कर्मचारी सहिदप्रति माल्यार्पण
राजविराज : सहिद दिवसको अवसर पारेर सप्तरीका स्थानीय तहका कर्मचारी सहिद प्रभुनारायण यादवको शालिकमा आइतबार जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारीसमेतले माल्यार्पण गरेका छन्। जिल्ला समन्वय समितिको परिसरमा रहेको यादवको शालिकमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, लोसपा सप्तरीका अध्यक्ष सुनिल झा, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा लगायतले सहिद यादवको शालिकमा माल्यार्पण गरेका छन्। उनीहरुले कर्मचारी सहिद यादवले गरेको योगदानको चर्चा गर्दै आम कर्मचारीले उनीबाट प्रेरणा लिनुपर्ने बताए।
यादव तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत थिए। उक्त अवसरमा उनीसँग कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
सोही अवसरमा कर्मचारी सहिदका जेठा छोरा राधेश्याम यादवले बुवाको योगदानलाई जीवन्त राख्न सहिद प्रभुनारायण यादव स्मृति ट्रष्ट स्थापना गरी सामाजिक गतिविधि गरिरहेको बताए। तत्कालिन जिल्ला विकास समिति राजविराजस्थित कार्यालयबाट घर फर्किने क्रममा २०६४ साल कात्तिक १२ गते राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोला पुल नजिक तराईमा सशस्त्र संघर्षरत समूहले ४७ वर्षीय यादवलाई गोली हानी हत्या गरेको थियो।