इतिहास लेख्नुपर्ने ‘भुइयाँ’ संस्कृति
भुइयाँ महराज बाबाको शक्तिले उम्लिरहेको दूधले नुहाउँछौं। पोल्दैन। यदि शत्ति नहुँदो हो भने तातो दूधले छाला खुइलिहाल्छ नि।
तौला (माटोको भाँडा)मा भकभक दूध उम्लिरहेको छ। भक्ताहरू तातो दूधले स्नान गरिरहेका छन्। त्यो अनौठो दृश्य नियाल्नेको भीड ठूलै छ। तातो दूधले नुहाउँदा पनि जीउ नपोल्नु अचम्मको कुरो छ, सबैको मनमा। यसैले सबैको ध्यान तानेको छ। तराई/मधेसका ग्रामीण भेगमा माघ महिनामा यस्ता दृश्य प्रशस्त देख्न सकिन्छ। जसले प्रकृतिको पूजा गर्नुपर्छ भनेर सिकाउँछन्, उनै ‘भुइयाँ’ (प्रकृति) महराज मुसहर जातिको कुल इष्ट देवता हुन्। प्रकृति जोगाउन मुसहर जातिले दूधले स्नान गरेर देवतालाई खुसी बनाउँछन्। यसलाई ‘अपटनी पूजा’ पनि भन्ने गरिन्छ। मुसहर मधेसको भूमिपुत्र हो। उसले विश्वको माटो रक्षार्थ तीन वर्षयता माघ १ मा अन्तर्राष्ट्रिय भुइयाँ दिवस मनाउँछन्। मानव र प्रकृतिबीचको चर्चा गर्दै सप्तरीमा यो दिवस बनाइयो।
जहाँ धर्तीको पूजा गरिन्छ
धर्तीलाई जनबोलीमा भुइयाँ भनिन्छ। माटो भनेपछि सबै फ्याट्टै बुझ्छन्। मुसहर समुदायले दूधले नुहाएर माटोको गौरव गाउँछन्। माटोमै ५६ व्यञ्जन उब्जिन्छन्। प्रकृतिबिना मानव जीवन सम्भव छैन। मुसहर र माटो एकअर्काको पर्याय जस्तै हो। यो जाति खेतीहर (खेतीकिसानी गर्ने) जाति हो। उनीहरूको दिनचर्चा खेत खन्दै बित्छ। विडम्बना, भूमि पुज्ने अधिकांश मुसहरसँंग एक औंठा जमिन छैन। उनीहरू सुकुम्बासी बिल्ला भिड्न बाध्य छन्। अनागरिकको जीवन भोगिरहेका छन्। तराईका जिल्लामा उनीहरूको आवादी छ। देशभर उनीहरूको जनसंख्या कम्तीमा १३ लाख छ।
प्रकृति र मानवीयको सम्बन्ध नासिँदै छ। माटो र किसानबीचको नाता टुट्दै छ। प्रकृति र जनमानसबीच प्रेम र स्नेहखण्डित भएको छ। प्राकृतिक स्रोतसाधनको दोहन चरम सीमामा पुगेको छ। हिमालको हिउँ पग्लिँदैछ, जीवन संकटमा छ। मुठ्ठीभरका व्यक्तिले यस्ता हर्कत गरिरहेका छन्। यसले विश्वव्यापीरूपमा जलवायु संकटलाई निमन्त्रणा दिइरहेको छ। प्रकृति र मानवबीचको सम्बन्धलाई अटुट बनाउन मुसहर जातिले भुइयाँ अर्थात् प्रकृति पुज्छन्। शिरमा माटोको चन्दन लगाउँछन्।
मुसहरको कुलदेवता भुइयाँ महराज
सप्तरीको हनुमाननगरमा यस वर्ष परोपकारी संस्था भोरले नेपाल राष्ट्रिय मुसहर संघ मिलेर प्रकृति पूजालाई भव्यता तुल्यायो। फूलपान, प्रसाद र लड्डु भुइयाँ महराजलाई मन पर्छ। उसले दूधले स्नान गरेकोलाई चोखो मान्छन्। आँखा अगाडि तातो दूधले भक्ता (पूजा गराउने मुख्य मान्छे)ले नुहाइरहेको दृश्य लोभलाग्दो हुन्छ। मुसहर जातिको गौरवलाई लोकबाजा ढोलक, झायल, कर्तालको धुनले वर्तमानलाई रोमाञ्चक बनाउँछ। भक्तिगानले भुइयाँ महराजको विगतलाई गवैयाले गाउँदै नयाँ पुस्तामा झल्काउँछ। ‘अप्पन संस्कृति अप्पन स्वाभिमान, तोडु विभेदके जञ्जीर, देखु वीर पुर्खाके नजीर’ तेस्रो अन्तर्राष्ट्रिय भुइयाँ दिवसको नारा थियो।
महोत्तरीको बसविट्टीका ६५ वर्षीय सुबी माझी, ५८ वर्षीय बुधन माझी मुसहर र ३० वर्षीय राजेश मुसहर तातो दूधले नुहाएर भुइयाँ महराजको पूजा गराउँछन्। तातो दूधले नुहाएर मुसहर जातिले कुलदेवता भुइयाँ महराजलाई पुस्तौंदेखि पुज्छन्। ‘तातो दूधले नुहाउनुलाई भुइयाँ महराजलाई अपटनी दिएको भन्छौं’, बुधन सादा सुनाउँछन्, ‘३० वर्षदेखि तातो
दूधले वर्षमा १५ पटकसम्म जिल्लाजिल्लामा भुइयाँ महराजको पूजा गराउँदै भ्रमण गर्छु।’
सादा भन्छन्, ‘पुर्खाहरूले गर्दै आउनुभयो। हामी पनि गरिरहेका छौं। भुइयाँ महराज बाबाको शक्तिले उम्लिरहेको दूधले नुहाउँछौं। पोल्दैन। यदि शक्ति नहुँदो हो भने तातो दूधले छाला खुइलिहाल्छ नि।’ पुस र चैत्र महिनामा यो पूजा गरिँदैन। धान काटेपछि खेत खाली हुन्छ। त्यसपछि त्यहाँ भव्यताका साथ भुइयाँलाई उनीहरूले पुज्छन्।
महराजको पूजा विधि
महिना दिनअघि नै मुसहर जातिका माइजनको आदेशमा देवान (गाउँको मुखिया र उपमुखिया)ले गाउँमा भेला बोलाउँछन्। भुइयाँ महराजको पूजाविधिका लागि प्रत्येक घरबाट नगद, चामल र दाउरा संकलन गरिन्छ। दूधले नुहाउनु एक दिनअघि मुसहर जातिको भक्ताले बेरा (पूजा गराउने टोली बस्ने स्थान)मा बस्छन्। त्यहाँ रातभर कीर्तन गर्दै भुइयाँ महराजको झाँकी प्रदर्शन गर्छन्। गाउँभरिका बच्चादेखि वृद्धवृद्धा त्यसमा रमाउँछन्। रातभर जाग्राम बसेर निष्ठापूर्वक अर्को दिन भक्तासहितका गाउँले अखरा (खाली खेत) मा तिर (चुलो) खनेर दूध तताउँछन्। जलाशयमा स्नान गरेर नयाँ वस्त्रधारण गर्छन्। अनि भुइयाँ महराजको पूजा गरिन्छ। भक्ताले चामलको खिर, दूध, मिठाई, मिठ्ठा (सखर), अगरबत्ती, पान, सुपारी, ल्वाङलगायत पूजा सामग्री देवतालाई अर्पण गरिन्छ। उनले अपराह्न दूधले स्नान गर्छन्।
शिरमा दूधको अभिषेक
पूजा हेर्न अखरा पुगेका भक्तजनलाई तातो दूध शिर (टाउको)मा राखेर भक्ताले अभिषेक दिन्छन्। पूजाको प्रसाद वितरणपछि सबै गाउँ फर्किन्छन्। साँझ गाउँमा सामूहिक भोज खाएर खुसीयाली मनाउने गरिएको एकीकृत नमुना मुसहर बस्ती बर्दिबासका अगुवा मञ्जय सादा बताउँछन्। ‘वर्षमा आउने एक दिनको भुइयाँ महराजको पूजाले सबैमा खुसीको सञ्चार गराउँछ। सबै मिलेर पूजामा सहभागी हुन्छौं। यसले समाजमा भाइचारा, सामाजिक सद्भाव बढाउँछ,’ उनी सुनाउँछन्।
सबैका देवता
भुइयाँ महराजलाई मुसहरले जातिले विशेष रूपमा पूजा गर्छन्। मनोकामना पूरा भए भुइयाँ महराजलाई दूधको स्नान गराउँछु भनेर उनीहरू भाकल गर्छन्। भक्ता बुधन सादाका अनुसार सोचेको पूरा भएपछि अन्य जातिले पनि पूजा गर्छन्। महराज अरू देवताहरूलाई आश्रयस्थल दिने देवता रहेको उनी बताउँछन्। जमिनलाई जनबोलीमा ‘भुइँ’ अर्थात् ‘पृथ्वी’ भनिन्छ। माटो काटेर जीवन चलाउने मुसरहरूको खास जातस्य पेसा हो। त्यसैले उनीहरू भुइयाँलाई देवताको रूपमा पूजा गर्छन्। भुइयाँ भनेको सिधा अर्थमा ‘जमिन’ हो, व्यापक अर्थमा ‘प्रकृति’।
परम्परागत रूपमा माटोमै दिनभरि काम गर्छन्। निधारमा ‘माइट’ (माटो)कै टीका लगाएर पूजा गर्छन्। ‘अहिले त उपकरणले पोखरीहरू खन्न थालिए। पहिला परम्परागत रूपमा माटो काटेर घर हुर्ने, खेत सयर (सम्याउनु) गर्ने काम होस्, या त झिल वा पोखरी खन्ने काम, मुसहरहरूले कोदालोले बनाउँथे’, भोरका पूर्वअध्यक्ष राजकुमार महतो भन्छन्। महिनौं दिन लगाएर कोदालोले माटो काटेर पोखरी खन्ने सार्वजनिक काममा मुसहर जातिको योगदान रहन्थ्यो। उनीहरूको जिन्दगी लडिबुडी गर्ने चिज भनेकै माटो हो। ’त्यसैले उनीहरू भुइयाँको पूजा गर्छन्। त्यसैले यो प्रकृतिको पूजा पनि भएको उनी बताउँछन्।
प्रकृति र मानवबीचको सम्बन्धलाई अटुट बनाउन मुसहर जातिले भुइयाँ अर्थात् प्रकृति पुज्छन्। शिरमा माटोको चन्दन लगाउँछन्।
मुसहर जे भोग्छ, जे देख्छ, त्यस हिसाबले सिधा भुइयाँका कारण बाँचिरहेका छन्। माटोकै सेवा गर्छन्, त्यही माटोलाई पूजा गर्छन्। अरूले स्त्रीको रूपमा धर्ती माता भन्छन्। तर, मुसहरले धर्तीलाई पुलिङको रूपमा ‘भुइयाँ महराज’ भन्छन्। महोत्तरीको बसबिट्टीका ५० वर्षीय रामदेव माझी मुसहर भन्छन्, ‘पृथ्वी छ र हाम्रो जीवन छ। जमिन रहँदैन भने कहाँबाट अन्न उब्जिन्छ। घर कहाँ बनाएर बस्छौं। पोखरी, इनार, कुवा कहाँ खनाउँछौं। हामीलाई प्राण दिने गाछी (रुख) कहाँ लगाउँछौं ? जमिन छैन भने केही हँुदैन। हामी जीवन बाँच्न पनि सक्दैनौं। त्यसैले भुइयाँ सबैको साझा देवता हो।’
छैटौं शताब्दीका भुइयाँ
मुसहर समुदायका भक्ता बुधन सदाका अनुुसार, छैटौं शताब्दीमा सप्तरीको जोगियानगरमा कालु सादा र निरशुदेवीको कोखबाट चार सन्तान जन्मिए। उनीहरूको नाम क्रमशः जेठो भुइयाँ, कान्छो भुइयाँ, दिना र भद्री थियो। गाउँका शोषक र सामन्तहरू गरिबलाई दमन गर्थें। ठूलाठालुले गरिबका छोरीबुहारीको इज्जत लुट्थे। काम गराउने तर, ज्याला नदिने। दास बनाएर राख्ने काम गर्थे। कालुका चारै सन्तान शोषक, सामन्तहरूको अन्याय, अत्याचार र शोषणविरुद्ध लडेर प्राप्त गरेको गौरव गाथा छ।
निरसु (भुइयाँ महराजकी आमा)लाई गाउँको जिमदारले काममा खटाउन बोलाउन गए। नगएपछि उनले गाली बेइज्जती गरे। सिकार खेलेर जंगलबाट घर फर्किएका छोरा भुइयाँलाई आमाले रुँदै उक्त घटना सुनाइन्। भोलिपल्ट पनि काम गर्न बोलाउन आए। ती मालिकलाई भुइयाँ, दिना र भद्रीले लखेटे। जिमदार खाल्टो खनेर लुके। उनलाई खुर्सानी डढाएर धुक्कन (खार) दिई माटोमुनि नै मारिदिए। गाउँका शक्तिशाली सामन्तीविरुद्ध लड्ने भुइयाँ एक पात्र थिए। कालान्तरमा उनीहरू भगवान्को रूपमा पुजिन थाले। भुइयाँ, दिना र भद्री मुसहर कुलमा जन्मिए पनि उनीहरूले सम्पूर्ण समाजको हितमा काम गरेको इतिहास छ।
शत्तिको अवतार
भुइयाँ महराजको सन्दर्भमा अर्को जनश्रुति पनि पाइन्छ। भोर संस्थाका अध्यक्ष पचुलाल माझीका अनुसार भुइयाँ महराज जन्मिएको छ दिनमै दानवले चोरेर लगेका थिए। नबनिभ भन्ने ठाउँमा रहेको बाँसको झ्याङछेउ ८० फिट गहिरो खाल्टो खनी महराजलाई दानवले गाडिदिन्छन्। दानवले आफूहरूलाई मारिदिने डरले त्यस्तो काम गरेका थिए। भुइयाँ महराज शक्तिका अवतार लिएर जन्मिएका थिए। भुइयाँ १२ वर्षसम्म जमिनमुनि जीवितै रहे।
मुसहर मधेसको भूमिपुत्र हो। मुसहर र माटो एकअर्काको पर्याय जस्तै हो। उनीहरूको दिनचर्चा खेत खन्दै बित्छ। विडम्बना, भूमि पुज्ने अधिकांश मुसहरसँंग एक औंठा जमिन छैन।
एक दिन अचानक गाउँलेहरूले भविष्यवाणी सुने कि बाँसको झ्याङमा दूध चढाउनू। उनीहरू घरमा उम्लिइरहेको दूध लिएर त्यहाँ चढाउन पुगे। त्यसलगत्तै भुइयाँ महराज सपना देख्छन् कि आफ्नो जाघ (तिघ्रा)मा ताल ठोके जमिन फाट्नेछ। ८० फुट गहिरो खाल्टोबाट भुइयाँ महराज निस्किन्छन्। बाहिर आउनेबित्तिकै आमासित भेट्छन् तर उनले छोरो चिन्दिनन्। छोरा चोरिएको शोकबाट ब्याकुल आमा छोरा भन्ने थाहा पाएपछि खुसीले रुन्छिन्। आफूसित रहेको चिज पकाएर खुवाउँछिन्। खुसीमा पूजा गर्न कमलको फूल ल्याउन छोरालाई अह्राउँछिन्। भुइयाँ महराज खोज्दाखोज्दै एउटा पोखरीनजिकै पुग्छन्। त्यसमा धेरै फूल फूलेको देख्छन्। पोखरीको चारैतिर चौकीदारको बास हुन्छ। यसलाई यसरी वर्णन गर्छ :
कैसे लैइबहु हो भुइयाँ बाबा,
कैइसे लैइबहु हो कमलके फूल।
उतरे द्वारे हो बैठल दैत दानव हो,
दक्षिणे द्वारे हो बैठल बाघ बघिनिया हो।
पूर्वे द्वारे हो बैठल नागनागिन हो,
पश्चिमे द्वारे हो बैठल काल भैरव हो।
अर्थात्, उत्तरको दिशाको द्वारमा दैत्यदानव, दक्षिणतिर बाघबघिनी, पूर्वमा नागनागिन, पश्चिमतिर कालभैरव छन्। अब कसरी ल्याउने कमलको फूल ? भुइयाँ महराज एकछिन अलमल परे। तर, नडराइकन यी सबैबाट यस पोखरीलाई मुक्त गर्ने र सबैका लागि तलाउ खुला गर्ने मनसायले दैत्यदानवसित लडाइँ गर्छन्। उनीहरूलाई मारिदिन्छन्। बाघबघिनीसित लडेर जित्छन्। उनीहरूलाई आफ्नो वाहन बनाउँछ। बाघबघिनीमा सवार भई नागनागिनसित लडाइँ गरी जालमा पार्छन्। कालभैरवसित लडाइँ गरी हराइदिन्छ। त्यहाँबाट कमलको फूल लिएर भुइयाँ घर फर्किएको जनबोली छ। त्यसपछि उनको शक्तिको गान सुनिन्छ।
सबैजनाका लागि हितकारी
लोकगाथामा भुइयाँ महराजलाई दिनाभद्रीको नामले पनि पूजा गर्छ। सर्लाहीको चक्रघाटानिवासी गगन माझी अर्को श्रृती सुनाउँछन्, कनक सिंह धामीको ठूलोपोखरी हुन्छ। त्यसमा नागनागिन राखेको हुन्छ। तिर्खाएका बटुवा तलाउको पानी खान पुग्थे। नागनागिनको विष मिसिएको पानी खाँदा बटोही (बाटो हिँड्ने मान्छे)को मृत्यु हुन्थ्यो। मृत्यु भएको बटोहीसित रहेका गरगहना कनकसिंह धामी र उनकी छोरी गगिया फूलमतीकहाँ पुर्याई पोखरीमा फालिदिने गरिन्थ्यो। जसको कारण त्यस वरिपरिका गाउँका सबैजना उनीसँग डराउँथे। यहाँसम्म कि कनकसिंह धामीको नामले हरियो दूबो पनि जल्थ्यो रे। दिना, भद्री, भुइयाँ महराज गएर पोखरीलाई विषमुक्त बनाउन जान्छन्। कनककी छोरी गगिया र फुलमत (दिदीबहिनी)ले
बिशालु सर्प पालेका हुन्छन्। यहाँ उनीहरूबीच प्रश्न–उत्तर शैलीमा संवाद हुन्छ :
काहातोहर घर हो जोगीबाबा, काहा दुवार हो।
कि करे होयैइला, पोखरीके आटमे हो।
भुइयाँ महराज भन्छन्,
घर मोरा हो लगिछौ, जोगियानगरमे।
पिताके नामहो कालु सादा, मैया सतीनिर्सो हो।
हमनीके नामदिनाभद्री (भुइयाँ महराज) हो।
कनकधामी खनैले हो सुन्दरनाथ पोखरिया,
गाउँके लगाइल बहिछै यैइमे पुरनिया।
गगिया या फुलमतके पोसल है नागनगनिया।
हमनी निहाइअइलो यैइपोखरी मे हो।
यी कुरा सुनेर गगिया र फुलमत छक्क पर्छन्। पोखरीको नामले टाढाटाढाका मानिस थर्कमान हुन्थें। त्यहाँ पोखरीमा भुइयाँ महराज र दिनभद्री दाजुभाइ नुहाउन गएका थिए, पानीमा नागनागिनको विष मिसिएको जान्दाजान्दै। भुइयाँ महराजले दुई चुरुवा (दुई अञ्जुली)मै पूरै पोखरी नै सुकाइदिन्छ। कुश उखेलेर नागनागिनलाई गाथी जोगियानगर ल्याउँछ। यसरी उक्त पोखरी विषमुक्त गरिदिन्छ। जसको कारणले सबै बटोही, गाउँले, जीवजन्तुहरूले सजिलै पोखरीको शुद्ध पानीबाट प्यास मेटाउन थाल्छन्। यसकारण पनि भुइयाँ महराजलाई तातो दूधले नुहाएर दैवीशक्तिको गान गाइन्छ। तातो दूधले नुहाउँदा भुइयाँ महराज धेरै नै खुसी हुन्छ भन्ने मान्यता छ। विस्तारै लोप हुँदै गएको यो गाथालाई बचाइराख्न अध्ययन अनुसन्धानको क्षेत्र बनाउनुपर्ने देखिन्छ।
एउटा अपमानित जीवन
नेपाली समाजको जातपिच्छे पारम्परिक जातीय पेसा छ। त्यसमा उनीहरूको अस्तित्वसँग असीमित आत्मीयता जोडिएको हुन्छ। मुसहरको जनजीविका पारम्परिक रूपमा माटोसँग जोडिएको छ। भुइयाँ महराज मुसहरको भू–देवता हुन्। देवताको अर्थ हुन्छ, सृष्टिकर्ता। मुसहरको जनजीविकाको सवालमा सोधीखोजी गर्ने लेखक चन्द्रकिशोर भन्छन्, मुसहरले जमिनलाई हलो र कोदालोले खन्छन्। अन्न उत्पादनका लागि जमिनमा सृष्टि गर्छन्। माटोमा उब्जिएको फसललाई संरक्षण गर्छ। फसल काट्यो। कटाइ (संहार)का साथसाथ नयाँ सृष्टिको सम्भावना रहन्छ। मुसहर आफैंमा जात त छँदैं छ, ऊ एउटा जीवित भू–देवता पनि हो। तर, कालान्तरमा मुसहर समुदायलाई जुन सम्मान दिनुपर्ने हो, त्यो छैन। गाँस, बास, आवास, शिक्षा, स्वास्थ्य, भूमि सबका सब हकबाट उपेक्षित छन्।
‘जसले सृष्टि गर्यो, संरक्षण गर्यो र संहार गर्यो, त्यो भू–देवताको समाजमा पानी चल्दैन। आर्थिक रूपमा सबैभन्दा कमजोर बनाइयो। सामाजिक रूपमा बहिष्कृत गरियो। जसले समाजको संरचना खडा गर्यो, उसैलाई यो भूमिमा अस्तित्व खोज्नु परेको छ’, चन्द्रकिशोर भन्छन्। भुइयाँ महराज प्रतिरोधका नायक थिए, मुसहर जातिको पौरखी पात्र पनि। सामन्तसँग लड्ने, त्यसविरुद्ध संगठन तयार गर्ने भुइयाँ महराज जीवित हुँदाहुँदै एउटा कथा जस्तै बन्यो। जुन हालको जनजीवनमा पुजिँदैछ।
जसले सृष्टि गर्यो, संरक्षण गर्यो र संहार गर्यो, त्यो भू–देवताको समाजमा पानी चल्दैन। जसले समाजको संरचना खडा गर्यो, उसैलाई यो भूमिमा अस्तित्व खोज्नु परेको छ।
स्थानीय ज्ञानको संरक्षण, उत्खनन् र अभ्यास गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो। भुइयाँ महराजको गौरव गाथाबारे अनुसन्धान, शोध गरिनुपर्नेमा जोड दिन्छन् संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि। ‘श्रमजीवी वर्गको सधैं शोषण हुँदै आयो। मुसहरले कमाएको सञ्चय गर्न नसक्दा पनि आर्थिक रूपमा कमजोर परे’, उनी भन्छन्, ‘वर्षौंदेखि अभावमा बाँचिरहेका छन्। विश्वास र आस्था जीवित रहेसम्म मानिसको जीवन जिउने अधार रहन्छ। यसले जीवन जिउन ऊर्जा दिन्छ।’ दूधले स्नान गर्नुलाई धेरै अनुचित भन्लान्। ‘यसमा धेरै खानेकुरा त फालिँदैन। बढीमा एक लोहिया (कराही) दूधले स्नान गरी पृथ्वीको पूजा हुन्छ। त्यसबाट जीवन जिउने ऊर्जा प्राप्त हुन्छ’, उनी भन्छन्, ‘सभ्य भनाउने हामी एउटा विवाह गर्दा पार्टी प्यालेसमा हजारौं बोलाउँछौं। आउँछन्, खान्छन्, खानेभन्दा धेरै फालिन्छ।’ मुसहर जातिले पहिचान र आस्थाको हिसाबले दूधको स्नान गरेर भुइयाँको पूजा गर्ने गर्छन्। यो त राम्रो हो, यसलाई खराब भन्न नमिल्ने उनी बताउँछन्।
यो प्रकृति संरक्षणको पर्व पनि हो। मिथिलामा चौरचन, छठ, जुडशितल, भुइयाँ पूजामा मानिसले प्रकृतिकै पूजा गर्छन्। सांस्कृतिक चिन्तनको देशमै अभाव छ। प्रदेशमा त अझै अभाव छ। जातजातिको पहिचान, संस्कृति, भेषभूूषाको संरक्षण, संवद्र्धनमा योजनाबद्ध काम गरिनु पर्छ। भूमिपुत्र मुसहरको राज्यको सबै सेवासुविधामा पहुँच पुर्याउनु पर्छ। माटोमा उनीहरूलाई पनि स्वामित्व दिनुपर्छ। अनि मात्रै उनीहरूले प्रकृतिलाई गरिरहेको पूजाको सम्मान हुन्छ।
भुइयाँ महराजको गुनगान छिमेकी देश भारतमा पनि यसैगरी मनाइन्छ। तर, मुसहरको कुल देवताको गौरवगाथा गुमनाम जस्तै छ। जसको विर्ता खोसिएको छ, इतिहासको पाना पनि मेटिएको छ। नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले भन्छन्, ‘दिनाभद्री (भुइयाँ)लाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ। अनि मात्र हाम्रो पहिचान अनर्राष्ट्रिय जगत्मा स्थापित हुन्छ।’