ट देखिन्छ। 

मंगलबार बिहान साढे ११ बजे यातायात कार्यालय चाबहिलमा देखिएको दृश्यले सरकारको निर्णयलाई गिज्याइरहेको भेटियो। सेवा भ्रदगोल त थियो नै, भीडलाई व्यवस्थित गर्नु त परको कुरा, न त्यहाँ खोपकार्ड अनिवार्य थियो, नत २५ जनाको मापदण्ड नै। सेवाग्राहीलाई सेवा लिने चिन्ता, कर्मचारीलाई सेवाग्राहीको काम सक्ने। यो अव्यवस्थित दृश्यले कोरोना संक्रमण फैलिएको र सरकारले बनाएको नियमलाई बिस्र्याउँथ्यो। 

खोप नलगाएका मात्रै होइन, मास्कलाई सही तरिकाले प्रयोग नगरेका सेवाग्राहीको चाप धेरै थियो। त्यहीँ भीडमा भेटिए काठमाडौंका २३ वर्षीय प्रवीण मगर। उनी कसरी मोटरसाइकलको लाइसेन्स बनाउने भन्ने बारेमा बुझ्न पुगेका थिए। ‘लाइसेन्स कसरी निकाल्ने ? थाहा छैन त्यही बुझ्न आएको हुँ’, उनले भने, ‘यहाँ त धेरै भीड छ। फेरि मैले खोप पनि लगाएको छैन। यहाँ आउनु त झनै डरमर्दो रहेछ।’ यस्तै हो भने दिनदिनै कोरोना घट्ने होइन, संक्रमण अझै बढ्दै जाने उनी बताउँछन्। 

यातायात विभागको सर्भर डाउन हुँदा मंगलबार अरू दिनभन्दा सेवाग्राहीको भीड बढेको कार्यालयको भनाइ थियो। बिहानैदेखि लाइन बसेका सेवाग्राही अक्रोसित बनेका थिए। स्कुटरको लाइसेन्स निकाल्न प्रयोगात्मक परीक्षा दिन पुगेकी सेवाग्राही सरस्वती सिङ्देल कार्यालय प्रमुखको कार्यकक्षमा गुनासो पोख्दै रोइन्। उनी परीक्षा दिन ट्रायल सेन्टरमा पुगेकी थिइन्। लाइन लागेर बल्ल उनको पालो आएको थियो तर, प्रवेशपत्र उनको साथमा थिएन। सर्भर नचलेकाले उनले प्रवेशपत्र पाइनन्। उनलाई कर्मचारीले फर्काइदिएका रहेछन्। त्यसपछि  कार्यालय प्रमुखको कार्यकक्षमा पुगेकी रहेछिन्।

‘एक त कोरोना महामारी छ। त्यसमा पनि भीडमा लाइन लगेको थिएँ। यत्रो दुःख किन दिनुभयो ?’ उनले रुँदै भनिन्। उनको यो गुनासोले कार्यालयको व्यवस्थापनको भद्रगोललाई सम्बोधन गरेको थियो। 

मंगलबार जरुरी सूचना निकाल्दै कार्यालयले भनेको थियो, ‘नयाँ दर्ता तथा वर्गथपको सबै काम आन्तरिक प्राविधिक समस्याले आजका लागि बन्द छ।’ सर्भरको तार मुसाले काटेर मंगलबार कार्यालयको सेवा ठप्प भएको यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख विष्णुकुमार भट्टराईले जानकारी दिए। 

सेवाग्राहीले भने कार्यालयको लापरबाहीकै कारण सेवाग्राहीले दुःख पाएको र संक्रमण अझै बढाएको आरोप लगाएका थिए। कार्यालय परिसरमा भेटिएका तेह्रथुमका दिवस चौहानले भने, ‘कार्यालय खोलेर सेवाग्राही बोलाउँछन् तर, भीड व्यवस्थान गर्न कुनै चासो छैन।’ नुवाकोटका मोतीराम दुलालको आरोप पनि उस्तै छ, ‘सरकारको नियम सरकारी निकायले नै मान्दैन। सरकारी कार्यालयमा यत्रा मान्छे जम्मा हुन्छन्। यहाँबाट कोरोना न फैलिए कहाँबाट फैलिन्छ ? ढेड—दुई सय जना मान्छे यहाँ छन्।’

कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले भीड व्यवस्थान गर्न प्रयास भइरहेको दाबी गरे। उनी भन्छन्, ‘कार्यालय खोल्दा त भीड लागिनै हाल्छ। सेवाग्राही आफंै पनि स्वास्थ्य मापदण्ड मान्दैन।’ कोरोना महामारी यता देशभरिका यातायात कार्यालयमा झन्डै ८ लाख बढीले चालक अनुमतिपत्रका लागि आवेदन दिएको बताउँदै उनले थपे, ‘दिनहुँ लिखित र ट्रायल लिँदा पनि सेवाग्राहीको चाप घट्दैन, के गर्ने ?’ यस कार्यालयमा दैनिक करिब ७ सय ‍सेवाग्राही पुग्छन्।

संघीय सरकार र प्रदेश सरकारबीच आपसी समन्वय नहुँदा यातायात सेवा जटिल बन्दै गएको छ। ‘यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहतमा छ, सर्भर संघीय सरकारको यातायात व्यवस्था विभागमा छ। सातामा दुई दिन सर्भर डाउन हुन्छ। काम हुँदैनभन्दा सुनुवाई छैन अनि भीड त लागिनै हाल्छ’, उनले दुःखे पोखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.