कांग्रेस रूपान्तरणको अभिप्राय

कांग्रेस रूपान्तरणको अभिप्राय

अहिले कांग्रेस वृत्तमा पार्टीको रूपान्तरण हुनुपर्छ भन्ने मन्थर आवाज मुखरित भइरहेको छ।


नेपाली कांग्रेसको जरोकिलो नै सर्वसत्तावादप्रतिको अस्वीकार हो। राजनीतिक पद्धति मात्र नभई पार्टीको आन्तरिक जीवनमा समेत लोकतन्त्र र उदारवादको पक्षपोषण नेपाली कांग्रेसको सैद्धान्तिक एवं दार्शनिक निष्ठा हो। तथापि यो पार्टीमा पनि सैद्धान्तिक प्रस्थापन र त्यसलाई सिद्ध गर्ने व्यवहारबीच ठूलो खाडल छ। केही समयअघि सम्पन्न महाधिवेशनमा ‘दुराग्रह, बलमिच्याइँ र एकाधिकारवाद’ विरुद्ध केही आवाज उठे। ती आवाजहरूको धेरथोर अनुमोदन पनि भयो। कांग्रेस पार्टीको सभापति पदमा निकै अनुभवी, वयोवृद्ध र सत्तारूपी खेलमैदानको चतुर खेलाडीको रूपमा चर्चा कमाएका व्यक्ति बिराजमान छन्। तथापि सोही पार्टीको आन्तरिक निर्वाचनमा इतर पक्षको उम्मेदवारलाई ‘फलाना इज द बेस्ट’ भनेर प्रचारप्रसार गर्ने हिम्मत राख्ने कार्यकर्ताहरू देखिए। त्यो देखेर अन्य पार्टीका स्वाभिमानी समर्थकहरूले पनि आन्तरिक लोकतन्त्रको महत्त्वबारे मनन् गरे होलान्। यस घटनाले अनेकौं कमजोरीका बाबजुद नेपाली कांग्रेसमा ‘हिङ बाँधेको टालो’ सुरक्षित रहेछ भन्ने आभास दिएको छ।

अहिले कांग्रेस वृत्तमा पार्टीको रूपान्तरण हुनुपर्छ भन्ने मन्थर आवाज मुखरित भइरहेको छ। केही युवा नेताले सोच बदलिएको कांग्रेस, आधुनिक कांग्रेस र रूपान्तरित कांग्रेस भन्ने भरोसा पनि बाँडे। उनीहरूले त्यो आह्वानलाई सभापतिको कानसम्म पुर्‍याउने भरसक प्रयत्न पनि गरे। परन्तु कतै कसैले भनेको सुनियो, ‘कांग्रेसी जीर्ण वृक्षको पल्लो हाँगामा केही काग कराइरहे तर पिना सुकिरह्यो।’ महाधिवेशनमा केही महŒवपूर्ण पदमा संस्थापनतर्फ नलागेका र संस्थापनले बेवास्ता गरेका व्यक्तिहरू निर्वाचित भए। लोकतान्त्रिक पार्टीका समर्थकहरूका लागि यो सुखद् पक्ष हो। थकित एवं जीर्ण नेपाली कांग्रेसरूपी विशाल वृक्षमा नयाँ पालुवा पल्लवित हुनु लोकतन्त्रमा विश्वास गर्ने तमाम मानिसका लागि सन्तोषको विषय पनि हो। किन्तु लामो समयदेखि वर्चस्वशाली स्थानमा रहेका र आफूलाई सबैले स्वीकार गर्छन् या गर्नुपर्छ। यही भावना पालेका व्यक्तिलाई यो यथार्थलाई स्वीकार र आत्मसात् गर्न कठिन हुने सम्भावना प्रबल छ।

सत्ता प्राप्त भएकै छ, भोट दिने जनता छँदै छन्। यत्रो भव्य तरिकाले महाधिवेशन सम्पन्न गराइयो। सबै कुरा राम्रै चलिरहेछ त केको रूपान्तरण ? कस्तो रूपान्तरण ? कसको रूपान्तरण ? यस्तो चाम्रो र सख्त संस्थापन कसरी नरम, कुरा खाने र लचिलो बन्ला ? तथापि अत्यन्तै विचारणीय प्रश्न उठ्छ। के कांग्रेसरूपी ठूलो वृक्षमा निवास गर्ने बृहत्तर परिवारभित्र एक, दुई वयोवृद्ध नेता मात्र दोषी हुन् त ? के युवा सबै योग्य, असल र निर्मल छन् ? आमरूपमा कांग्रेस युवाको बाहुल्य रहेको पार्टी बन्न सफल भएको छ। महाधिवेशनले कांग्रेसको नेतृत्वमा आंशिक पुस्तान्तरण पनि गरेको छ। केन्द्रीय समितिको पदाधिकारीमा प्रतीकात्मक रूपमा युवा भन्न सकिने केही व्यक्तिको प्रवेश भएको छ। आंशिक रूपमै भए तापनि एउटा शृंखला टुटेर नयाँ शृंखलाको आरम्भ भएको छ। परन्तु सोचमा परिवर्तन, रूपान्तरण र आधुनिक कांग्रेस भनेको के हो ? यो रूपान्तरण लार्भाबाट प्युपामा परिणत भएजस्तै पूर्ण रूपान्तर हो कि सुधारिएको कांग्रेस मात्र हो ?

आधुनिक लोकतान्त्रिक नेपालमा ‘कुरा लोकतन्त्रका काम भोगतन्त्रका’ भन्ने लोकोक्ति प्रसिद्ध हुन थालेको छ। अब ‘कांग्रेसका आशालाग्दा अनुहार’ भनेर सम्मान गरिएका ‘युवा नेता’हरूलाई सुरम्य र मोहक शब्दावलीको भाषणले मात्र प्रतिष्ठा दिनेवाला छैन।

धेरै जान्नेसुन्ने, पढेलेखेका र केही गर्लान् भनेर आशा गरिएका बहुश्रुत युवा नेताले पार्टीको मूल नेतृत्वलाई मनलागी गर्न नदिने प्रण गरेका छन्। किन्तु उनीहरू आफ्नो वयोवृद्ध मूल नेतृत्वलाई के भनेर सम्झाउँलान् ? कसरी नेतृत्वमा रहेको स्वेच्छाचार र ढिपीलाई, परिष्कार एवं परिमार्जन गरेर निर्मल बनाउँलान् ? युवाको काम अर्ती दिने होइन, सुन्ने हो भनेर धेरै दिन अगाडि नै ‘पलटबार’ गरिसकेका नेताको प्रतिक्रिया कस्तो होला ? आशालाग्दा भनेर प्रशंसा गरिएका केही युवाको उत्साहजनक विजय उनीहरूको राजनीतिक यात्राको एक सोपान मात्र हो, गन्तव्य होइन। आन्तरिक निर्वाचनमा उम्मेदवार हुन पाउनु उनीहरूको अधिकार थियो, जो उनीहरूले प्रयोग गरे। उनीहरूको मूल नेतृत्वलाई सही मार्गमा हिँड्न बाध्य पार्ने प्रतिज्ञा भरोसालाग्दो छ। तथापि यत्तिले मात्र कर्तव्य पूरा हुँदैन।

दल, विपक्षी शक्तिहरू, समाज र समग्र देशप्रतिको कर्तव्य निर्धारण गरेर दरिलो एवं बृहत्तर राष्ट्रिय हितप्रति निष्ठावान पाइला चाल्नु उनीहरूको परम कर्तव्य हो। उनीहरूलाई एउटा पनि गल्ती गर्ने सुविधा छैन। उनीहरू जति प्रखर र होसियार छन्, उनीहरूका हरेक पाइलाको चियो गर्नेहरू पनि उत्तिकै चतुर छन्। कोही किन कांग्रेस हुने ? लोकतन्त्र, उदारवादप्रति अटल आस्था, प्रश्नको स्वतन्त्रता, खुलापन, भिन्न मतको कदर तथा समानता र समताको सम्मान नै कांग्रेसको हृदय हो। परन्तु यो त नेपाली कांग्रेसको सैद्धान्तिक र दार्शनिक आयाम मात्र हो। यहाँ रूपान्तरणको दरकार सिद्धान्त र दर्शनमा नभई व्यवहार र शैलीमा छ। भारतीय स्वतन्त्रता आन्दोलनको समयमा भारतीय राष्ट्रिय कांग्रेसका कतिपय नेताको प्रवृत्तिलाई नजिकैबाट नियालेर हेर्ने गरेका अंग्रेजहरू भन्ने गर्थे, ‘रहनसहन र व्यवहार कुलीनतन्त्रीय, केवल पहिरन मात्र लोकतान्त्रिक।’ कांग्रेसजन पनि ‘तनका सुकिला मनका मैला’ हुँदै गएको बारे रूपान्तरण पक्षको भनाइ के छ ?

अब कांग्रेसको रूप र साजसज्जा कस्तो हुने हो ? भविष्यमा नेपाली कांग्रेसको दार्शनिक चेतना कस्तो हुने हो ? उदारवाद र संविधानमा उल्लिखित ‘समाजवाद उन्मुख लोकतन्त्र’ को सामञ्जस्यको रूपरेखा के हो ? कांग्रेसको बाह्य छवि र आन्तरिक रूपतत्त्व कस्तो हुनुपर्छ ? कांग्रेसको रूपमा आएको खराबीको पहिचान के हो ? अब रूपान्तरण हुनुपर्ने नीतिमा हो कि नेतामा ? रूपान्तरित नेता कस्तो हुन्छ ? बिग्रेको कांग्रेस र शुद्धीकृत कांग्रेसमा के फरक छ ? राजनीतिलाई कमाइ खाने पेसा बनाउने प्रवृत्तिको निराकरण कसरी गर्ने ? यी सबै कुराको रूपांकन र नक्सांकनबिना रूपान्तरणको कुरा चरितार्थ हुन सक्दैन। खिया लागेको हतियारलाई धोइखाली गरेर मात्र धारिलो पार्न सकिन्न। यदि कांग्रेसलाई साँच्चै धारिलो र कुशाग्र बनाउने हो भने बेस्मारी रातो हुन्जेल आरनमा तताएर अर्चाप्नु जरुरी छ।

५०–६० वर्ष अघिदेखि अविरल राजनीति गरिरहेका र तीन दशकदेखि निरन्तर एकपछि अर्को राजकीय पदमा पुगेर सत्तासुख भोगेकाहरू ‘ममाथि घोर अन्याय भयो’ भन्दै हिँडिरहेका छन् कांग्रेसमा। यस्ता लोलुपहरू पथप्रदर्शक रहेको पार्टीको रूपान्तरण कसरी हुने हो ? कांग्रेसी राजमार्गमा बिना कुनै उपलब्धि अनेकौं फन्को मारेर पनि ‘अझै मेरो उपादेयता सकिएको छैन’ भन्दै पार्टीरूपी वृक्षको जरामा नभई पातमा सिँचाइ गर्नेहरू पनि छन्। त्यहाँ उनीहरू व्यक्तिगत ईष्र्यामा विचार बदल्छन्। कुनै पनि राजनीतिक पार्टीमा जब सिद्धान्त हराउँछ, तब प्रोपोगान्डा मात्र बाँकी रहन्छ। त्यस्तो अवस्था बुझेकाहरू राजनीतिबाट टाढै बस्न थाल्छन्। त्यही परिस्थितिमा हो दलमा नीतिको प्रबलताभन्दा व्यक्तिपूजक संस्कृति स्थापना हुने। यहाँ सामयिक निर्वाचनको जगमा स्थापना भएको पार्टीको नेतृत्वलाई यथासमयमा निर्वाचन गराउन चौतर्फी दबाब सिर्जना गर्नुपर्ने परिस्थिति पैदा गरिन्छ। सत्ता र शक्तिको प्रभावले नेतृत्वको हृदयबाट ‘लोकतन्त्र’को निकालबास हुने हो कि ? शंकाको अवस्था छ। आमजनतामा समानुपातिक सिटको सम्भ्रान्तीकरण संस्थागत हुँदै जाने हो कि भन्ने भय उत्पन्न भएको छ।

नेपाली राजनीतिको केन्द्रविन्दुमा डटेर बसेका केही अनुहार बेथति, निर्लज्जता एवं अमंगलको प्रतीकको रूपमा प्रकट हुने हुन् कि भनेर डर मान्नुपर्ने अवस्था छ। नेपाली कांग्रेसले काँधमा रहेको उदारवाद र लोकतन्त्रको विपुल अभिभाराको भारीलाई गन्तव्यमा नपुर्‍याइकनै बिसाउने हो कि भन्ने त्रास छ। सर्वोपरि चिन्ता कांग्रेस विचार नै नमिल्ने राजनीतिक शक्तिहरूसँगको गठबन्धनमा निरन्तर भुलिरहने हो कि ? भन्ने छ। नेपाली राजनीतिले जनता नै जनार्दन हुन् भन्ने बुझ्नै चाहेन। जनार्दन नमाने तापनि कमसेकम ‘ग्राहक’ मानेरै शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारीको सम्यक व्यवस्था गर्न सकेको भए सन्तोष मान्ने ठाउँ हुन्थ्यो। परन्तु यिनीहरूले त जनता जनार्दनलाई रैती जत्तिको पनि राख्न सकेनन्।

नेताहरू आफूले उर्दी गरेको स्थानमा बेरोजगारलाई जम्मा गरेर अर्को पक्षलाई ललकार्छन्, ‘यी हेर ! हाम्रो शक्ति।’ अनि भीडले तुमुल ध्वनिमा ताली ठोकेर उल्का गर्छ। आज राजनीतिले सत्य, शौच, कर्तव्य, अनुशासन, लज्जा र मर्यादालाई तिलाञ्जली दिइसक्यो। जे जसरी हुन्छ सत्तामा गयो, सत्ता टिकाउने चालबाजी गर्‍यो। न देशको चिन्ता रह्यो, न त सुर्ता नै। न कुनै राजनीतिक कुशाग्रता न सार्वजनिक आकर्षण न त 
बदनामीको पीर। यो समग्र परिस्थितिलाई मनन् कांग्रेसको रूपान्तरण ‘भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला’को किस्सामा सीमित हुने हो कि ? 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.