जासन होल्डरको फरक कीर्तिमान
ब्रिजटाउन : वेस्ट इन्डिजका तीव्र गतिका बलर जासन होल्डरले फरक कीर्तिमान बनाएका छन्। ३० वर्षीय होल्डर टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो वेस्ट इन्डिजका खेलाडी पनि बने। इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टीट्वेन्टी खेलमा उनले ह्याट्रिक मात्रै लिएनन्, लगातार चार बलमा चार विकेट लिए।
बारबाडोसको किंग्सटन ओभल ब्रिजटाउनमा एक सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोली इङ्ल्यान्डले अन्तिम ओभरमा २० रन बनाउनुपर्ने आवश्यकता थियो। उसको चार विकेट बाँकी थियो। अन्तिम ओभर गरेका होल्डरले पहिलो बल नो बल गरेका थिए। त्यसपछि दोस्रो बलमा क्रिस जोडन, तेस्रो बलमा साम बिलिङ्स र चौथो बलमा अदिल रसिदलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए।
त्यसपछि पाँचौं बलमा रइस टोप्लेलाई आउट गर्दै लगातार चार बलमा चार विकेट लिएका थिए। होल्डरले २.५ ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिएका थिए। लगतार चार विकेट लिनुअघि उनले कप्तान मोइन अलीलाई व्यक्तिगत १४ रनमा पेभेलियन फर्काएका थिए। इङ्ल्यान्ड १९.५ ओभरमा एक सय ६२ रनमा समेटिएको थियो। पाँचौं टीट्वेन्टी १७ रनले जितेको वेस्ट इन्डिजले शृंखला पनि ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो।
इङ्ल्यान्डका जेम्स भिन्सले ५५ रनको अर्धशतकीय पालि खेलेका थिए। यस्तै विकेटकिपर ब्याट्सम्यान साम बिलिङ्सले ४१ रनको योगदान दिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७९ रन जोडेको थियो। वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले अविजित ४१ रन जोडेका थिए।
यस्तै रोभमन पावेलले अविजित ३५ रन बनाउँदा ब्रान्डन किङले ३४, केली मेयर्सले ३१ र निकोलस पुरनले २१ रन बनाएका थिए। इङ्ल्यान्डका अदिल रसिद र लियाम लिभिङस्टोनले दुई/दुई विकेट लिएका थिए।