पानीका लागि जमिन खरिद
फिदिम : जलस्रोतले सम्पन्न देशका नागरिकले पानीकै लागि अनेक दुःख गरेको सुन्दा पत्यार नलाग्न सक्छ। तर, पाँचथरको तुम्बेवा गाउँपालिका–१ आङ्नाका बासिन्दाहरूले पानी पिउन निकै ठूलो संघर्ष गरिरहेका छन्। पानीकै लागि जमिन नै खरिद गरेका छन्।
यस ठाउँमा पानी रसाउने मुहानहरू क्रमशः सुक्दै गए। कुवाहरू सुक्खा खल्डोजस्तै देखिन थालेका छन्। स्थानीय पानीको खोजीमा भौतारिन थाले। पानीको समस्यालाई थेग्न नसकेर कतिपय बसाइँ पनि सरे। सीमित स्थानमा भएको पानीका मुहानमा जग्गाधनीको हैकम चल्ने भएपछि आङ्नाका बासिन्दाले पानी पिउनलाई मुहान भएको जमिन खरिद गरेका छन्। ‘मुहान मात्र खरिद गर्दा जग्गाधनीको हैकम चल्ने भएपछि यहाँका मानिसले पानीको मुहान भएको जमिन खरिद गरेका छन्,’ आङ्नाका स्थानीय सहरसिंह तामाङले भने, ‘पानी पिउनलाई जमिन खरिद गर्नुपर्ने हाम्रो बाध्यता हो।’
आङ्नास्थित रातमाटे टोलका गोविन्द तामाङ र खेपाङ टोलका भूमिकुमार देवानले पानीको मुहान भएको चार रोपनी जमिन खरिद गरेका हुन्। ‘हामीले ७ लाख रुपैयाँमा मुहान भएको जमिन खरिद गरेका छौं,’ गोविन्दले भने, ‘उक्त जमिनमा भएको मुहानबाट पानी ल्याएर गाउँका ५० घरधुरीलाई वितरण गरेका छौं। पानीको मुहान मात्र किन्न नपाइने भएपछि जमिन खरिद गर्नुपरेको हो। सरकारले आङ्नालाई सुक्खा क्षेत्र घोषणा गरेको दशकौं बितिसकेको छ। सुक्खा क्षेत्र घोषणा भएपछि गाउँमा खानेपानी आयोजना सञ्चालन होला भनेर यहाँका मानिसहरू निकै आशावादी थिए। तर, अहिलेसम्म राज्यको तर्फबाट कुनै आयोजना सञ्चालन नभएपछि स्थानीयहरू निराश बनेका छन्।
आङ्ना मौवाका लागि भनेर सरकारले ‘आङ्ना मौवा बेहत पम्पिङ खानेपानी आयोजना’ को काम अघि सरेको छ। उक्त आयोजनाको काम सुस्त भएपछि पानीको समस्या टार्न स्थानीयले जमिन खरिद गर्न बाध्य भएका हुन्। ‘अघिल्लो वर्षमै सम्पन्न हुनुपर्ने खानेपानी आयोजनाको काम आधा भएको छ,’ गोविन्दले भने ‘उक्त आयोजनाको काम सकिन्छ र पानी पिउँला भन्ने आशा हराएपछि मुहान भएको जमिन खरिद गरेका हौं।’
उनीहरूले उत्तिसेनीस्थित जोतिन्द्र लावतीको चार रोपनि जमिन खरिद गरेका हुन्। यसका लागि गाउँका ५० घरबाट रकम संकलन गरेका थिए। ‘समय मिलाएर गाउँका सबै घरमा पानी वितरण गरिएको छ,’ गोविन्दले भने ‘अहिले मेरो र भूमि देवानको नाममा जग्गा खरिद गरेका छौं। यो जमिनलाई संस्था दर्ता गरेर संस्थाको नाममा ल्याउने तयारी गरिरहेका छौं।’
उपभोक्ताहरूको लगानीबाट गाउँसम्म ल्याएको पानीको मुहान सुक्न थालेको छ। उक्त मुहानबाट ल्याएको पानीले आवश्यकता पूरा गर्न नसकेको स्थानीय बताउँछन्। ‘घण्टा सिस्टमले पानी आउँछ,’ स्थानीय बमबहादुर तामाङले भने ‘सुक्खा क्षेत्रमा पानीको समस्या समाधान गर्न सरकार गम्भीर छैन।’