नेपाली भाषामा ‘मिथिला माहात्म्य’
महोत्तरी : नेपालीमा भाषामा ‘मिथिला माहात्म्य’ ग्रन्थ अनुवाद गरिएको छ। याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका सहप्राध्यापक धु्रव रायले ‘मिथिला माहात्म्य’ कृति नेपालीमा अनुवाद गरेका हुन्। महोत्तरीको मटिहानी नगरपालिकाले यसको प्रकाशन गरेको हो। प्राज्ञ महेश्वर राय, प्रा.डा. गोविन्द चौधरी, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए।
अनुवादक रायका अनुसार यो ग्रन्थ द्वापरयुगीन अठार पुराणका रचयीता महर्षि वेदव्यासका पिता परासर ऋषि र उनका शिष्य महर्षि मैत्रेयकाबीच प्रश्नोत्तर शैलीमा भएको सम्वादात्मक ग्रन्थ ‘श्री वृहत् विष्णु पुराण’अन्तर्गत समाहित छ। यसमा मिथिला राज्यका संस्थापक ‘मिथि’ राजाको उत्पत्ति, जानकीको प्राकट्य, जनक उपाधिधारी मिथिला नरेशका कीर्ति गाथा र प्राचीन मिथिलाको सीमानाका बारेमा वर्णन गरिएको छ। मिथिलाधामका प्रसिद्ध सरोवर, कुण्ड, जानकीका सखीस्वरुपा कोशी, कमला, वीरजा, बागमती, नारायणीलगायत १५ नदीको चर्चा गरिएको छ। यसैगरी राजा जनकद्वारा स्थापित उनका आराध्यदेव कल्याणेश्वर, जलेश्वरजस्ता शिवालयहरूको पृष्ठभूमि पनि उल्लेख गरिएको छ। सीता स्वयंवर, सीताराम विवाह, सीता जयन्ती, कञ्चन वनजस्ता रमणीय स्थल र मिथिला परिक्रमा यात्राजस्ता सन्दर्भहरू कृतिमा छन्।
मिथिलाका लोक संस्कृतिहरू र वास्तुकलाका पक्षलाई समेटिएको ‘मिथिला माहात्म्य’ पठनीय ग्रन्थ हो। २२ अध्यायमा विरचित यस उपपुराणमा ८३४ श्लोकहरू छन्। महत्वपूर्ण ग्रन्थ संस्कृत भाषामा रहेकाले संस्कृतका विद्वान् बाहेकलाई मिथिला र मैथिली संस्कृतिका बारेमा बुझ्न कठिन थियो।
यो कृति प्रकाशित हुनु धर्मसंस्कृति र भाषा साहित्यका फाँटमा क्रियाशील सबैका लागि अत्यन्त हर्षको विषय रहेको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताए। ‘मिथिलाको संस्कृति र सभ्यतामाथि नेपालीले गर्व र स्वाभिमानको अनुभूति गर्छन् भने विश्वकै सनातनीहरूले यसबाट प्रेरणा र गौरव बोध गर्छन्’, उनले भने, ‘मिथिला सभ्यताको परम्परा अति प्राचीन छ। मैथिल नरेशहरू अद्वैत वेदान्तका प्रयोगधर्मी आदर्श पात्र रहेको तथ्य अध्येताहरूलाई छर्लङ्ग छ। तर, वर्तमान राष्ट्रिय शिक्षा प्रणालीमा यसलाई महत्व नदिँदा नयाँ पुस्ता यसबाट विमुख रहेका छन्।’
राराव. क्याम्पस जनकपुरका नेपाली विभागका पूर्व विभागीय प्रमुख प्रा.डा. स्थिरप्रसाद पराजुलीले नेपाली भाषा र साहित्यको भण्डारमा गौरवपूर्ण कृति थपिएको बताए। ‘वृहद् विष्णुपुराण’ भवसागर पार गराउने नौका रहेको वाल्मीकी विद्यापीठ, काठमाडौंका प्रा.डा. ऋषिराम पौड्यालले उल्लेख गरे। पूर्वीय वाङ्मय अनन्त रत्ननिधिले परिपूर्र्ण रहेको र यो कृतिले नयाँ इट्टा थपेको उनले बताए।
जगत्जननी जानकीको जन्मभूमि, राजर्षि जनकको राज्य एवं असङ्ख्य नदी, सरोवर र मठ मन्दिरहरूले सुशोभित मिथिलाधाम जगत् प्रसिद्ध रहिआएको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताए।