अमेरिकामा नेपालीको पहिचान

अमेरिकामा नेपालीको पहिचान

सकारात्मक सांस्कृतिक विचलन वा ‘जेनेरेसन ग्याप’को रूपमा हेर्दा कालो बादलमा चाँदीका घेरा भने देखिन्छन् ।


राजधानीको आमचरित्र भनेको निर्दयी हुन्छ, न त्यहाँ दया–माया हुन्छ न विवेक। त्यहाँ हुने भनेको केवल महत्वकांंक्षा र स्वार्थ मात्र हो। ती पूरा गर्न जे पनि गरिन्छ, हुन्छ। समाजशास्त्र भन्छ, अपवादलाई छोड्ने हो भने राजधानीको आमचरित्र यही हो। राजधानीको एउटा चरित्र हो, बसाइँसराइको गन्तव्य नम्बर १ हुनु। तथ्यले देखाउँछ, अमेरिका संसारको बसाइँसराइको नम्बर १ गन्तव्य हो। यस अर्थमा अमेरिका संसारको अघोषित राजधानी हो। चाहे पनि नचाहे पनि तथ्यले यही भन्छ। मानिसपिच्छेका सत्य फरक हुन्छन्, तर्क–बितर्क पनि हुन्छन्। तर, हजार सत्यभन्दा एउटा तथ्य बलियो हुन्छ।

अमेरिकामा बसाइँ आउनेको काराभान नै चल्छ। अविकसित र गरिब मुलुकबाट त आउँछन् नै, बेलायत र क्यानडाजस्ता धनी देशबाट पनि अमेरिका बसाइँ सर्नेको संख्या उल्लेख्य मात्रामा हुन्छ। सर्वसाधारणको त कुरै छोडौं, बेलायती राजकुमार ह्यारी पनि राजपरिवार नै छोडेर अमेरिका बसाइँ आए। पहिला क्यानडा गएका उनी त्यहाँ रोकिएनन्, अमेरिका नै आइपुगे।
नेपालमा पनि अमेरिका क्रेज थामिनसक्नु छ। बर्सेनि भाग्योदय चिट्ठा हाल्नेको महाकुम्भको दृश्यले होस् वा ६०–७० लाख तिरेर जीवन हत्केलामा लिएर तल्लोबाटो आउनेको काराभानले, त्यही अथाह क्रेजको साक्षी बोकिरहेका हुन्छन्। अर्कोतिर, सेमिनार, गोष्ठी, कार्यक्रममा सहभागी हुन भनेर होस् वा कामदार, विद्यार्थी, विवाह भिसा आदि इत्यादिका नाममा होस्, अमेरिका छिर्ने र यहाँ बस्न हराउनेको संख्या पनि धेरै छ।

अमेरिका छिर्नु एउटा कुरा। त्यसपछि यहाँ रहनका लागि कानुनी हैसियत बनाउन के मात्र गरिँदैन ! भन्ने एन्टी थेसिसको कथा सिनेमाको भन्दा कम छैन। धेरैको परिवार एकसाथ अमेरिका आएको हुँदैन। परिवार एकसाथ बनाउन अर्को महाभारत आइलाग्छ। कति त्यो महाभारत छिचोल्न नसकेर पारिवारिक विखण्डनको सिकार हुन्छन्। त्यस क्रममा हुने संंघर्ष र दुःखको कुरा त गरेर साध्य छैन। स्थिति यस्तो छ कि अब त्यो सबैको साझा कथा बनेको छ, लगभग सबैका उस्तै हुन्छन्।

अध्ययनले अमेरिका आएका ६८ प्रतिशत नेपालीको जीवनस्तर नेपालको भन्दा पनि तल देखाएको छ। तैपनि अमेरिका आएको नेपाली नेपाल फर्कन चाहँदैन। उल्टै वर्षमा चार हजारभन्दा माथि नेपाली आफ्नो जन्मसिद्ध नेपाली नागरिकता त्यागेर अमेरिकी अंगीकृत नागरिक बन्दैछन्। सन् २०१५ यता हरेक वर्ष कम्तीमा पनि यही तथ्यांक रहेको छ। सन् २०१८ मा त यो संख्या ८ हजार नाघेको थियो। त्यसपछि कोरोना कहरले थामिएको छ। अमेरिकामा अंगीकृत नागरिक हुन सहज छैन। समयको हिसाबले पनि, प्रक्रियाका हिसाबले पनि। अमेरिकी नागरिक हुन कम्तीमा पनि तीन वर्ष त ग्रिनकार्ड भएकै हुनुपर्छ। केहीका लागि मात्र यो प्रावधान लागू हुन्छ।

आममानिसका लागि लागू हुने भनेको पाँचवर्षे ग्रिनकार्ड नै हो। यो पाँच वर्षमा के के गर्नुहुन्छ ? भन्दा पनि के के गर्नु हुँदैन ? भन्ने अर्को एन्टी थेसिस छ। ग्रिनकार्ड जोगाएर नागरिक हुनका लागि पाइपाइ फुकेर पाइला चाल्नुपर्छ। त्यसपछि नागरिकताका लागि तयार गर्नुपर्ने परीक्षाको अर्कै तनाव छ। अंग्रेजी भाषाको तगारो छिचोल्नुपर्छ, भाषाको मात्र होइन, अमेरिकी एक्सेन्टको पनि कुरा हुन्छ। यति कष्टसाध्य पाँच वर्ष बिताएर पनि नेपाली आफ्नो मातृभूमिको नागरिकता त्यागेर अमेरिकी हुँदैछन्। एक जुनी बाँच्नु छ, आधा जीवन पनि नेपालमा संघर्ष गर्दागर्दै बितेको हुन्छ। अमेरिकामा आएर गर्नुपर्ने संघर्षको अर्को अध्याय छ। दाहिने चलनको जीवन छोडेर देब्रे चलनमा प्रवेश गर्न जीवनको परिभाषा नै फेर्नुपर्ने हुन्छ।

सुरु सुरुमा त कागजी प्रक्रिया पूरा गरिसकेपछि अधिकांशले नेपाल फर्कने नै बताइरहेका हुन्छन्। ‘छोराछोरीको भविष्यका लागि हो, उनीहरू युनिभर्सिटी लागेपछि वा काम÷व्यवसायमा लागेपछि नेपाल फर्कने’ नै भन्छन्। तर, ग्रिनकार्ड लिएको पाँच वर्षमा उनीहरूको मनस्थिति विस्तारै परिवर्तन हुँदै जान्छ। अमेरिकामा पनि स्थायीरूपमै आप्रवासीलाई मन नपराउने एउटा दक्षिणपन्थी तप्का छ। जसको प्रतिनिधित्व रिपब्लिकन पार्टीले गर्छ। हरेक चार वर्षमा हुने राष्ट्रपति चुनावमा आप्रवासीमैत्री डेमोक्रेटिक पार्टी यही मुद्दामा रिपब्लिकन पार्टीसँग चुनाव लडिरहेको हुन्छ। यही क्रममा बेलाबेलामा यो वा त्यो नामका ट्रम्पहरू पनि ब्यहोर्नुपर्ने हुन्छ। यस्ता घटनाले सधंैभरि ग्रिनकार्डमा रहँदा असुरक्षाको महसुस गराउँछ।

नेपाल गएर फर्कंदा अमेरिका पस्न नदिने पो हो कि ? भन्ने चिन्ता सधैभरि विमानस्थलमा हुने गर्छ। उता, नेपालको स्थिति पनि दिनदिनै थप निराशलाग्दो बनिरहेको छ। बेथितिहरू बढेका छन्। देशसँगको मात्र होइन, परिवारसँगको दूरी पनि स्वभावतः बढ्दै जान्छ। साथीसंंगीको दूरी पनि बढ्दै जान्छ। नेपालमा रहेकाको अमेरिका गएकासँग केही अपेक्षा हुन्छ, जुन अमेरिका गएकाले चाहेर पनि पूरा गर्न सक्दैनन्।

अर्कोतिर अमेरिकामा रहेका सन्तान भने दिनदिनै अमेरिकी हुन थाल्छन्। उनीहरूका लागि नेपाल फर्कने कुरा प्राथमिकतामै पर्दैन। जे भए पनि नेपाली मन हो, छोराछोरी अमेरिका छोडेर नेपाल फर्कन गाह्रै हुन्छ। यसको अर्को आयाम पनि छ, यतिका समय अमेरिका बस्दा काम गर्ने क्रममा सामाजिक सुरक्षाका नाममा आफूले तिरेको पैसाको १० क्वार्टर पनि पुग्न लागेको हुन्छ, उमेर पनि ६५ तिर उकालिँदै हुन्छ। त्यो उमेर नघाएपछि त्यो पैसा औसतमा मासिक १२ सयभन्दा माथि नै आउने हुन्छ। स्वास्थ्य बिमा पनि पाइने हुन्छ। उता, नेपाल फर्कंदा केही पनि पाइँदैन। उल्टै नेपाललाई वृद्धाश्रम बनाउन आयो भन्ने आक्षेपबाहेक।

प्रस्तुत पृष्ठभूमिमा नेपालतिरको मोह क्रमशः भंग हुँदै जान्छ। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक हुनेको संख्या बर्सेनि हजारौंमा उक्लिन्छ। समयक्रममा यसको पक्षमा तर्क गर्न हजारौं बहाना पनि बन्दैछन्। यसै पनि यो भूमण्डलीयकरणको युग हो र हामी आफैं पनि बसुधैव कुटुम्बकम भन्नेहरूका वंशज प¥र्यौं। अमेरिकी नागरिक हुँदा मन त यसै पनि खुसी भएको हुँदैन। चन्द्रसूर्य झन्डाको ठाउँमा ५० तारे–१३ धर्से झन्डा शिरमा राखेर ‘सयौं थुँगा फूलका हामी’ को ठाउँमा ‘द स्टार स्पेगल्ड ब्यानर’ गाउनु पर्छ। त्यसमा पनि नेपाललाई अर्कै देश भनेर उसप्रतिको बफादारी सक्नुपर्छ। यसको अर्थ नेपाल र अमेरिकाबीच युद्ध भयो भने नेपालविरुद्ध लड्नुपर्नेसम्म हो। यो सत्यको कल्पनासम्म मात्र गर्दा पनि ऐठन हुन्छ।

यति गरेर अमेरिकी नागरिकता लिए पनि रङमा विश्वास गर्ने अमेरिकाको मूलधारले आप्रवासी भन्दै कहिलै पनि जन्मदर्ता भएको जस्तो नागरिकलाई जस्तो व्यवहार गर्दैन। उही भाषाको नागरिकता प्रमाणपत्र र उही रङको पासपोर्ट छ भनेर समान अधिकारका लागि जिकिर गरिरहनु पर्छ, कर्तव्य निर्वाह गर्ने कुरामा चाहिँ रैथानेभन्दा पनि एक कदम अगाडि हुनुपर्छ। यता अमेरिकाको स्थिति यस्तो हुन्छ भने उता नेपालसँगको सम्बन्ध भने औपचारिक रूपमा टुंंग्याउनुपर्ने हुन्छ। नेपाल जाँदा नेपालको हरियो पासपोर्टको ठाउँमा अमेरिकाको नीलो पासपोर्ट हातमा बोक्नुपर्ने हुन्छ। भिसा लिएर दिनहुँ तीन डलर तिर्नुपर्छ।

नेपालमा रहेकाको अमेरिका गएकासँग केही अपेक्षा हुन्छ, जुन अमेरिका गएकाले चाहेर पनि पूरा गर्न सक्दैनन्।

अझ नेपालमा हिँडडुल गर्दा पनि अमेरिकी पासपोर्ट नै देखाउने हो भने हरेक ठाउँमा महँगो मूल्य चुकाउनुपर्छ। नेपाललाई ठग्दिनँ भनेर महँगो तिर्न राजी हुँदा पनि नेपालीले हेर्ने दृष्टिकोण सकारात्मक हुँदैन। धेरैको आँखामा पलयानवादी, नागरिकता नै त्याग्ने अवसरवादीलगायतका अनेक ट्याग बोक्नुपर्ने हुन्छ। नेपालमा गरिने यस्तै फरक व्यवहारका कारण अधिकांश नेपाली–अमेरिकनले आफ्नो नागरिकताको हैसियत लुकाउँछन्। लुकाउनकै लागि भारत भएर नेपाल जान्छन्, भारत भएरै अमेरिका फर्कन्छन्। उनीहरूको अमेरिकी पासपोर्टमा भारतको भिसा लाग्छ, भारतकै अध्यागमनको छाप लाग्छ। त्यहाँबाट नेपाल जान अमेरिकी नागरिकता लिँदा बुझाउनु नपर्ने नेपाली नागरिकता र पासपोर्ट प्रयोग हुन्छ। यसो गर्दा उनीहरूले नेपालमा कुनै दुर्घटना गरे वा अपराध गरे भने के हुने ? त्यो अर्को गम्भीर प्रश्न छ। 

अब फर्कौं सुरुमै, अमेरिका संसारको राजधानी देश हो। अपवादलाई छोडेर बाहिरबाट अमेरिका आउने जो कोही पनि महत्वाकांक्षा वा स्वार्थ पूरा गर्न देश, परिवार सबै छोडेर आएका ‘महत्वाकांक्षी’ र ‘स्वार्थी’ मान्छे नै हुन्। भलै उनीहरूका यो वा त्यो बहाना हुन्छन्। उनीहरूको महŒवाकांक्षा र स्वार्थसँग प्रत्यक्ष र परोक्ष रूपमा हरियो डलर जोडिएको हुन्छ। तर, यो पनि सत्य हो कि अमेरिकामा व्यापार लोकेसनमा परेन र लट्री परेन भने धनी हुन सजिलो होइन, लगभग असम्भव नै हुन्छ। बढीमा काम गरेर भौतिक रूपमा गुणस्तरीय जीवन चलाउन सकिने मात्र हो।

हामी नेपाली पनि यही चरित्रका आममानिस हौं। १९–२० होला, त्यो बेग्लै कुरा। तर, कसैले पनि म यो चरित्रभन्दा माथि छु भन्ने स्थिति छैन। पछिल्लो समय सामाजिक सञ्जालले हातहातमा ‘मल्टिटास्किङ मिडिया’ दिएपछिको कुरो अर्कै छ। सारमा, गुन्द्रुकको झोलसँग भात खाए पनि हर्पेमा हात सुघाउँदै बाहिर निस्कने चरित्र हाबी गराउँदैछन्। अमेरिकामै जन्मे या नेपालबाट सानैमा आएर यहाँ हुर्केबढेको पुस्ता भने त्यो चरित्रभन्दा टाढा हुँदैछ। यसलाई एक किसिमको सकारात्मक सांस्कृतिक विचलन वा जेनेरेसन ग्यापभन्दा पनि हुन्छ।

यो अमेरिकामा रहेको नेपाली डायस्पोराको पछिल्लो पहिचान हो। तर, यसलाई सहजै स्विकार गर्ने आत्मालोचनाको संस्कृतिबाट हामी क्रमशः टाढिँदैछौं। समाजको आलोचनात्मक चेत गुम्दैछ। यसले घरदेशमा होस् वा परदेशमा, नेपाली समाजलाई भयानक दुर्घटनातिर डोहो¥याउँदैछ। हो, अपवाद जहाँ पनि हुन्छ, नेपाली जाति र समाजमा पनि छ। तपाईं हामी पनि अपवादमा पर्न प्रयत्न गरौं। सक्यौं भने हाम्रो लागि त राम्रो हुन्छ नै, प्रकारान्तरमा नेपाली समाज पनि लाभान्वित हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.