नीति कथा : जस्तो रोप्यो, उस्तै फल्छ
घरमा संयुक्त परिवार थियो। हजुरबुवादेखि नातिसम्म बस्थे। हजुरबुवा वृद्ध भएका थिए। बुढ्यौलीका कारण उनको शरीर जर्जर बनिसकेको थियो। यतिसम्म कि उनको हात काँप्दथ्यो। आँखा पनि धमिलो भइसकेको थियो। कतै हिँड्डुल गर्दा पनि खुट्टा लर्बराउँथ्यो। जब उनी खाना खान बस्थे, तब खाना भुइँमा खस्थ्यो। जब उनी दूध पिउन गिलास समात्थे तब दूध पनि भुइँमा पोखिन्थ्यो।
वृद्धको त्यस्तो हालत देखेर उनका छोरा–बुहारी दिक्क भइसकेका थिए। त्यही कारण घरको एउटा कुनाको खाटमा ती वृद्धलाई राखिदिए। वर्तनका साटो काठको भाँडामा खानेकुरा दिन थाले। नातिले यी सबै दृश्य दिनैपिच्छे हेरिरहेका हुन्थे। केही बोल्दैनथे। वृद्ध केही बोल्न डराउँथे। कतै अहिले पाइरहेको सुविधा पनि खोसिने हो कि ? भनेर पिरोलिन्थे। तर गुनासो गर्दैनथे।
एकदिन ती वृद्धका नाति अर्थात् उनका छोरा–बुहारीका छोराले एउटा काठको टुक्रा खेलाइरहेका थिए। त्यो देखेर उनका बुवाआमाले छोरालाई सोधे– ‘तिमीले यो काठ खेलाएर के गर्न खोजेको बाबु ?’ त्यो बालकले जवाफ दिए– ‘मैले तपार्इंहरूका निम्ति काठको भाँडा बनाउन लागेको हुँ। जब बुढेसकाल हुनेछ तब यसैमा खान दिनेछु।’ सानो छोराको कुरा सुनेर बुबाआमा
मुखामुख गरे। त्यही दिनदेखि छोरा–बुहारीले वृद्ध पिताको काठको भाँडा हटाएर पहिले जस्तै राम्रो भाँडामा खानेकुरा दिन थाले।
नैतिक शिक्षा : आफूले अरूलाई जस्तो व्यवहार गरिन्छ, आफूलाई पनि अरूले त्यस्तै व्यवहार गर्नेछन्। आफूले गरेका हरेक गतिविधि सन्तानका लागि अनुकरणीय हुन्छन्।
प्रतिक्रिया दिनुहोस !