घुस माग्ने शिक्षालय प्रमुखलाई उपहारमा नयाँ पद !

घुस माग्ने शिक्षालय प्रमुखलाई उपहारमा नयाँ पद !

काठमाडौं : भ्रष्टाचारको गरेको आरोप लागेका डोटीस्थित सेती प्राविधिक शिक्षालय दिपायलको प्रमुखमाथि छानविन नगर्दै नयाँ जिम्मेवारी दिएर पठाउन लागिएको छ। पाँच दिन अघि शिक्षालयको प्रमुखबाट वीरेन्द्रबाबु यादवलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमीले हटाएको थियो। 

कमिसनका लागि कुखुरा व्यवसायीसँग गरेको बार्गेनिङको अडियो गत पुष १६ गते सार्वजनिक भएको थियो। विद्यार्थीलाई कुखुरा पालनबारे सिकाउन शिक्षालयले ५ सय चल्ला खरिद गरेको थियो। व्यवसायीले पठाएको बील च्यातेर व्यवसायीसँग फोनमा कमिसन माग्दै गरेको सार्वजनिक भएको अडियोमा सुनिन्छ।

प्रमुख : केही त राख्नु पर्थियो त ?

व्यवसायी : को ? हजुरलाई ?
प्रमुख : अँ।
व्यवसायी : सर, हजुरलाई गर्ने भएँ। एउटा किसिमको रेट बनाइदिनुस्। त्यो किसिमको उताबाट बिल बनाएर पेश गरिदिउँला। 
प्रमुख : ओरिजनल बिल पठाउनुस्। त्यसैमा राख्नुपर्छ। हामीलाई पाँच सय चल्ला अझै चाहिएको छ। कमसे कम बिल पठाउनु अघि पहिला प्रिन्सिपललाई फोन गर्नु पर्छ नि। ओरिजनल बिल अस्तिको मैले च्यातदिएको छु हैन। ओरिजनल बिलै पठानुपर्छ तपाईंले। त्यसमा केही अलि कति हामीलाई राख्नुपर्छ। (टेलिफोन संवादको संक्षिप्त अंश)

०००
घटना सार्वजनिक भएको महिना दिन हुँनै लाग्दा पनि परिषद्ले कारवाही प्रक्रिया अघि बढाएको छैन।  घटना सार्वजनिक भएपछि बचाउका लागि गत पुष २० गते आरोपी यादवले शिक्षा मन्त्रालय पुगेका थिए। त्यस यता उनी काठमाडौंमा छन्। उनी शक्ति केन्द्रको बलमा परिषद्मा हाजिर गरेर दिन काटिरहेका छन्।

घटनालाई सामसुम पार्न परिषद्ले पाँच दिन पहिले मात्रै आधिकारीक रुपमा प्रमुखबाट हटाएको थियो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेका अनुसार उनलाई तत्कालै प्रिन्सिपल(प्रमुख)को जिम्मेवारीबाट हटाइएको छ। ‘हाम्रो टिम कोरोना संक्रमित भएर हामीले अडियो सुन्न पाएका छैनौं। छिट्टै कुखुराको चल्ला प्रकरणबारे सत्य, तथ्य पत्ता लगाउन छानविन समिति गठन गछौं,’उनले भने, कोरोना महामारीले छानविन समिति गठन गर्न सकिएको छैन। तत्कालाई उहाँलाई अर्को ठाउँको नयाँ जिम्मेवारी दिएर पठाउने मनसायमा छौं।’

घुस मागेको अडियो सार्वजनिक हुँदा पनि उनीमाथि कारवाही प्रक्रिया अघि बढेको छैन। परिषद्ले उनलाई पुरस्कार स्वरुप नयाँ जिम्मेवारी दिएर शिक्षालयको नयाँ प्रमुख बनाएर पठाउन लगेको छ। आरोपित यादवमाथि कारवाही नगरिकनै नयाँ जिम्मेवारी दिन कसरी मिल्छ ? भन्ने प्रश्नमा सदस्य सचिवले भने,‘छानविनको रिपोर्ट नआउँदै कारवाही गर्न मिल्दैंन। ढुक्क हुनुस् उहाँमाथि छानविन समिति गठन गरेर आएको प्रतिवेदनको आधारमा हामी कारवाही गछौं।’ 

पटक-पटक विवादमा तानिँदै आएका उनीमाथि परिषद्ले छानविन गरेर कारवाही गर्न सकेको छैन। यसले संस्थाको छविमाथि प्रश्न चिन्ह उठेको छ। ‘आरोप लागेपछि उहाँलाई तत्काल पदबाट हटाएका छौं। अब कुन लेवलको कारवाही गर्ने ? छानविनपछि मात्रै हामी त्यो निर्णयमा पुग्छौं,’ परिषद्का प्रशासन माहाशाखा निर्देशक देवेश देवकोटाले अन्नपूर्णसँग भने। उनी विगत २१ महिनादेखि त्यस प्राविधिक शिक्षालयको प्रमुखको रुपमा काम गर्दै आएका थिए।

प्रतिगोटा एक सयको दरले कुखुराको बिल दिएर व्यवसायीले शिक्षालयसँग भुक्तानी माग गरेका थिए। भुक्तानी गर्न प्रमुखलाई फोन गर्दा उनले आफ्नो भाग राखेर बढाएर बिल पठाउन भनेको अडिओमा सुनिन्छ।

आफूमाथि लगाएको आरोपमा सत्यता नरहेको प्रमुख यादवले दावी गरेका छन्। तपाईंले कमिसन मागेको अडियोमै सुनिन्छ ? भन्ने प्रश्नमा भने,‘खै त्यो कुरा मलाई थाहा छैन।’
‘शिक्षालयबाट उनलाई परिषद्मा तानियो तर, सिधा हाजिर गराइराखिएको छ, अब त कारवाहीको साटो झन् नयाँ जिम्मेवारी दिएर पुरस्कृत गर्न परिषद् चाँजोपाँजो मिलाउन लागेको छ’ स्रोतले भन्यो।
शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचय पत्र र ड्रेसमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ।
आर्थिक अनियमितता गरेर प्रमुख यादवले शिक्षालयको साख गिराएकोले छानविन गरेर कारवाही गर्न शिक्षालयका कर्मचारी र स्थानीयले माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.