नेपाल-चीन जोड्ने कोरला सडकमा १६ वटा पुल बन्‍दै

नेपाल-चीन जोड्ने कोरला सडकमा १६ वटा पुल बन्‍दै

जोमसोम: राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको बेनीदेखि मुस्ताङको कोरलानाकासम्मको दूरीमा कुल १६ वटा पक्की मोटरेपुल निर्माणाधीन अवस्थामा रहेका छन्। जसमध्ये ३ वटा पुलको काम अन्तिम चरणमा पुगेको कालिगण्डकी करिडोरले जनाएको छ।

करिडोर सडकका आयोजना प्रमुख जगत प्रजापतिका अनुसार निर्माणाधीन अवस्थामा रहेका १६ वटा पक्की पुलका लागि झन्डै १ अर्ब रुपैँयाको ठेक्का सम्झौता भई काम अघि बढेको छ। जसमध्ये थासाङ-३ को लेते खोला पुल, वारागुङ मुक्ति क्षेत्र-४ को कागबेनी र वारागुङ मुक्तिक्षेत्र-३ को छुसाङस्थित नरसिंह खोला पुलको काम अन्तिम चरणमा आयोजना प्रमुख प्रजापतीले जानकारी दिए।

अन्तिम चरणमा रहेका ३ वटा पुलको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। नेपाल चिन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकमा निर्माणाधीन १६ पुलका लागि चालु वर्ष ८ करोड बजेट बिनियोजन भएको थियो। जसमध्ये चालु वर्षको ६ महिनाको अवधिमा ४ करोड १२ लाख अर्थात् ५१ प्रतिशत पुल निर्माणमा खर्च भइसकेको आयोजना प्रमुख प्रजापतिले उल्लेख गरे।

आयोजनाका अनुसार बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी राहुघाट पुल, म्याग्दी पोखरे बगर पुल, मुस्ताङको लेते खोला पुल, मुस्ताङको छाक्ताङ खोला पुल र मुस्ताङको मार्फा खोला पुल निर्माणाधीन अवस्थामा छन्। त्यस्तै जोमसोम-कोरला सडकखण्डअन्तर्गत मुस्ताङको पान्डा खोला पुल, कागबेनी पुल, नरसिंह खोला पुल, घमी खोला पुल, चराङ खोला पुल, लोमान्थाङ खोला पुल, किम्लिङ खोला पुल, नाम्डोल खोला पुल र भर्मा खोला पुल निमाणाधीन अवस्थामा रहेका छन्।

करिडोर सडकअन्तर्गत मुस्ताङमा निर्माणाधीन अवस्थामा रहेको लुप्रा-पान्डा खोला पुल, कागबेनी खोला लेते खोला पुल र नरसिंह खोला पुलको काम ८० देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए। बाँकी पुलहरुको पनि भौतिक प्रगती अपेक्षा गरेअनुरुप भइरहेको उनले बताए।

कालिगण्डकी करिडोर सडकअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको मुस्ताङको स्याङ खोला पुल र म्याग्दीको घट्टे खोला पुलको काम गत वर्ष नै सम्पन्न भई सञ्चालनमा आइसकेको छ। त्यस्तै राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकमा थप ५ वटा अर्को पुल आवश्यक रहेको करिडोरले जनाएको छ। करिडोरका अनुसार कोरला सडकअन्तर्गत मुस्ताङको सुन खोला, बोक्सी खोला र थापाखोलामा नयाँ पुल तत्काल आवश्यक रहेको छ।

त्यस्तै बर्खायामको बाढी पहिरो र नदी कटानले क्षति पुर्‍याएको म्याग्दीको रुप्से खोला पुल, म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काइको खोला पुल भएको स्थानमा नयाँ पुल बनाउनुपर्ने देखिएको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे। यी स्थानमा निर्माण गरिने पुलको लागि ठेक्का सम्झौता हुन बाँकी रहेको उनले बताए। त्यस्तै उत्तरी कोरलानाका जोड्ने मालढुङ्गा-बेनी सडकको जिम्मा पनि करिडोरले लिएको हो। जसअन्तर्गत म्याग्दीको बेनी बजार जोड्ने कालिखोलामा यसअघिको पक्की पुल साँघुरो भएकाले यहाँ थप नयाँ अर्को पुल जोड्नु पर्ने आवश्यकता रहेको आयोजना प्रमुख प्रजापतीले बताए। यसका लागि गृहकार्य भइरहेको बताए।

यसअघि उत्तरी कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको तिप्ल्याङ र पोखरेबगरमा पुल सेक्टर नं. ३ पाल्पाले जिम्मा लिएको थियो। पुल सेक्टरले तिप्ल्याङमा पुलको काम सम्पन्न गरी सञ्चालनमा आइसकेको छ। कालिगण्डकी नदीमा निर्माणाधीन जोमसोम बजार जोड्ने पक्की मोटरेबल पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा सम्पन्न भई सञ्चालनमा आएको थियो।

त्यस्तै मुस्ताङको पान्डा खोलामा निर्माणाधीन पुलको काम यसअघि ग्रामिण पुन निर्माण तथा पुनःस्थापना आयोजनाले ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो। कोरला सडक सुरु भएपछि यसपुल निर्माणको जिम्मा करिडोरलाई हस्तान्तरण भएको थियो। मुस्ताङको छुसाङमा कालिगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको काम पाल्पा करिडोर र सडक डिभिजन कार्यालय बाग्लुङले सुरु गरेको थियो। कोरला सडकपछि यस पुलको जिम्मा पनि करिडोरले लिएको थियो।

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकमा निर्माण सम्पन्न भएका र निर्माणाधीन अवस्थामा रहेका अधिकांश पक्की मोटरेबल पुलको लागत ३ करोड देखि १० करोडसम्मको रहेको आयोजनाले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.