जसको ६ फिट कोठा छैन तर, संसार हल्लाउने कविता छन्

जसको ६ फिट कोठा छैन तर, संसार हल्लाउने कविता छन्

बालुवा र सिमेन्ट मुछेर, इँटाको चाङ लगाएर, छडजस्तै बलियो कविता सिर्जना गर्छन्, इरानी मजदुर कवि सवीर हाका। उनी पेटको भोकका लागि घर बनाउँछन् र मनको भोकका लागि कविता लेख्छन्।

वास्तविक कवि त्यो होइन जसले एसीमा बसेर हिमालको चिसो कविता लेख्छ। चारपाङ्ग्रामा गुडेर खाली पैतला हिँड्ने मान्छेको कविता लेख्छ। पाँचतले घरको बार्दलीबाट गुट्खा चपाउँदै झुपडीको कविता लेख्छ।

असली कवि त त्यो हो जसले जुत्ता सिलाउँदा सिलाउँदै देश सिलाएको कविता लेख्छ। गिट्टी कुट्दाकुट्दै हातका ठेलाको कविता सिर्जना गर्छ। अनि, खाना पकाउँदा पकाउँदै आफैं पाकेको कविता लेख्छ। यस्तै भुइँमा बसेर माटोको कविता लेख्ने कवि हुन्, सवीर हाका।

कविता जन्माउन के चाहिन्छ ? विश्वविद्यालयको माथिल्लो स्तरको डिग्री वा कुलिन घरानाको जन्म ? कहाँ छन् असली कविता ? असली कविता कहिले प्रकाशित नै भएनन् कि ? खाट्टी कविताले अक्षरको स्वरूप नै लिएनन् कि ? मौलिक कविताहरू कागजसँग सम्बन्धविच्छेद पो गरिसके कि ?

सवीरको जन्म सन् १९८६ मा इरानको करमानशाहमा भएको थियो। हाल उनी तेहरानमा बस्छन्। घर बनाउने श्रमिकको रूपमा मजदुरी गर्छन्। उनका दुईवटा कविता संग्रह प्रकाशित छन्। उनको एउटा कविता इरान श्रमिक कविता प्रतियोगितामा प्रथम भएको छ। ‘कविताले पेट भरिन्न त्यसैले इँटा, छड र सिमेन्टसँग पौठेजोरी खेल्नै पर्छ’, उनी भन्छन्।

एउटा अन्तर्वार्तामा सवीरले भनेका छन्, ‘म थाकेको छु, धेरै थाकेको छु। म जन्मनुपूर्व नै थाकेको छु। मेरी आमाले मलाई गर्भमा राख्दादेखि नै मजदुरी गर्थिन्, म गर्भैदेखि मजदुर हुँ। म मेरी आमाको थकान महसुस गर्न सक्छु। उनको थकान अझैसम्म मेरो शरीरमा अवस्थित छ।’

तेहरानमा सुत्नका लागि सवीरसँग ६ फिटको कोठा पनि छैन। उनी कयौं रात सुनसान गल्लीमा बिताउँछन्। यसैकारण १२ वर्षदेखि उनले लेख्दै गरेको उपन्यासलाई टुंग्याउन सकेका छैनन्।
इरानमा सेन्सरसिप लागू छ। कयौं कवि–लेखकका शब्दमा सरकारले कैंची लगाइदिन्छ। उनका कयौं कविताताका शब्दहरूलाई पनि अबोर्सन गरिएका छन्।

बालुवा र सिमेन्ट मुछेर, इँटाको चाङ लगाएर, छडजस्तै बलियो कविता सिर्जना गर्छन्, इरानी मजदुर कवि सवीर हाका। उनी पेटको भोकका लागि घर बनाउँछन् र मनको भोकका लागि कविता लेख्छन्।

सवीरका कवितामा संसारको आँखा तब मात्र पर्‍यो, जब उनको कविता विख्यात पत्रिका ‘मोर्डर्न पोएट्री इन ट्रान्सलेसन’ले सन् २०१५ मा स्थान दियो। त्यसमा राखिएका सबै कविता फारसीबाट नसरिन परवाज र ह्युबर्ट मूरले गरेका अंग्रेजी अनुवाद हुन्।

इरानको मातृभाषा फारसी हो। फारसी साहित्य प्राचीन साहित्यमध्येको एक हो। यो अढाई सहस्राब्दी पुरानो साहित्री हो। इरान पहिले ग्रेटर इरान थियो। वर्तमान समयको इरान, इराक, अफगानिस्तान, तुर्की, ताजाकिस्तान आदिको प्रमुख भाषा फारसी नै थियो। रुमी सबैभन्दा बढी रुचाइएका फारसी कवि हुन्। त्यसैगरी फारसी कवि फिरदौसी, साफी, हफिज, इत्र, नेजामी, उमर खय्यामन विश्व प्रसिद्ध छन्।

वर्तमान समयमा इरानका चलचित्रलाई पनि संसारले मन पराएको छ। इरानको साहित्य र कलामा लामो इतिहास कायम छ। यतिबेला इरानका मजदुर कविले फेरि एक पटक आफ्नो दरिलो परिचय बनाएका छन्। आज उनै मजदुर कवि सवीर हाकाका केही कविताको नेपाली अनुवाद प्रस्तुत गरेको छु।

आस्था
मेरा बुवा मजदुर थिए
एउटा आस्थावान् मान्छे
जब उनी नमाज पढ्थे
अल्लाह ! उनको हात देखेर लज्जित हुन्थे।

यो कविताले एउटा मजदुरको जीवनलाई दुरुस्तै उतारेको छ। नमाज पढ्दा फैलिएका हत्केलाका ठेला देखेर भगवान् पनि लज्जित भएको प्रतीकात्मक कवित्व चेतले हरकोही मजदुरको दिलमा भावना जगाइदिन सक्छ।

ooo
हाकाका प्रायः कविता मजदुरकै विषयमा केन्द्रित छन्। तर पनि केही कविताले अन्तर्देशीय मुठभेड र भिन्नतालाई पनि अँगालेको छ। रगतले राता बनेका सिमानालाई हिउँले मात्र सेतो बनाउन सक्ने कुरा तलको कविताले बोल्छ। त्यो हिउँ प्रेम र करुणा हुनुपर्छ।

सिमाना
जसरी कफनले लासलाई ढाकिदिन्छ
हिउँले पनि धेरौ कुरालाई छोपिदिन्छ
ढाकिदिन्छ, भवनको कंकाललाई,
रूखलाई अनि चिहानलाई सेतो बनाइदिन्छ

हिउँले मात्रै
सिमानालाई पनि सेतो बनाइदिन सक्छ।
ooo

तेहरानमा उनको न घर छ, न त सुत्ने कोठा नै छ। खुल्ला आकाश उनको छानो हो र सडक उनको बिस्तारा। जाडो तेहरानी गल्लीमा उनी जून ओढेर 
सुत्न बाध्य छन्।

घर
मैले सारा संसारलाई भन्न सक्छु यो शब्द
दुनियाँको हरेक देशलाई भन्न सक्छु 
आकाशलाई पनि भन्न सक्छु
यो ब्रह्माण्डका प्रत्येक वस्तुलाई भन्न सक्छु
तर तेहरानको बिनाझ्यालको भाडाको कोठालाई भन्न सक्दिनँ,
अहँ यसलाई म घर भन्नै सक्दिनँ।

ooo
इरानजस्तो कट्टर देशमा जन्मिएर प्रगतिशील लेखनमा सक्रिय हुनु, फलामको खबुज चपाउनु जत्तिकै हो। कलमको बन्दुकबाट निक्लिएको बुलेट सबैभन्दा बढी खतरनाक हुन्छन्। 
हाम्रोजस्तो गणतान्त्रिक देशमा त बेलाबेला कलमसँग सरकारले कट्टुमै पिसाब फेरेर प्रतिबन्ध लगाएको अवस्था छ। सवीरका धेरै कवितामा सरकार काँप्न थालेपछि नै उनले यस्तो कविताको एम्बुस थापेको प्रष्ट हुन्छ।

सरकार
केही समयदेखि 
प्रहरी मेरो खोजतलास गर्दै छ
मैले कसैको हत्या गरेको छैन
सरकारविरुद्ध केही लेखेको पनि छैन

मात्र तिमीलाई थाहा छ– प्रियतमा
यो कुरा आमजनताका लागि कति त्रासदीपूर्ण होला
सरकार ! म मजदुर भएकै कारण मसँग डराउन थालेको छ 
यदि म क्रान्तिकारी वा बागी भएको भए के 
गथ्र्यो होला ?

फेरि पनि 
त्यो केटाका लागि यो दुनियाँ 
त्यति धेरै परिवर्तन भएको छैन
जसले स्कुलको सबै किताबका पन्नामा
आफ्नो तस्बिर हेर्न चाहन्छ।
ooo

सवीर आफूले जिएको मजदुरीको जिन्दगीदेखि ‘फ्रस्टेड’ भएका छन्। उनलाई यो जीवन मात्र होइन, अर्को जीवनमा पनि मजदुर बन्नुपर्ने डरले हरेक सपनामा बिथोलि दिन्छ।

एक्लो डर 
जब म मर्नेछु
मसँगै लानेछु
मेरा सारा प्रिय कविता

मेरो चिहानलाई भरिदिनेछु–
ती व्यक्तिहरूको तस्बिरले, जसलाई मैले प्रेम गरें

मेरो नयाँ घरमा खाली स्थान रहने छैन
भविष्यको डरका निम्ति 

म पल्टिरहेको हुनेछु
चुरोट सल्काउने छु
अनि रुने छु
ती तमाम स्त्रीहरूको यादमा
जसलाई म अँगाल्न चाहन्थें

यो सबै प्रसन्नताको बीचमा
एउटा डर कायम रहनेछ
कुनै एउटा दिन बिहानै
कसैले काँध झट्काएर मलाई बोलाउनेछ–
‘ओइ ! सवीर उठ् काममा जानुपर्छ।

ooo

उनका कवितामा मजदुरलाई प्रयोग गरेर गरिने राजनीति दाउपेच पनि झल्किन्छ। हाम्रै नेपालमा पनि विभिन्न गुट बनाएर राजनीति गरेको पाइन्छ। आखिर राजनीतिक रणनीति संसारभर एउटै रहेछ भन्ने कुरा उनको यो कविताले बताउँछ।

राजनीति 
ठूलाठूला परिवर्तन 
कति सजिलै गरिदिइन्छ

हाते काम गर्ने मजदुरलाई राजनीतिक
कार्यकर्तामा बदलिदिन पनि
कति सजिलो छ नि है ?

क्रेनले यो परिवर्तनलाई उठाउँछ
र फासीमा चढाइदिन्छ।

ooo

हामीले देखेका छौं कि डकर्मी घर बनाउँदा बनाउँदै उचाइबाट खसेर अकालमा ज्यान गुमाउने गर्छन्। 
न उनीहरूसँग सामान्य पीपीईको व्यवस्था हुन्छ, न त जीवन बिमा नै। यो देशमा मजदुरको मृत्यु हुनु भनेको ब्रोइलर कुखुरा मर्नुबराबर हो। 
यस्तै पीडा बटुलेर उनी मजदुरीको तहमा बसेर कविता लेख्छन् ।

किम्बु
के तपाईंले किम्बु देख्नु भएको छ ?
जहाँ खस्छ त्यहाँ रातो दाग बस्छ

खस्नुभन्दा पीडादायी अरू केही हुन्न
धेरै मजदुर भवनबाट खसेको देखेको छु

उनीहरू खसेपछि
किम्बु बन्छन्।

ooo

हाकाको गुनासो व्यवस्था, सरकार र राजनीतिसँग मात्र होइन, ईश्वरसँग पनि छ। त्यसैले नै जन्मिएको हुनुपर्छ यो कविता।

ठूलो कोठा
म ईश्वरको साथी होइन
यसको एउटै मात्र कारण छ
जसको निर्जीवता धेरै पुरानो अतीतमा छ
जब ६ जनाको हाम्रो परिवार
एउटा साघुँरो कोठामा बस्थ्यौं
तर ईश्वरसित ठूलो कोठा थियो
जसमा ऊ एक्लै बस्ने गथ्र्याे।

ooo

मजदुर हुनुको पीडाको पराकाष्ठा यो कविताले 
बोलेको छ।

मृत्युको डर
बाँचुञ्जेल यो कुरामा विश्वास गरें कि
झूट बोल्नु गलत हो
कसैलाई दुःख दिनु गलत हो
बाँचुञ्जेल म यो पनि स्वीकार गरें कि 
मृत्यु पनि जिन्दगीको एक अंश हो

यो सबै जानेर पनि मृत्युसँग डर लाग्छ
मलाई किन किन मृत्युपश्चात् पनि
मजदुर बन्नु पर्ने त होइन 
भन्ने अधिक डर लाग्छ।

ooo

आधुनिक विज्ञानको निर्माण हो, बन्दुक। बन्दुकले आवाजहरूको हत्या गर्छ। अवरोधहरूलाई पन्छ्याउँछ। कति क्रान्तिकारी छातीहरू शोषकको नजिक आउन नपाई ज्यान गुमाउनुपर्ने हुन्छ। बन्दुकको 
विम्बमा लेखिएको यो कविता शोषित वर्गको प्रतिनिधि कविता हो।

बन्दुक
यदि उनीहरूले बन्दुकको आविष्कार 
नगरेको भए 
कति मान्छेहरू टाढैबाट 
मारिनुदेखि बच्थे

धेरै कुरा सजिलो हुन्थ्यो
उनीहरूलाई मजदुरको ताकतको
अन्दाज लगाउन पनि सजिलो हुन्थ्यो। हाका कवितामा मौलिकपन छ। कविता कल्पना गरेरभन्दा पनि भोगेर लेखिएका छन्। कवितामा टन्नै आत्मा छ। हाका आजको युगको आवश्यकता हो। नत्र रेडिमेड कवि र कविता भनेको खासाका समान जस्तै हुन्।हाम्रो नेपालमा पनि मूलस्रोतबाट यस्ता कवि र कविता जन्मन पर्ने आवश्यकता देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.