गैंडाको रगत र पाइला खोज्दै जाँदा...

गैंडाको रगत र पाइला खोज्दै जाँदा...

चितवन : वनदेवी मध्यवर्ती सामुदायिक वनभित्र फराकिलो क्षेत्रमा घाँसेमैदान मडारिएको ठाउँले छानबिन समितिलाई केन्द्रित गर्यो। दिनभर छलफल र सोधपुछमा व्यस्त टोलीलाई त्यही ठाउँमा भेटिएको रगतको टाटा र गैंडाको पाइलाले ध्यान तान्यो। यो स्थान गत आइतबार सडकको नालीसँगैको खाल्डोमा खसेर गैंडा मरेको ठाउँबाट झन्डै एक किलोमिटर दक्षिणमा पर्छ।

गैंडा मरेको घटनाको छानबिन गर्न चितवन आएको सरकारी टोलीले गैंडाको मडारिएको झाडीमा रगतको टाटा फेला पारेको थियो। भुइँमा, साना बोट र तारको जालीमा रगतको दाग भेटिएको थियो। त्यसैलाई आधार बनाएर अनुसन्धान अघि बढेको छ। गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। टोलीले गैंडा मर्नुको कारणको खोजेको छ। घटनास्थलमा पुगेर घटनाबारे जानकारी लियो।

भरतपुर महानगरपालिका- ९ स्थित गोन्द्राङमा सडकमा बनाइएको नालीको छेउको खाडलमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा मरेको थियो। बिहीबार चितवन आएलगत्तै काम थालेको टोलीका संयोजक रहेका वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीले भने, 'स्थलगत रूपमा निरीक्षण गौँ । विभिन्न पक्षसँग कुराकानीको क्रममै छौं।' । घटनाको प्रकृतिले दुईवटा भाले गैंडा जुधेको देखिएको छ। जुधेको स्थान एक किलोमिटरसम्म छ। छानबिन टोली झाडी मडारिएको ठाउँदेखि घटनास्थलसम्म गैंडाको पाइला पछ्याउँदै पुगेको थियो। घटनास्थल नजिक रहेको गुम्बाको पार्क छ। त्यही नजिक गैंडाको दुईतर्फ फर्किएको पाइला थिए। 'दुईतर्फ फर्केको पाइला भएकोले हेर्दा अगाडि जुधेको जस्तो देखिन्छ' टोलीमा सहभागी एक संरक्षणकर्मीले भने, 'यो हेर्दा टाढाबाट लखेटिएर भागेको हुनपर्छ।' वयष्क भएपछि गैंडा आपसमा जुध्ने गर्छन्। पोथीसँगको संसर्गका बेला भाले-भाले जुध्ने गर्छन् । कहिलेकाहीँ सहवासमा पोथीले इन्कार गरेको अवस्थामा पनि भालेले पोथीलाई लखेट्छ।

वनदेवी सामुदायिक वनको बाटोतर्फको भागमा तारजाली लगाइएको छ। तारजालीको विभिन्न ठाउँमा रगतको टाटा भेटिएको छ। पश्चिमतर्फबाट भाग्दै उत्तरतर्फ पुगेको प्रारम्भिक अनुमान छ। जुधेर भाग्दा गैंडा तारजालीमा उफ्रेर भागेको थियो। आधाभाग मात्रै जाली च्यातिएको थियो। प्रारम्भिक अनुसन्धानले गैंडा जुधेको देखिएको छ। छानबिन टोलीले अर्को जुधेको गैंडाको अवस्थाको बारेमा समेत चासो राखेको छ। भागेको गैंडा घाइते भए नभएको पनि खोजी गरेको छ।

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल छन्। छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउने गरी काम गरेको छ। घटनाबारे जिल्लाका विभिन्न पक्षसँग छलफल गरेको थियो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेटेको थियो। त्यस्तै मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, सडक डिभिजन कार्यालय, निर्माण कम्पनीका कर्मचारीसँग पनि छलफल गरेको छ।

निकुञ्जको छुट्टै अनुसन्धान गैंडा मरेको घटनालाई चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अगाडि बढाएको छ। सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो। सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खाँचमा परेर गैंडा मरेपछि निकुञ्जले निर्माण कम्पनी इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। तर खड्का भने पक्राउ परेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.