निदाउन नदिने एउटा सपना

निदाउन नदिने एउटा सपना

आँखा कमजोर छ। कानले सुन्न छोड्यो। कालो कपाल सेतै भइसक्यो। अनुहारमा चाउरीले वृद्धको चिनारी बनाइदियो। तर, ९२ वर्षीय भिक्षु कृष्णमानको लुम्बिनी बृहत् परिक्रमा पथको सपनाले रातको निद्रा बिथोलिरहेछ। उनकै सपनाले उनलाई निदाउनै दिएको छैन। सायद उनकै लागि भारतका राष्ट्रपति अब्दुल कलामले भनेका थिए, ‘सपने तो वह होते है, जो आपको सोने नहीं देते।’ कृष्णमानले ११ वर्षअघि लुम्बिनी विकास कोषलाई परिक्रमाको योजना दिए। योजनालाई सबैले राम्रो भने तर कोषले कार्यान्वयनमा चासो दिएन। सोही योजना कोषको दराजमा अलपत्र छ। वृद्ध उमेरमा पनि कृष्णमान भने सपना साकार पार्न हरसम्भव प्रयासरत छन्।

भगवान् बुद्धको पवित्र जन्मस्थल हो, लुम्बिनी। विश्वले नेपाललाई चिन्ने तीनवटा आधार सगरमाथाको देश, लुम्बिनीको देश र पशुपतिनाथको देश। बुद्धको उपदेशका अनुयायी प्रशस्त छन्। पावनभूमि लुम्बिनी संसारभरका बौद्धमार्गी तथा शान्तिप्रेमीका लागि शान्तिको मुहानका रूपमा प्रसिद्ध छ। सन् १९९७ मा यो स्थानले विश्व सम्पदामा सूचीको समावेश हुने अवसर पायो। लुम्बिनी ११ सय ५५ बिघा क्षेत्रफलमा फैलिएको छ। यसको पैदल परिक्रमा गर्नुपर्ने अवधारणा काठमाडौंस्थित क्षेत्रपाटी निवासी भिक्षु कृष्णमानले दशकअघि नै अघि ल्याए। अवधारणामा होलीजोन (पवित्रस्थल) र मोनास्टिक जोन (विभिन्न देशले बनाएको गुम्बा) लाई परिक्रमा पथले घेर्नेछ। यस आधारमा लुम्बिनी बृहत् परिक्रमणको आवधारणा तयार पारिएको हो।

‘परिक्रमा पथमाथि सोलार प्यानलले घेर्ने अनि त्यहाँबाट आएको ऊर्जाले पथलाई  वातावरण अनुकूलित बनाउँछ’, कृष्णमान भन्छन्, ‘राति झलमल उज्यालो पार्छ। ठाउँठाउँमा विश्रामस्थल हुन्छ। हिँड्न सक्ने तीर्थालु हिँड्छन्। वृद्धवृद्धाका लागि चेयरकार बनाइनेछ। उक्त कार सोलार प्यानलको ऊर्जाले गुड्छ।’ चार स्थानमा बेन्च र शौचालयको सुविधा हुनेछ। पथका किनारमा जुस पिउन पाउने व्यवस्था पनि हुन्छ।’ परिक्रमा पथको किनारमा पानीको फोहोरा हुन्छ। सँगै फूलको लहरा पनि। पानीले शीतलता दिन्छ भने फूलले मगमग वासना। योसँगै भित्तामा हुनेछ लुम्बिनीको इतिहास। झल्किनेछ सांस्कृतिक कला पनि त्यहाँ। शिलालेखमा पढ्न पाइनेछ पौराणिक कथा। जहाँबाट तीर्थयात्रीले समग्र लुम्बिनीबारे जान्ने मौका पाउनेछन्। यहाँ पाइला टेक्दा मात्रै शान्तिको अनुभूति हुन्छ। तीर्थयात्रीले शान्त र आध्यात्मिक वातावरण पाउनेछन्।

परिक्रमा पथको दूरी करिब ११ किलोमिटरकोे हुनेछ। पैदल हिँडेर ६–८ घण्टामा लुम्बिनीलाई एक फन्को लगाउन सकिन्छ। पदयात्रा गर्दै तीर्थयात्रीले एकै पटकभित्रका मठमन्दिर र गुम्बाप्रति श्रद्धाभाव समर्पित गरिसकेका हुन्छन्। ‘अहिले भक्तजन बिहानै आएर साँझ फर्किन्छन्। परिक्रमाको नियम लागू गर्न सक्यो भने  पर्यटकको बसाइ दुई÷तीन दिन लम्बिन सक्छ’, कृष्णमान भन्छन्, ‘व्यापार व्यवसाय फस्टाउँछ। स्थानीयले आर्थिक लाभ पाउँछन्।’ लुम्बिनी बृहत्तर परिक्रमाले विश्वसामु नेपालको छवि गर्विलोे बन्ने उनको बुझाइ छ। यसले लुम्बिनीसँगै नेपालको छवि तेजस्वी र अझै ओजिलो बन्ने उनी बताउँछन्। लुम्बिनीमा प्रत्येक वर्ष १२ लाख स्वदेशी र ४ लाख विदेशी पर्यटक घुम्न आउँछन्।

आदर्श नारी सीताको जन्मभूमि जनकपुरधाममा माध्यमिक परिक्रमाको चलन छ। जहाँ तीर्थालुले १ सय ३३ किलोमिटरको दूरी नाङ्गो खुट्टामै पार गर्छन्। प्रत्येक फागुनमा १५ दिनसम्म यो परिक्रमा चल्छ। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा परिक्रमाको अवधारणा लागू गर्न सकियो भने यहाँको महत्व झनै बढेर जानेछ। मानसरोवर कैलाश पर्वतको पनि परिक्रमा गर्ने चलन छ। यसैको परिवेशमा भिक्षु कृष्णमानले लुम्बिनी बृहत्तर परिक्रमाको अवधारणा विकास गरेका हुन्।

भिक्षु कृष्णमानको ९२ वर्षे जीवनमा सबैभन्दा ठूलो सपना हो, लुम्बिनी बृहत्तार परिक्रमा। उनी आफ्नै जीवनमा विश्वका पर्यटक परिक्रमा गरेको देख्न चाहन्छन्।

सबै धर्मावलम्बीले आफ्नो धर्मअनुसार परिक्रमालाई स्वीकार गरेको पाइन्छ। तिब्बेतियनमा ‘कोरा’, संस्कृतमा ‘परिक्रमा’, नेवारीमा ‘गचाहिलिगु’, जेन बुद्धिज्ममा ‘वाकिङ मेडिटेसन’ नामले पुकार्ने गरिन्छ। आध्यात्मिक सुख र शान्तिका लागि हिन्दू धर्मावलम्बीले मठमन्दिरको परिक्रमा गर्छन्। बौद्ध अनुयायी भने प्रार्थना माला जपी चैत्य गुम्बा वरिपरि प्रेयरह्विल घुमाउँदै परिक्रमा गर्छन्। २०६७ सालमा बुद्ध जन्मस्थललाई कसरी बृहत् रूपमा विकास गर्न सकिन्छ भन्ने विषयमा  काठमाडौंमा बहस भयो। लुम्बिनी विकास कोषले राखेको अन्तरसंवाद सर्वधर्म शान्ति समाजका अध्यक्ष भिक्षु कृष्णमानले लुम्बिनी बृहत्तर परिक्रमाको आवधारणा प्रस्तुत गरेका थिए।

तत्कालीन संस्कृतिमन्त्री डा.मीनेन्द्र रिजालले कृष्णमानको अवधारणा बहुतै राम्रो भनेपछि २०६७ मै कोष परिषद्को बैठकले अवधारणा स्वीकृत ग¥यो। परिक्रमा पथको विस्तृत डिजाइन र इस्टिमेट पेस गर्न कोषका तत्कालीन सदस्यसचिव राजेन्द्र थापामगरले कृष्णमानलाई २०६७ जेठ २१ मा पत्र पठाए। २०६८ फागुनमा लुम्बिनी तीर्थस्थलको भ्रमणसहित इन्जिनियर सीबी श्रेष्ठद्वारा परिक्रमा पथको अवधारणालाई पुष्टि गर्दै अनुमानित लागत इस्टिमेट तयार पारे। कृष्णमानले कोषलाई सबै कागजपत्र बुझाए। अवधारणापत्र बुझाएको एक दशक भयो। तर, कार्यान्वयनमा अझै आएको छैन।

‘लुम्बिनी विकास कोषले परिक्रमा पथमा चासो दिएन। ताकेता गर्दा हुन्छ गर्छु, हुन्छ गर्छु भन्छ’, कृष्णमान भन्छन्, ‘कोषले डीपीआर बनाइदिएन।’ उनले  कोषलाई २०७१ साउन २१ मा योजना कार्यान्वयनका लागि पत्र लेखेर ताकेता गरे। त्यसयता कयौं पटक फोन गरे। कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार भिक्षु कृष्णमानले बृहत्तर परिक्रमा पथबारे प्रारम्भिक अवधारणा पत्र पेस गरेका हुन्। ‘परिक्रमा पथको योजना पूरा गर्न ३–४ अर्ब बजेट खर्च हुन्छ’, शाक्य भन्छन्, ‘उहाँको प्रस्ताव त राम्रो हो तर बजेट कहाँबाट ल्याउने ?’ गुरुयोजना पूरा गर्न अझै ७–८ अर्ब लाग्छ। परिक्रमा पथ गुरुयोजनाभन्दा बाहिरको योजना रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘११–१२ करोड त यो योजनाको डीपीआर बनाउनै खर्च लाग्छ। बजेट कसले दिन्छ टुंगो छैन।’

प्राध्यापक केन्जो टांगोले लुम्बिनी गुरुयोजना बनाएका थिए। सन् १९७८ मा सरकार तथा संयुक्त राष्ट्रसंघले पारित गरेको थियो। कृष्णमानको ९२ वर्षे जीवनमा सबैभन्दा ठूलो सपना हो, लुम्बिनी बृहत्तर परिक्रमा। उनी आफ्नै जीवनमा विश्वका पर्यटकले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिक्रमा गरेको देख्न चाहन्छन्। भन्छन्, ‘लुम्बिनी बृहत्तर परिक्रमा जीवनकोे ठूलो सपना हो। अब म अन्तिम अवस्था छु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.