दुर्बलताको दूरगमन
म धेरै बोल्न हुन्न किनकि म महिला हुँ। सुस्तरी बोल्नुपर्छ। विस्तारै बोल्नुपर्छ। मीठो बोल्नुपर्छ। घरभित्रको सबै काम आफ्नो पेवा भएझैं गर्नुपर्छ। पुरुषका मुखमा हेरेर बोल्नु हुन्न। खित्का छोडेर हाँस्नु हुन्न। हिँड्दा पनि विस्तारै हिँड्नुपर्छ, आवाज नआउने गरी। जुनसुकै काममा जहाँसुकै भए पनि साँझ पर्नुभन्दा अगाडि घर आइपुग्नु पर्छ। किनकि म शोभाशिली हुनु छ घरको लागि, छिमेकको लागि, समाजको लागि अनि सिंगो पितृसत्तात्मक सोच, विचार, संस्कार र व्यवहारको लागि।
यहाँ उठान गर्न खोजेको विषय हामी महिलामाथि घर परिवारले नै शदियौंदेखि गरेको विभेद हो। असमान सोच, विचार, संस्कार, व्यवहारसहितको सामाजिक संरचनाले हत्कडी लगायो। रंगीन भेषभूषा अनि गरगहनासहितको वैवाहिक संस्कारले पुरुषको एकल अधिकार कायम गर्यो। चुरापोते, सिन्दूरलाई सौभाग्यसँग जोड्दै लोग्ने मर्दा सती जानुपर्ने बर्बर अवस्था खडा गर्यो।
समय र समाज परिवर्तनशील छ। परिवर्तनका सिलसिलामा लैंगिक समानताका कुराहरू यत्रतत्र सर्वत्र सुनिएको छ। समानताको कानुन लेख्ने तिनै हात असमान व्यवहारमा चुर्लुम्म डुबेका छन्। मीठो भाषण गरेर महिलावादी बन्न खोज्नेहरूले नै झन् बढी बीभत्स हिंसा गरेका छन्। यहाँ महिला हिंसाको सत्यतथ्य खोज्ने हो भने असमान व्यवहार गर्नेमा बौद्धिकताको हिसाबले साना मान्छेभन्दा ठूला मान्छे बढी छन्। गरिबले भन्दा धनीले बढी विभेद गरेका छन्। सामाजिक रूपमा हेर्दा प्रतिष्ठित मानिने समाजका गन्यमान्यहरूले नै बढी हिंसा र विभेदको व्यवहार गरेका छन्। शारीरिक र मानसिक पीडा दिएका छन्। धार्मिक रूपमा हेर्ने हो भने एउटा सामान्य धार्मिक आस्था राख्नेले भन्दा बढी धार्मिक आस्था राख्नेले, ईश्वरको भक्त हुँ भन्नेले नै महिलालाई हिंसा गरेका छन्। धर्मगुरु, ठूलाठूला योगीहरूको नाममा सानासाना बालिकालाई बलात्कार गरेका घटनाहरू समयसमयमा बाहिर आउने गरेका छन्।
यी र यस्तै कुराहरू त हामी महिलालाई समाजले हेर्ने, घरपरिवारले हेर्ने अनि सिंगो सोच, विचार, चिन्तन, शैली र व्यवहारले गर्ने विभेद भयो। अब एकछिन हामी हरेक महिलाले आफूले आफूलाई हेर्ने दृष्टिकोण भित्र छिर्न अनुरोध गर्दछु। जस्तो कि म पुरुष सरह बलियो छैन किनकि म महिला हुँ। म पुरुष खेलाडीहरूसँग खेल्न सक्दिनँ। हरेक पुरुषले गर्ने सामान्य काम पनि मैले गर्न सक्दिनँ। सामान्य पुरुषलाई पनि मैले कुनै काम कुरामा जित्न सक्दिनँ भन्ने साँघुरो सोच, विचार हामीमा किन आयो ? ९ महिना पेटमा राखेर निकै कष्टकर प्रसव पीडा सहेर आपूmले जन्माएका÷हुर्काएका पुरुषलाई सबै कुरामा किन शक्तिशाली देख्छौं हामी ? महिला धर्ती हो, दया, माया र करुणाको खानी हो अनि आदि शक्ति हो भन्ने जान्दाजान्दै÷बुझ्दाबुझ्दै आफूले आफैंलाई कमजोर किन देख्छौं हामीहरू ? आफूभित्रका दुर्बलताहरूसँग कहिले लड्ने हो हामी ?
आज सामान्य महिलाको मात्र नभई पढेलेखेका शिक्षित महिलामा समेत आफ्नो जीवनको लक्ष्य र उद्देश्य विरलै भेटिन्छ। जति धेरै पढे पनि आफू आफ्नो खुट्टामा उभिएर आत्मनिर्भर हुनुलाई महत्त्वपूर्ण मान्दैनौं हामी। बिहे अगाडि आम युवतीको रोजाइ अनि आफ्नो जीवनको लक्ष्य भनेको आफूभन्दा धनी केटासँग बिहे गर्ने, आफूभन्दा धेरै पढेको, आफूभन्दा जीउडाल अग्लो भएको, बजारमा घर भएको, धनसम्पत्ति बढी भएको जीवनसाथी रोज्ने हुन्छ। कतिपय महिला त्यसैका लागि व्रत पनि बस्नुहुन्छ। यति साह्रो कमजोर बन्न हामीलाई कसले सिकायो ?
सबै काम कुरामा आफूभन्दा उत्तम केटा रोजेर बिहे गरे पछाडि उसले कसरी समान व्यवहार गर्न सक्छ ? सबैभन्दा विभेदको पहिलो जड भनेको श्रीमान् हो, घरपरिवार हो भन्ने कुरा हामीले कहिले बुझ्ने ? श्रीमान्को प्रगतिको लागि, छोरोको प्रगतिको लागि अझभन्दा सिंगो घरपरिवारको प्रगतिको लागि मात्रै हामी महिलाले कहिलेसम्म आफ्नो जीवन बलिदान गर्ने हो ? आपूmले आफ्नो प्रगति गर्नलाई समय छुट्ट्याएको खै हामीले ?
अबको हाम्रो लडाइँ हामी महिलाभित्र रहेका हाम्रा दुर्बलताहरूसँग हुनुपर्छ। गरे सम्भव छ, हामी गर्न सक्छौं भन्ने उच्च मनोबलका साथ अगाडि बढौं। हरेक महिलामा, हरेक पुरुषमा भन्दा बढी शक्ति हुन्छ, साहस हुन्छ, दया, माया र करुणा हुन्छ। यसको उचित सदुपयोग गर्ने भनेको हामी महिलाले नै हो। समानताका भाषण गर्दैमा हाम्रो उन्नति÷प्रगति हुँदैन। समावेशी आयोग र समानताका कानुन निर्माण हुँदैमा पनि हामीबीच रहेका विभेदका पर्खाल भत्कँदैनन् भन्ने कुरा हामी सबैले बुझ्ने बेला भएको छ।
महिला भएकै कारणले म पुरुषभन्दा कमजोर छु भन्ने आफ्नो मनले आफूलाई गर्ने विभेद हटाउनु आजको पहिलो आवश्यकता हो। हरेक महिलाले आफूलाई समय खर्च गरौं। आफ्नो ज्ञान, सीप, क्षमता बढाउन समय निकालौं। आफूमा गरेको लगानीले हरेक महिलाको आफ्नो प्रगति हुन्छ। यसले आत्मनिर्भर हुने अवस्था सिर्जना गर्दछ। आत्मनिर्भरताले महिला हिंसामा न्यूनीकरण ल्याउँछ। आज समाजमा हेर्यौं भने महिला आत्मनिर्भर हुने क्रम बढ्दो छ। आत्मनिर्भरताको अवस्था बढेसँगै श्रीमान्सँग डिभोर्स गर्नेको संख्या पनि बढेको छ। यहाँ मैले डिभोर्स हुनुलाई राम्रो हो भन्न खोजेको होइन। एउटा दम्पतीको सम्बन्धमा मिल्नुभन्दा छुट्टिनु निकै दुःखद् घटना हो तर हिजोसम्म महिलाको आफ्नो कमाइ नहुँदा, आफ्ना छोराछोरीको पेट भर्नकै लागि श्रीमान्को जस्तोसुकै हिंसा सहेर बस्नुभन्दा अलग्गिनुलाई राम्रो हुन्छ।
सृष्टिका समान हिस्सेदार हामी महिला पुरुषभन्दा कुनै काम कुरामा कमजोर छैनौं। अझ बढी दुःख सहन सक्छौं। जोखिम मोल्न सक्छौं। यसको लागि जन्मेदेखि नै समान अवसरको खाँचो छ। आज समाज जतिसुकै आधुनिकतामा प्रवेश गरे तापनि महिला र पुरुषबीचको विभेद भ्रूण अवस्थाबाटै सुरु हुने प्रचलनले विश्राम पाएको छैन। जन्मदर त घटेको छ तर प्रविधिको विकाससँगै छोरीका भ्रूणहरूलाई गर्भपतन गर्नेको संख्यामा कमी भएको छैन। छोराछोरीलाई घरपरिवारले दिने माया, शिक्षा अनि खानेकुरामा समेत समानता छैन। समान व्यवहारले, समान अवसरले मात्र समानता ल्याउने हो, विभेदको अन्त्य हुने हो।
यसको लागि अहिलेको हाम्रो मानसिकता नै परिवर्तन हुनुपर्छ। हाम्रो दृष्टिकोण बदलिनुपर्छ। महिला र पुरुषको सृष्टिमा समान अस्तित्व छ। सृष्टिले विभेद गरेको छैन। विभेद गर्ने हामीहरू नै हौं। हिंसा गर्ने हामीहरू नै हौं। त्यसैले हामी सबै महिला– पुरुष एकजुट भएर अगाडि बढौं।