भविष्य देखाउने ‘उज्यालोतिर’
एउटा गन्धमा बानी परेको मानिस अर्को सुगन्धलाई पनि दुर्गन्छ ठान्दछ। पुरानो चिन्तन र निर्देशित पाइलाले नयाँ गन्तव्यमा पुर्याउँदैन।
शिक्षा र साहित्यको क्षेत्रमा दीर्घ अनुभव प्राप्त टीकाराम रेग्मीद्वारा नवीन शैली अवलम्बन गरी लेखिएको शैक्षिक उपन्यास हो– उज्यालोतिर। शिक्षाका सिद्धान्त, विधि र प्रविधिसँग सम्बन्धित बग्रेल्ती कृतिहरू लेखिएको अवस्थामा उज्यालोतिर नितान्त मौलिक, रोचक र व्यावहारिक कृति बनेको छ। शिक्षासँग सम्बन्धित बहुआयामिक पक्षमा केन्द्रित प्रस्तुत शैक्षिक उपन्यासले शैक्षिक क्षितिजमा नवीन दृष्टिकोण तथा शैली अंगीकार गरेको छ। शिक्षा पद्धतिलाई नै सकारात्मक दिशा र नयाँ क्षितिजमा पुर्याउन सफल कृति बनेको छ। यसमा शैक्षणिक विषयवस्तुलाई आख्यानीकरण गरी शिक्षण पेसालाई सेवा, त्याग र समर्पणको पेसाका रूपमा स्थापित गर्ने प्रयास भएको छ। सरोकारवालालाई सकारात्मक सोच निर्माण गराउन पनि सफल देखिन्छ।
भाष्कर सरको प्रेरणा र मार्गदर्शनबाट सरिता मिसले एक आदर्श शिक्षकले शिक्षणलाई सेवा/पेसाका रूपमा स्थापित गर्न गरेको अनुकरणीय प्रयास निकै कलात्मक र जीवन्त छ। शिक्षा के हो र यसको लक्ष्य के हुनुपर्छ ? भन्ने सन्दर्भमा भाष्कर सरमार्फत नवीन विचार प्रस्तुत गरिएको छ। यसले विद्यार्थीको सिर्जनात्मकतालाई प्रस्फुटन गराउन तथा उनीहरूलाई आत्मविश्वासी बनाउन शिक्षकले सकारात्मक भूमिका खेल्नुपर्ने विचार प्रस्तुत गरिएको छ। जीवनमा भौतिक सुविधाले मात्र वास्तविक सन्तुष्टि दिन नसक्ने रहेछ। शिक्षाको अन्तिम लक्ष्य जीवनमा आत्मसन्तुष्टि प्रदान गरी उसको जीवन सार्थक बनाउन सक्नु हो। शिक्षा जीवनबोध गराउने, आत्मसन्तुष्टि दिलाउने र सफल जीवनयापन गराउन सक्ने हुनुपर्छ। यही नै शिक्षाको लक्ष्य हुनुपर्छ भन्ने कुरा यसमा उठाइएको छ।
दोबाटोबाट किनारतिर, ताबाट भुङ्ग्रोमा, पहिलो गाँसमै ढुंगा, बुलेट चढौं, खेलाउनुहुन्छ कि पढाउनुहुन्छ ? फगत बालक अनि अफलाइन भएँ, सुलुलुलुजस्ता लामा छोटा ५० परिच्छेदमा संरचित कृति हो यो। उपन्यासकी मुख्य पात्र सरिता शिक्षण पेसामा प्रवेश गरिसकेपछि भाष्कर सरको मार्गदर्शनमा परम्परित शिक्षण विधि तथा पद्धतिलाई बदल्न यथासम्भव प्रयास गर्छिन्। उनी आँखाको कसिंगर बन्छिन्। पेसाप्रति प्रतिबद्ध र जिम्मेवार आदर्श शिक्षक सरिता विद्यालय प्रशासन तथा सहकर्मीको तीव्र आलोचना तथा हाँसोको पात्र बन्छिन्। उद्देश्यमा अडिग भई तीव्र इच्छाशक्तिका कारण उनी निरन्तर अघि बढेकी छन्। प्रभावकारी शिक्षण क्रियाकलाप तथा सिकारु केन्द्रित विधिका कारण क्रमशः सफलताको सोपान चढ्न सफल सरिता अन्ततः सरोकारवाला सबैबाट सम्मानित बनेको सन्दर्भ छ। उज्यालो आगतका लागि थप प्रतिबद्ध भई लाग्ने विचारसाथ उपन्यासको समापन गरिएको छ।
शिक्षण भनेको तथ्यहरूको रटान होइन। सिकारुका बहुआयामिक क्षमताको उजागर गर्न पर्याप्त अवसर प्रदान गर्ने तथा सहजीकरण गर्ने कार्य शिक्षकको हो। कक्षा शिक्षणका लागि गर्नुपर्ने पूर्वतयारी, सिकाइलाई सिकारुका पूर्वअनुभवसँग सान्दर्भिक बनाउने शिक्षण कौशल, सिकारुलाई सिकाइका लागि निरन्तर उत्साहित बनाउन शिक्षकले खेल्ने भूमिका पनि हो। मूलपात्रका माध्यमबाट कलात्मक रूपमा यी विषयलाई प्रस्तुत गरिएको छ। यसै तथ्यलाई उपन्यासले सशक्त रूपमा उठाएको हो। नवीन सोच कार्यान्वयनमा बिध्नबाधा र अड्चनहरूलाई छिचोल्दै निरन्तर अघि बढ्नुपर्ने कुरा कृतिमा छ। ‘एउटा गन्धमा बानी परेको मानिस अर्को सुगन्धलाई पनि दुर्गन्छ ठान्दछ। पुरानो चिन्तन र निर्देशित पाइलाले नयाँ गन्तव्यमा पुर्याउँदैन (पृष्ठ १८)।’
वर्तमान सन्दर्भमा शिक्षण पेसा आकर्षक नबनेको, क्षमतावान् व्यक्तिहरूको रोजाइको क्षेत्र अन्यान्यमा परेको सन्दर्भ उपन्यासमा छ। ‘त्याग खोज्ने क्षेत्र हो, जुन दिनसम्म विद्यार्थीलाई आफ्नै छोराछोरी, भाइबहिनी मान्न सक्छौं, त्यस दिनसम्म मात्र तिमी शिक्षक रहिरहन सक्नेछौं (पृष्ठ १९)।’ शिक्षण सिकाइ प्रक्रियामा महŒवपूर्ण विधि मानिने आगमनात्मक विधिको सफल प्रयोग गरिएको उपन्यास हो, उज्यालोतिर। पात्रहरूका क्रियाकलाप तथा संवादहरूबाट नै आगमनात्मक विधिको उत्कृष्ट प्रयोगथलोका रूपमा उपन्यास स्थापित भएको छ। शिक्षण पद्धतिका लागि आवश्यक मानिने समग्र पक्षको कलात्मक समन्वयका रूपमा प्रस्तुत उपन्यास देखापरेको छ।
जीवनमा भौतिक सुविधाले मात्र वास्तविक सन्तुष्टि दिन नसक्ने रहेछ। शिक्षाको अन्तिम लक्ष्य जीवनमा आत्मसन्तुष्टि प्रदान गरी उसको जीवन सार्थक बनाउन सक्नु हो।
शिक्षक, विद्यार्थी, विद्यालय, अभिभावक, पाठ्यक्रम, शिक्षण विधि, प्रविधि, सिकाइ योजना, शैक्षणिक सामग्री, मूल्यांकन, उपलब्धि, पृष्ठपोषण, अभिलेखीकरण, बाल मनोविज्ञान, उत्प्रेरणा, सिकाइ प्रक्रियाजस्ता पक्षलाई कृतिले समेटेको छ। त्यसैले प्रस्तुत कृति समग्र शिक्षण पद्धतिको सुन्दर फूलबारी बन्न पुगेको छ। अधिकांश विद्यालयले न्यून शैक्षिक उपलब्धि हासिल गरिरहेका छन्। शिक्षण पेसामा प्रवेश गरिसकेपछि नव प्रवर्तनात्मक सोच नराख्ने, शिक्षण सिकाइसम्बन्धी सामग्रीको अध्धयन, मनन् तथा प्रयोग नगर्ने जस्ता कारणले शिक्षा क्षेत्र थिलचिलो भएको छ। यसबाट मुक्ति पाउन जतिसुकै आलोचना सहेर पनि पेसाप्रति समर्पणभाव भएका सरिताजस्ता योग्य, क्षमतावान् र ऊर्जाशील शिक्षक शिक्षण पेसामा जुट्नु पर्छ। काग कराउँदै छ पिना सुक्दै छ भनेझैं आफ्नो उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउने दिशामा अर्जुनदृष्टि राखेर अघि बढ्नुपर्छ।
सामान्यतः विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित राखिन्छ। किताबका तथ्यहरू जस्ताको तस्तै घोक्नु र परीक्षामा त्यसैलाई उतार्न सक्नु उत्कृष्ट सिकाइ हो भन्ने परम्परागत सोच छ। कृतिले भिन्न दृष्टिकोण स्थापित गरेको छ। ज्ञानलाई सीपमा र सीपलाई उत्पादनसँग जोड्नुपर्छ। सिकाइ व्यवहारमा आउने स्थायी परिवर्तन हो। बालबालिकाको दिमाग खाली हुन्छ, त्यसमा शिक्षकले ज्ञान भरिदिनुपर्छ भन्ने परम्परागत सोचभन्दा भिन्न दृष्टिकोण यसमा छ। साथै, सिकारुको सिर्जनशीलता र क्षमताहरूलाई मलजल गरी प्रस्फुटन गराउनुपर्छ भन्ने मान्यता स्थापित गरेको छ।
शिक्षकको क्षमता, सकारात्मक व्यवहार, उद्देश्यकेन्द्रित शिक्षण, तीव्र कर्तव्यबोधजस्ता पक्षहरूले बालबालिकाको व्यवहार तथा ज्ञान र सीपआर्जनमा अहं भूमिका खेलेका हुन्छन्। सरिता विद्यालयमा प्रवेश गर्नुपूर्वको अवस्था र उनी सोही विद्यालयमा निरन्तर रूपमा अध्यापनरत रहँदा विद्यार्थीको व्यवहार तथा सिकाइमा आएको परिवर्तनले यस कुराको पुष्टि गर्छ। समग्रमा उपन्यासले नयाँ शैक्षिक क्षितिजको उजागर गरेको छ। अर्थपूर्ण र सुखी जीवनका लागि अपरिहार्य मानिने शिक्षाका सन्दर्भमा परम्परित सोच तथा कार्यशैली बदल्न नितान्त आवश्यक छ।