ज्येष्ठ नागरिकको सेवामा थापा
फिदिम : एउटा बेसहारा मानिसका लागि तपाईं कति दिन सहारा बन्न सक्नुहुन्छ ? एक दिन ? एक हप्ता ? महिना या वर्ष दिन ? बदलिँदो जीवनशैलीका कारण आफ्नै आमाबुवालाई समेत समय दिन नसक्ने पछिल्लो पुस्ताका मानिसले सायद एक दिन समय निकाल्नै हम्मे पर्ला।
धेरै मानिसले बेसहाराहरूलाई घृणा गर्छन्। तर, केही यस्ता व्यक्तिहरू छन्, जो सहाराबिहीनको सहारा बनेर जीवन व्यतित गरिरहेका हुन्छन्। पाँचथरको फिदिम नगरपालिका–१ की ६१ वर्षीया राधिका थापा वर्षौंदेखि बेसहारा वृद्धवृद्धाको सहारा बनेकी छन्। उनको दैनिकी बूढापाकाको हेरचाहमा बित्छ। राधिकालाई भौतिक सम्पत्ति जोड्नु छैन। आफ्नै बुवाजस्तै देखिने वृद्धहरूको स्याहार गर्न पाउँदा उनलाई सुखानुभूति हुन्छ।
राधिकाले फिदिम– २ मा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गरेकी छन्। २०७० सालमा स्थापना गरेको उक्त आश्रममा अहिले १२ जना वृद्धवृद्धा छन्। ‘सुरुमा पाँच जना आमाबुवालाई राखेर आश्रमको उद्घाटन गरेकी हुँ,’ राधिका भन्छिन्, ‘यही आश्रममा मैले दर्जनौं बुवाआमालाई हेरचार गरिसकें।’
जीवनमरणको दोसाँधमा छटपटिँदै अलपत्र परेका वृद्धवृद्धाले आश्रममा पुगेपछि नयाँ जीवन पाएका छन्।
राधिकाले २०६८ साउन १० गते ‘सिद्धपोखरी सेवा सदन’ नामक संस्था दर्ता गरिन्। उक्त संस्थाको नाममा फिदिममा तीन रोपनी जमिन खरिद गरिन्। त्यहीँ वृद्धाश्रम निर्माण गरेर राधिकाले ज्येष्ठ नागरिक आश्रम सञ्चालन गरेकी हुन्। ‘व्यक्तिगत लागानीबाट आश्रम सञ्चालनमा ल्याएकी थिएँ,’ उनी भन्छिन्, ‘अहिले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसहित विभिन्न निकायबाट आश्रम व्यवस्थापनका लागि सहयोग प्राप्त भइरहेको छ।’
आश्रममा बस्नलाई नागरिकता चाहिँदैन। सिफारिस पनि ल्याउनु पर्दैन। सडकमा अलपत्र परेका, फालिएका, हेपिएका र आफन्तको पहिचान नभएका वृद्धवृद्धालाई आश्रय दिने गरिएको छ। बेसहारा वृद्धवृद्धालाई आश्रममा ल्याएर उनीहरूको हेरचारमा राधिका खटिरहन्छिन्। जीवनमरणको दोसाँधमा छटपटिँदै अलपत्र परेका वृद्धवृद्धाले आश्रममा पुगेपछि नयाँ जीवन पाएका छन्। आश्रममा अहिले चार वृद्धा र आठ वृद्ध छन्।
आठ वर्षको अवधिमा आश्रममा बस्दै आएका नौ जनाको मृत्यु भइसक्यो। तीन जनाको शवलाई राधिका आफैंले सतगद् गरिन्। ६ जनाको शव आफन्तले बुझे। उनी भन्छिन् ‘शव बुझ्न आफन्त नआएपछि तीन जनालाई मैले नै दागबत्ती दिएकी छु।’ उनले भनिन्, ‘बाटोमा बूढापाकालार्ई देखेँ भने मेरै बुवा जस्तै लाग्छ,’ राधिका भन्छिन्, ‘सहाराबिहीन बूढाबूढीहरूलाई हेरचाह गरेर आठ वर्ष बिताएँ।’
बुवा बेपत्ता भएपछि वृद्धवृद्धाको सेवा गर्ने सोच
तेह्रथुमको आठराईस्थित ह्वाकुमा एक प्रतिष्ठित परिवारमा जन्मिएकी राधिकालाई बुवा बेपत्ता भएको पीडाले पिरोलिरहन्छ। उनका बुवा अमरबहादुर डाँगी २०४८ सालदेखि बेपत्ता छन्। डाँगी तत्कालीन ह्वाकु गाँउ पञ्चायतका प्रधानपञ्च थिए। जग्गा, जमिन र सम्पत्ति छोराछोरीको नाममा सुम्पिएपछि बुवा बेपत्ता भएको उनी बताउँछिन्।
अहिलेसम्म उनको बुवाको टुंगो लागेको छैन। ‘बुवा बेपत्ता भएपछि मलाई धेरै पीडा भयो,’ उनी भन्छिन् ‘पीडाले आश्रम सञ्चालन गर्ने प्रेरणा दियो।’ राधिकाको परिवारले अहिलेसम्म उनका बुवालाई भेटाउन सकेन। ‘मेरो बुवा पनि बेसहारा हुनुभएको होला !,’ उनले भनिन्, ‘बूढो अनुहार देख्दा बुवाको झल्को आउँछ।’
बुवा बेपत्ता भएपछि पीडाले तड्पिएकी राधिकाले तराई झरेर जग्गाको कारोबार थालिन्। त्यहाँको आम्दानीले उनले झापाको चन्द्रगढी, दमक र इटहरीमा जग्गा जोडिन्। उक्त जग्गा बेचेर हात परेको रुपैयाँ बोकेर उनी देशभरका आश्रम डुल्न थालिन्। जग्गा बेचेको पैसाले नै आश्रम सुरु गरेको उनले बताइन्।