सोलुखुम्बुमा सुन्तला उत्पादन बढ्यो
सोलुखुम्बु : सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन तीन मेट्रिकटनले वृद्धि भएको छ। गत वर्ष ४२ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष ४५ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखु्रम्बुले जनाएको छ।
जिल्लामा सुन्तला खेती हुने १२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी कुलबहादुर राईले बताए। उनले भने,‘१२ हेक्टर क्षेत्रफलमध्ये ७ हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिंदै छ। अघिल्लो वर्ष त ६ हेक्टरमा लगाइएको विरुवाले मात्रै उत्पादन दिएको थियो। त्यही भएर पनि उत्पादन कम भयो। यस वर्ष उत्पादन हुने विरुवाको संख्या बढेको छ।’
पछिल्लो समय गाउँघरमा कृषिमा लागेका युवापुस्ताले अन्य खेतीभन्दा पनि सुन्तला, किवी लगायतका विरुवा लगाउनमा बढी केन्द्रित हुन थालेको माप्यपदुधकोशी गाउँपालिका काँकुकी पवित्रा थुलुङले बताइन्। उनले भनिन्,‘फलफूल खेतीबाट कम मेहनतमा बढी आम्दानी हुने भएकाले कृषक लागिपरेका हुन्, पहिला परम्परागत हिसाबले खेती हुन्थ्यो त्यो बेला खासै धेरै उत्पादन हुँदैन थियो। पछिल्लो समय आधुनिक तवरबाट खेती गर्न थालेपछि उत्पादन बढ्यो र आम्दानी पनि बढेसँगै गाउँमा सुन्तला खेती विस्तार गर्नेको लहर नै चलेको छ।’
जिल्लाको थुलुङ दुधकोशी, नेचासल्यान, माप्यदुधकोशी, सोताङ, महाकुलुङ लगायतका क्षेत्रमा सुन्तला खेती हुने गरेको छ। यहाँको सुन्तला स्वादिलो र रसिलो हुने भएकाले कोसेलीको रुपमा प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौं लगायतका क्षेत्रमा निर्यात हुने गरेको ज्ञान केन्द्रले जनाएको छ।