सहिदका सपना सम्झाउने स्मारक
मकवानपुर : सहिद शब्दले बोकेको अर्थ जति ओजनदार छ। आजभोलि त्यसलाई हल्का रूपमा लिन थालिएको छ। हेटौंडा –११ स्थित सहिद स्मारक पुग्दा जो कोहीले पनि सहिदहरूले देखेका सपनाहरू सम्झिन्छन्। नेताहरू पनि बेलाबेलामा सहिद स्मारक आइरहन्छन्। सहिदको सम्झाना गर्छन्। उनीहरूले देखेको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्छन्। तर, प्रतिवद्धताहरू क्षणमै बिर्सिएर गन्तव्यतर्फ लाग्छन्।
देशका लागि विभिन्न कालखण्डमा ज्यान दिएका सहिदहरूको सम्मानमा सहिद स्मारक निर्माण गरिएको हो। यहाँ सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न ६ वर्षअघि सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो। स्मारकलाई सहिदको तीर्थस्थलका रूपमा विकास गर्न स्तम्भ निर्माण गरिएको हो। १९ मिटर गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ। चारैतिर बगैंचा र अग्र भागमा नेपालको प्राकृतिक नक्सा निर्माण गरिएको छ। ‘सबै सहिदहरूको छुट्टाछुट्टै शालिक बनाउन सम्भव नभएकाले सबै सहिदको सम्झनामा स्तम्भ निर्माण गरेका हौं,’ सहिद स्मारक विकास समितिका अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले भने। स्तम्भ करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र जनसंघर्र्षहरूमा सहिद भएका १२ सहिदको एउटै ढुंगामा मुखाकृत कुँदिएको हो। स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुंगामा कलात्मक ढंगले कुँदिएको शालिक सहिद स्मारकको प्रमुख आकर्षण हो। उक्त कलाकृति सहिद दिवसका दिनमात्र खुला हुन्छ।
ढुंगामा भीमसेन थापा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको आकृति कोरिएको छ। त्यस्तै, भीमदत्त पन्त, वीरेन राजवंशी, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, मुनेश्वरी यादव, रत्नकुमार वान्तवा, प्रभाकर पौडेलको आकृति कुँदिएको छ। स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिक राखिएको छ।
त्यस्तै, तत्कालीन एमालेका महासचिव स्व. मनद भण्डारीको मृत्यु भएको दास ढुंगाको दृश्य प्रतिबिम्बित हुनेगरी पूर्णकदको मदनको पहिलो शालिक निर्माण गरिएको छ। एक बिघा क्षेत्रमा चिडियाघरसमेत निर्माण गरिएको छ । साथै, नेपालमा भएको विभिन्न कालखण्डका आन्दोलनका सहिदहरूबारे जानकारी दिन पुस्तकालय निर्माण गरिएको छ। सहिदहरूबारे अध्ययन, अनुसन्धान एवं खोज गर्न चहानेका लागि अनुसन्धान केन्द्रका रूपमा सहिद स्मारकमा सहिद ग्यालरी निर्माण गरिएको स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए। ‘यहाँ सहिदहरूबारे प्रकाशित पुस्तक, लेख, रचना, फोटो आदि संकलन गरी राखिएका छन्। देशका सबै सहिदबारे एकै ठाउँमा बसेर बुझ्न र अध्ययन गर्न पाउने वातावरण निर्माण गर्न हामी लागिपरेका छौं,’ उनले भने।
२०४६ सालको जनआन्दोलनपछि २०४७ साउन ७ गते हेटौंडा –११ स्थित २० हेक्टर उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति वाटिका नामाकरण गरिएको थियो। २०५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक साढे २ दशकको बीचमा हेटौंडा को प्रमुख चिनारी बन्न पुगेको छ। यहाँ वार्षिक २ लाख बढी पर्यटक आउने गरेको समितिको तथ्यांक छ।
‘हेटौंडा आउने बित्तिकै नयाँ मान्छे सहिद स्मारक घुम्न चहान्छन्,’ हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने, ‘मकवानपुरको पहिलो पर्यटन गन्तव्य भएकाले यसको थप विकासमा हामीले सक्दो सहयोग गरिरहेका छौं।’ सँगै यस ठाउँलाई सहिदको तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष पौडेलले बताए। ‘सहिदहरूको सपना कति पूरा भए, अझै कति बाँकी छ,’ उनले भने, ‘कम्तीमा सहिदहरूको सम्झना र सम्मान गरौं भनेर यो अभियान थालिएको थियो। एक हदसम्म पूरा भएको छ।’