‘वसन्त गीत’ कालीकर्नालीको लोकमन्त्र

‘वसन्त गीत’ कालीकर्नालीको लोकमन्त्र

जातीय एकता, मेलमिलाप, पारस्परिक सहयोग र समझदारीको प्रतीक बनेर प्रसार हुने वसन्त गीत पुस्तौदेखि कालीकर्नाली क्षेत्रमा लोकप्रिय बन्दै आएको छ।


वसन्त पञ्चमी गीत गाएर र जौका पात घरका दैलामा राखेर वसन्तको आगमनमा शुभकामना आदानप्रदान गरेर दमाईंहरूले मौलिक चाडको रूपमा मनाउँदै आएका छन्।

वसन्त पञ्चमी नेपाली समाजमा सबैले मनाउने गरेका छौं। विशेषगरी कालीकर्नाली क्षेत्रको महŒवपूर्ण चाड हो। वसन्त अर्थात् श्रीपञ्चमीका अवसरमा गाइने विशेष गीतमा पाइने प्रतीकात्मकतामाथि विमर्श गरिएको पाइन्छ। यस भूभागमा रुडाभाडा अर्थात् वसन्त र ग्रीष्म, चौमास अर्थात् वर्षा र शरद् ह्युन अर्थात् हेमन्त र शिशिर गरी वर्षमा तीन ऋतु आउँछ भनी विश्वास गरिन्छ। वसन्त पञ्चमी ऋतुरूपी नयाँ वर्षको थालनी हुने पहिलो दिन मानिन्छ। त्यसैले विशेष उत्सवका रूपमा मानिन्छ।

वसन्त गीत–रागका सर्जक
माघ शुक्लपञ्चमीका दिन अन्य जातका परिवारको मुख्यद्वारमा जौका हरिया पात वसन्त ऋतुको प्रसादको रूपमा चढाउँदै दमाहा बजाएर ढोली (दमाईं) जातिका पुरुषद्वारा वसन्त गीत गाइन्छ। यो गीत ढोली जातिले मात्र वसन्त ऋतुको दिन मात्र गाइने भएकाले यसलाई जातीय र ऋतु गीतको रूपमा बुझिन्छ। शास्त्रीय वसन्त रागसित मिल्दोजुल्दो यो रागात्मक लयमा दमाहा बजाएर प्रकट गरिने विशेष मंगल धुनका साथ प्रस्तुत गरिन्छ। तसर्थ यसलाई वादन र गायनको समन्वय भएको गीतको रूपमा चिनिन्छ।

यो ऋतुक्रमको नयाँवर्ष मानिने वसन्त आगमनको पर्व श्रीपञ्चमी अर्थात् माघ शुक्लपञ्चमीका दिन गाइने गीत हो। ऋतु र पर्वको नामबाट यसको नाम राखिएको हो। यसलाई सिरी पञ्चमीको गीत अर्थात् श्रीपञ्चमीको गीत भनिन्छ। शास्त्रीय वसन्त रागको प्रभावबाट वा वसन्त पञ्चमीको पर्वोत्सवको परम्पराबाट यस गीतको थालनी भएको हुनुपर्छ। जसलाई कालीकर्नाली क्षेत्रको लोकमन्त्र मानिन्छ। जडीबुटी औषधीय विज्ञानमा जौलाई विशिष्ट खाद्यवस्तुको रूपमा लिइन्छ।

जौको पातको जुसमा दूधमा भन्दा ११ गुणा बढी क्याल्सियम पाइन्छ। दमाईंले वसन्त राग बजाउनु संस्कृतिको निरन्तरता हो भने जौका पात घरका दैलादैलामा राखेर खुसीयाली मनाउनु प्रकृतिको पूजा र उपासना हो। यस प्रसंगबाट प्राचीन समयदेखि नै रैथाने दमार्इं जाति प्रकृतिपूजक थिए भन्ने पुष्टि हुन्छ। दैलोमा जौका पात चढाउनु भनेको घरको शोभा बढाउनु, घरको सामान्य स्थितिको परिचय दिनु, घरमा शकुन 
रहेको कुरा बुझाउनु हो। यस्तै, सांस्कृतिक परम्पराको अनुसरण गर्नु, घरका सदस्यहरूप्रति श्रद्धा एवं सम्मान व्यक्त गर्नु र वसन्त ऋतु आएको शुभ सन्देश प्रवाह गर्नु हो।

वसन्त गीत–रागका प्राकृतिक चित्रण
जाडो गई नसकेको र गर्मी आइनसकेको समशीतोष्ण तापक्रमका समयमा वसन्त पर्व पर्छ। सबै ऋतुमा श्रेष्ठ मानिन्छ वसन्त ऋतु। जतिबेला शिशिरमा पात झरेका वृक्ष वनस्पतिमा पालुवा आउन थालेको हुन्छ। प्राणी जगत्मा नौलो उत्साहको सञ्चार हुन थाल्छ। परिवेश रमणीय बन्दै गएको अवस्था यस बखत देखिन्छ। बर्खे बालीदेखि लागू हुने लेनदेन, भोगबन्धकी, घिउ खानी, धान ब्याज, थैली हाल्नेजस्ता कारोबार गर्ने शुभदिनका रूपमा पनि यस अवसरलाई लिइन्छ।

ऋतुहरूको गणनामा पहिलो क्रममा आउने वसन्तरूपी नयाँ वर्षको थालनीको दिन मानेर जौका पात छिमेकी र आफ्नो समुदायको घरका दैलामा चढाइन्छ। त्यसपछि वसन्त गीत गाएर शुभकामना दिने काम हुन्छ। सोबापत तिनीहरूबाट भुजाइँ अर्थात् अन्न, पैसा, लुगा कपडाजस्ता पारिश्रमिक दिइन्छ। तिनले यो पाउनु अर्थ व्यवस्थाभित्र पर्ने कुरा हो। यस दिन चेलीबेटी, गुरु पुरोहित, नातागोता, सहयोगीलाई दक्षिण वा उपहार दिने चलन छ।

दमाईं नेपाली संस्कृतिका धरोहर
ढोली वा दमाईं भनेको बाजा बजाउने, गीत गाउने र लुगा सिउने काम गरी समाजको सेवा गर्ने जाति हो। स्मरण रहोस्, रैथाने दमाईं जात होइन, सबै किसिमको सांस्कृतिक पहिचानले भरिपूर्ण समृद्धशाली छुट्टै विशिष्ट जाति हो। ढोल बजाउने भएकाले यसलाई ढोली भनिएको हो तापनि यस जातिले ढोलका साथै दमाहा, ट्याम्को, नरसिंगा, ताल, झ्यालीलगायत पञ्चैबाजा पनि बजाउँछन्। दमाहा बजाउने भएकाले दमाईं, नगरा बजाउने भएकाले नगर्ची, तुरही बजाउने भएकाले तुरी, हुड्को बजाउने भएकाले हुड्के, नाद वा आवाज अर्थात् गायनकला अपनाउने भएकाले आउजी, शिल्पकलाको संवाहक भएकाले कलाउँत, लुगा सिउने काम गर्ने भएकाले दर्जीजस्ता विविध नामबाट यस जातिले चर्चा पाउँदै आएको छ।

दरदी राजवंशको खलक भएकाले दरदीबाट दरजी हुँदै दर्जी नामकरण कायम भएको हो। दमाईं काम र कर्म विशेषले परिचित सयौं फरकफरक नामको एउटै जाति हो। प्रत्येक पूजाआजा, जात, विवाह, व्रतबन्धमा बजाउनुपर्ने शुभमंगल धुन ढोलीहरूले नै बजाउने गर्छन् (पन्त, २०६६)। कलाको संवाहक, गाउन, बजाउन, लुगा सिउन, विनम्र भई व्यवहार गर्न जान्ने अर्थात् विविध शिल्पकौशलले पोख्त ढोलीको चाडका रूपमा यो पर्व चर्चित हुनु भनेको कला तथा सीपकै उपासना र अर्चना गर्नु हो। यस दिन ढोलीहरूले गाउने वसन्त गीत प्रकृति र ज्ञानकै पूजाको प्रतीक हो। नयाँ ज्ञान, इलम, सीप र विद्या सिक्न उत्तम साइतको अवसर मानिने हुनाले यसदिन त्यस प्रकृतिका काम गुरु थापेर वा नथापेरै सुरु गर्ने चलन छ। जातीय एकता, मेलमिलाप, पारस्परिक सहयोग र समझदारीको प्रतीक बनेर प्रसार हुने वसन्त गीत पुस्तौदेखि कालीकर्नाली क्षेत्रमा लोकप्रिय बन्दै आएको छ।

वसन्त राग गाउने चलन रहे÷नरहे पनि वसन्त गीत र त्यसमा पाइने संगीतले लामो समयदेखि चलिआएको स्थानीय पहिचान भने कायम छ। ऋतुहरूको थालनी अर्थात् वसन्त आगमनको अवसरमा नयाँ कामको थालनी गर्ने गरिन्छ। वसन्तको राजा वसन्त ऋतुलाई गीत गाएर ढोलीहरूले स्वागत गरेर चाडकै रूपमा मनाउँदै आएका छन्। चाडपर्व, संस्कार, संस्कृति, परम्परा मानवजीवनका अभिन्न कुरा हुन्, जो मानव सभ्यताको विकास भएबाटै सुरु भएको हो।

समीक्ष्य क्षेत्रको लोकजीवनमा धार्मिक भावनाको अभिवृद्धिलाई विशेष जोड दिएर दुःखलाई कम गराउने र सुखलाई उक्साउने काम यस पर्वको क्रियाकलापबाट भएको देखिन्छ। जसले व्यक्त गर्ने संकेतको अर्थ सबैले बुझेका हुँदैनन्। तर पनि पुर्खाले चलाएको चलन भन्दै तिनको अनुसरण गर्छन्। जातीय एकता, मेलमिलाप, पारम्परिक सहयोग र समझदारीको प्रतीक बनेर प्रस्तुत गरिने वसन्त गीत पुस्तौंदेखि कालीकर्नाली र डोटेली समाजमा लोकप्रिय बन्दै आएको छ। पछिल्ला दिनमा आफ्नो छुट्टै मौलिक संस्कृति र पहिचान बोकेको दमार्इं जातिको प्रमुख चाड लोप हुने अवस्था उत्पन्न भएको छ (नेपाली लोकवार्ता, २०७५)।

वसन्त पञ्चमी यसरी मनाऔं

वसन्त पञ्चमी गीत गाएर र जौका पात घरका दैलामा राखेर वसन्तको आगमनमा शुभकामना आदानप्रदान गरेर दमाईंहरूले मौलिक चाडको रूपमा मनाउँदै आएका छन्। यो सत्यतथ्य कुराको पुष्टि माथि उल्लेख गरिसकिएको छ। यहाँ स्मरणीय के छ भने यो चाड विगतमा जातीय भेदभाव, तिरष्कार, अपमान, उचनीच र छुवाछूत लाद्नु अगाडि दमाईं जातिले मनाउने गौरवशाली चाडको रूपमा मनाइन्थ्यो भन्ने बुझिन्छ। सम्भवतः उनीहरूले आफ्नो जातीय घरपरिवारमा मात्रै भव्यरूपमा मनाउँथे। वसन्त गीत गाउँथे, जौका पात दैलोदैलोमा राख्थे। वसन्त चाडको शुभकामना 
साटासाट गर्थे होलान्।

वर्तमान दमाईं वंशजहरूले तेर्मार्णो नमागिकनै पुर्खाको परम्परा यस राष्ट्रिय चाडलाई आफ्नै तरिकाले मनाउनु सान्दर्भिक हुन्छ। आआफ्नै घरमा जौका जमरा उमार्ने, वसन्त पञ्चमीको दिन दैलोदैलोमा जौका पात राख्ने, वसन्त आगमन र नयाँवर्षको खुसीयालीमा शुभकामना आदानप्रदान गर्ने काम निरन्तर गर्नुपर्छ। गीत गाउने, नाच्ने, आफन्तलाई बोलाउने, मिठोमसिनो खाने, दक्षिण दिने, सुखशान्तिको कामना गर्ने र अरू समुदायलाई शुभकामना दिने आदि गरिरहनु पर्छ। यस्ता क्रियाकलाप गरेर समयानुकूल परिष्कृत र परिमार्जित रूपमा जातीय मौलिक चाडलाई निरन्तरता दिन सकिन्छ। यसले जातीय स्वाभिमान, आत्मसम्मान पनि बढाउँछ। प्राचीन इतिहास हेर्दा शिल्पी समुदायको मौलिक संस्कार, संस्कृति, सम्पदा, सभ्यता, रीतिरिवाज, पहिचान र परम्पराहरू जातीय विभेदसँगै लोप भएका छन्। त्यसैले यसलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.