सन्तान पाल्न भौतारिँदै आमा
फिदिम : पाँचथरको तुम्बेवा गाउँपालिका–१ आङ्नाको एउटा विपन्न परिवारमा अभिभावकको साथ दैवले लुटेपछि उक्त परिवार बिचल्लीमा परेको छ। ३१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्युपछि उनको घरमा विरक्तलाग्दो दृश्य देखिन्छ। उनकी श्रीमती आफ्ना तीन सन्तानको जीवन जोगाउन भौतारिरहेकी छन्।
इन्द्रबहादुरको घरमा छानो छैन। धुवाँको मुस्लोले घरको भित्तालाई कालो बनाएको छ। भत्कन लागेको घरको आँगनमा कुखुराको पोथीलाई चल्लाहरू पछ्याइहन्छन्। गोठमा गाई र बाख्राहरू बाँधिएका छन्। बन्द भएको दैलोको अघिल्तिर कुकुर सुतेको दृश्यले मन कटक्क खान्छ। ती पशु चौपायहरू पनि सायद भोकाएकै होलान् !
पुस ९ गते बुढाथोकीको घरमा आगलागी भयो। आगलागीले छानोसहित घरमा क्षति पुर्यायो। विपन्नतासँग जुधिरहेका बुढाथोकीले घरमा छानो हाल्न नपाउँदै उनीमाथि दैवको आँखा लाग्यो। माघ १ गते मकर नुहाउने क्रममा तमोर नदीले बगाएर उनको मृत्यु भयो।
उनको परिवारलाई विपत्तिले लखेटेपछि त्यो घर अहिले सुनसान छ। घरका सामानहरू थन्क्याइएका छैनन्। एकपछि अर्को विपत्ति आइलागेपछि बुढाथोकीको परिवार बिचल्लीमा परेर भौतारिएको स्थानीय अग्रज डेकेन्द्रकुमार तामाङले बताए। ‘इन्द्रबहादुरको मृत्युपछि उनको परिवार विस्थापित भएको छ,’ तामाङले भने ‘उनकी श्रीमतीसहित तीन सन्तानहरूको बाँच्ने आधार नभएपछि घर छाडेर तराई झर्नुभएको छ।’ इन्द्रबहादुरकी ३० वर्षीया श्रीमती विष्णुले आफ्ना तीन सन्तान च्यापेर तराई झरेकी छन्।
९ वर्षीय छोरो सुशील, ८ वर्षीया छोरी सुशीता र ५ वर्षीया छोरी सुस्मितालाई च्यापेर उनी मोरङको पथरी शनिश्चरे गएकी छन्। ‘मोरङमा अर्काको जमिनमा काम गरेर गुजारा चलाउने तयारी गरिरहेका छौं,’ विष्णुले भनिन्, ‘बच्चाहरूको पालपोषण र पढाइमा समस्या छ।’ श्रीमान्को मृत्युपछि विष्णुलाई छोराछोरी हुर्काउने चिन्ता छ। विपत्तिमा परेको आफ्नो भाइको परिवाको व्यवस्थापन गर्न छलफल भइरहेको इन्द्रबहादुरका दाई खड्गले बताए। ‘घरमा आम्दानीको स्रोत राम्रो छैन,’ खड्गले भने ‘भाइको मृत्युपछि परिवार नै समस्यामा परेको छ।’