प्रचण्डका दुई जिब्रा
प्रचण्ड सत्तामोहमा डुब्दै गए । त्यसका खातिर उही कुरा कहिले ठीक, कहिले बेठीक भन्न थाले ।
दश वर्षे सशस्त्र युद्ध त्यागेपछि माओवादी अध्यक्ष प्रचण्डको घोषणा थियो–‘गान्धी बन्ने र गणेशमान हुने।’ छिमेकी भारतका महात्मा गान्धी र नेपालका गणेशमान राजनीतिका आदर्श पात्रका रूपमा चिनिन्छन्। उनै, दुई आदर्श र सम्मानित पात्रको नाम प्रचण्डको मुखबाट आएपछि धेरैको अनुमान थियो, अब प्रचण्डमा पदप्रतिको लोभलालच सकियो। सत्यको बाटोमा हिँड्न खोजे। प्रचण्डमा बाँकी छ त, अब केबल ‘त्याग’। तर, प्रचण्ड सत्तामोहमा डुब्दै गए। त्यसका खातिर उही कुरालाई कहिले ठीक भन्न थाले, प्रतिकूल लागे बेठीक। त्यसको पछिल्लो उदाहरण हो अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र। सस्तो लोकप्रियताको लोभमा यता त्यसैलाई राष्ट्रघाती भन्ने दाहालले एमसीसीमा भने संसद्मा चाँडो प्रक्रिया सुरु गर्न सभामुखलाई भनेको लेखेका छन्।
समय र घटनाक्रमलाई आफू अनुकूल चाँडै व्याख्या गर्न सक्ने ‘अदभुत’ क्षमता भएका प्रचण्डले ‘देशी–विदेशी प्रतिक्रियावादीहरू’ माओवादीलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन्। र, एक प्रकारले आफ्नो गल्ती ढाकछोप गर्न खोजेका छन्। प्रचण्डका दुईजिब्रे नीतिका केही उदाहरण :
एमसीसीलाई पत्र, देशलाई भ्रममा
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी ) सँगको सम्झौताका विषयमा माओवादी अध्यक्ष प्रचण्डले ‘दोहोरो भूमिका’ खेलेका छन्। प्रधानमन्त्री देउवासँग मिलेर प्रचण्डले एमसीसी पारित गर्न समय माग गरेको पत्र पठाएका थिए। तर, आफ्ना भाषण, दस्तावेज र प्रशिक्षणमा भने एमसीसी राष्ट्रघाती भन्दै कार्यकर्तालाई उचाल्थे। प्रचण्डको भाषणबाट उत्साहित कार्यकर्ताले गाउँ टोलसम्मै एमसीसीविरुद्ध जनमत निर्माणमा जुटेका थिए।
तर, एमसीसी सम्झौता पारित गर्न प्रचण्डले पठाएको पत्र नै सार्वजनिक भएपछि उनी, ‘देशी–विदेशी प्रतिक्रियावादीहरू’ माओवादी आन्दोलन समाप्त गर्न लागेको भन्दै कार्यकर्तामाझ अर्को भ्रम फैलाउन थालेका छन्। तर, मुलुकको कूटनीतिक क्षेत्र र अन्तर्राष्ट्रिय मामिलामा प्रत्यक्ष प्रभाव पार्ने प्रचण्डको यो चरित्रले देशलाई नै घाटा हुने विज्ञहरूले बताउन थालेका छन्। कूटनीतिक र अन्तर्राष्ट्रिय मामिलामा प्रष्ट धारणा र प्रतिबद्धता कार्यान्वयनमा जुट्नुपर्ने विज्ञहरूको भनाइ छ।
त्यसो त तत्कालीन नेकपामा विवाद भइरहेका बेला ०७७ माघमा भएको पार्टीको सडक विरोध कार्यक्रममा प्रचण्डले देखाएको व्यवहारले धेरैले शंका गरेका थिए। त्यस दिन एमसीसीविरुद्ध कार्यकर्ताले नारावाजी गर्दा प्रचण्डले हात तल गरेका थिए। एमसीसीविरुद्ध नारावाजी नगर्न निर्देशन दिएका थिए। त्यसयता पनि प्रचण्डले परिमार्जन बिना यथास्थितिमा एमसीसी पारित हुन नसक्ने धारणा बैठक, सभा सम्मेलनमा व्यक्त गर्दै आएका थिए। तर, भित्रभित्रै एमसीसी पारित गर्न समय माग गरिसकेको पत्र हालै मात्र सार्वजनिक भएको छ।
मुख गिरिजाप्रसादलाई, उम्मेदवार रामराजा
२०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो। प्रधानमन्त्री थिए, गिरिजाप्रसाद कोइराला। चुनावको दुई दिनअघि कांग्रेसका केही नेताहरूले गिरिजाप्रसादलाई चुनाव रोक्न आग्रह गरे। माओवादीले ‘बुथ कब्जा’ गर्ने सूचना पाएकाले आफूहरू चुनाव रोक्न आग्रह गर्न गिरिजाप्रसाद कोइरालासँग त्यस दिन पुगेको कांग्रेसका एक नेताले बताए। तर, गिरिजाप्रसादले ‘कांग्रेसले चुनाव हारेर केही हुँदैन, देशले हार्नुहुँदैन’, भन्दै उल्टै कांग्रेसका ती नेताहरूलाई हप्काएका थिए। गिरिजाप्रसाद अडिग रहेका कारण देशमा पहिलोपटक संविधानसभा निर्वाचन भयो। गिरिजाप्रसादलाई आफू राष्ट्रपति बन्ने इच्छा थियो र प्रचण्डको साथ पाउने विश्वास पनि थियो। तर, संविधानसभामा पहिलो पार्टी बनेपछि माओवादीले गिरिजाप्रसादलाई राष्ट्रपतिमा ‘धोका’ दियो। त्यही विन्दुबाट पुराना संसदीय दल कांग्रेस–एमाले एकातिर, माओवादी अर्को कित्तामा उभिने स्थिति बन्यो। प्रचण्डले त्यस बेला गिरिजाप्रसादलाई राष्ट्रपति नबनाउनु आफ्नो गल्ती भएको पनि स्वीकार गर्दै आएका छन्। गिरिजाप्रसादलाई राष्ट्रपतिमा ‘इन्कार’ गरेका प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई पनि राष्ट्रपति उम्मेदवारको प्रस्ताव गरे। संसद् सचिवालय परिसरमै आफ्नो पार्टी संसदीय दलको बैठक बस्ने र त्यस आसपास नै बैठक गर्न प्रचण्डले एमाले अध्यक्ष झलनाथ खनाललाई त्यसबेला भनेका थिए।
माओवादीको निर्णय ‘पर्खेर’ बसेका एमाले नेताहरू त्यतिबेला छक्क परे, जब रामराजाप्रसाद सिंहलाई माओवादीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्यो। प्रचण्डको ‘अनपेक्षित’ निर्णयपछि कांग्रेस र एमालेले राष्ट्रपतिका फरक–फरक उम्मेदवार खडा गरे। पछि, एमालेले कांग्रेसका डा. रामवरण यादवलाई समर्थन गर्ने निर्णय गर्यो। यादव मुलुकको पहिलो राष्ट्रपति बने। त्यसअघि संविधानसभा निर्वाचनकै क्रममा माओवादी नेताहरूले प्रचण्डलाई भावी राष्ट्रपति भन्दै प्रचार पनि गरेका थिए। तर, चुनावपछि न प्रचण्ड आफू उम्मेदवार बने, न त गिरिजाप्रसाद र माधव नेपाललाई नै समर्थन जनाए।
आज एउटासँग गठबन्धन, भोलि अर्कैसँग
संसदीय राजनीतिमा आएपछि त्यसको भरपुर प्रयोग गर्ने नेतामध्ये पर्छन् प्रचण्ड। सत्ताका लागि कहिले कांग्रेससँग त कहिले एमालेसँग गठबन्धन बनाए। कांग्रेस र एमाले मिलेको बेला साना दलको साथ लिए र छुट्टै गठबन्धन पनि बनाए। गठबन्धन बनाउन सक्ने र भत्काउनमा ‘माहिर’ नेता भनेर पनि चिनिए। ०६४ को संविधानसभाबाट पहिलो पार्टी बनेलगत्तै राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई अस्विकार गरेपछि प्रचण्डले सहकार्यका लागि एमालेसँग हात अघि बढाए। प्रचण्डको रणनीति बुझेपछि कांग्रेस सभापति गिरिजाप्रसादले पनि ‘अन्तरिम संविधानमा उल्लेख ‘सहमतीय राजनीतिक प्रणाली’ हटाएर बहुमति प्रणालीका जाने व्यवस्था’ का लागि संविधान संशोधन गर्न लगाए।
गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने निर्णय गरे। उक्त निर्णयले राजनीति तरंगित बन्यो, एमालेले सत्ता छोड्यो। प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए। कांग्रेस, एमालेको अग्रसरतामा एमाले नेता माधव नेपाल प्रधानमन्त्री बने। प्रचण्डले साना दल समेटेर गठबन्धन बनाए। ‘नेपाल नेतृत्वको सरकारलाई कठपुतली’ को संज्ञा दिँदै आन्दोलन सुरु गर्यो।
मठ मन्दिर भत्काउन लगाए। तर, पछि ग्रहदशा कटाउन भन्दै आफैंले भैंसीपूजा गरे। धार्मिक संकीणर्ताले नेपाली समाजको विकास नभएको टिप्पणी गर्ने प्रचण्ड धार्मिक कार्यमा संलग्न देखिएपछि चौतर्फी आलोचना भयो।
पहिलो संविधानसभाको २ वर्षे कार्यकाल सकिने बेला प्रचण्डले म्याद थपका लागि प्रधानमन्त्रीको राजीनामालाई शर्त बनाए। ‘एक हातमा राजीनामा, अर्को हातमा म्याद थप’को शर्तपछि नेपालले पदबाट राजीनामा दिए। संविधानसभाको एक वर्ष म्याद थपियो। त्यसपछि प्रधानमन्त्रीका लागि प्रचण्ड आफैं मैदानमा उत्रिए। कांग्रेस, एमाले र माओवादीले आआफ्ना उम्मेदवार उठाएपछि कसैको पनि बहुमत पुगेन। एमालेसँग प्रचण्डको दूरी बढेकै बेला उनले फेरि एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने निर्णय गरे।
झलनाथलाई प्रधानमन्त्री, छिमेकी ट्वाल्ल
संसद्मा १७ पटकसम्म चुनाव भए पनि कोही पनि प्रधानमन्त्री बन्ने अवस्था भएन। एमाले तटस्थ बस्यो, प्रचण्डले उम्मेदवारी फिर्ता लिए, कांग्रेसका रामचन्द्र पौडेल एकल उम्मेदवार हुँदै प्रधानमन्त्रीका लागि संघर्ष गरिरहे। तर, १७ पटकसम्म पनि प्रधानमन्त्री चयन हुने अवस्था नभएपछि चुनावी प्रक्रिया रद्द गरियो। कोही पनि तटस्थ बस्न नपाइने संसद् नियमावलीमा व्यवस्था गर्दै प्रधानमन्त्री निर्वाचनको नयाँ कोर्ष सुरु गरियो।
त्यतिबेला, देश–विदेशी शक्ति केन्द्रहरू प्रचण्डले के गर्छन् र कसलाई साथ दिन्छन् भन्ने ‘हेरिरहेका’ थिए। सरकार परिवर्तन र नयाँ बनाउन विभिन्न शक्ति केन्द्रहरू जोडघटाउ गरिरहेका बेला प्रचण्डले ‘एकाएक’ एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन जनाउने निर्णय गर्न लगाए। प्रचण्डको उक्त निर्णयले दक्षिण–पश्चिमका शक्ति केन्द्रलाई ‘आश्चर्य’ मा पारेको खुबै चर्चा चलेको थियो। त्यससँगै प्रचण्ड सत्तागठबन्धनमा जोडिए। तर, संविधान बन्न नसकी संविधानसभाको म्याद थप्ने बेला भइसकेको थियो। सात महिनामै खनालको सरकार ढल्यो। त्यसपछि माओवादी केन्द्रकै तत्कालीन नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने। ‘पार्टी र आफ्नोभन्दा पनि छिमेकीको जोडबलमा’ बाबुरामलाई प्रधानमन्त्री बनाउनुपरेको भन्ने प्रचण्डको त्यो बेलाको भनाइ निकै विवादमा परेको थियो।
सांसदलाई कुर्सी भाँच्न लगाउने, आफू सम्झौता गर्ने
दोस्रो संविधानसभामा माओवादी निकै खुम्चिएपछि कांग्रेस र एमाले संविधान बनाउन जोडतोडले लागे। सत्ता खोसिएको र जनमतबाट निकै खस्केपछि संविधान बनाउन सुरुमा माओवादी ‘इच्छुक देखिएन। त्यसै क्रममा कांग्रेस र एमालेले माओवादीलाई पेलेरै संविधान बनाउने प्रयास गरे। संविधानसभामा मर्यादापालक लगाएर संविधानका प्रावधान पारित गर्न खोजेपछि माओवादीले सभाहलमा ‘तोडफोड र आक्रमण’ गर्यो। राजनीतिक द्वन्द्वले दोस्रो संविधानसभा पनि संविधान नबनाई फेल हुने हो कि भन्ने आशंका उब्जियो। ०७२ मा महाभूकम्प गएपछि प्रचण्ड पनि संविधान बनाउन सकारात्मक बने। त्यसपछि, कांग्रेस, एमाले र माओवादीबीच संविधान बनाएरै अघि बढ्ने सहमति भयो। संविधानका अन्तरवस्तुमा विवाद भए पनि प्रक्रिया र पारित गर्न भने प्रचण्डको भूमिका महत्वपूर्ण नै थियो।
प्रधानमन्त्री देउवासँग मिलेर प्रचण्डले एमसीसी पारित गर्न समय माग गरेको पत्र पठाएका थिए। तर, आफ्ना भाषण, दस्तावेज र प्रशिक्षणमा भने एमसीसी राष्ट्रघाती भन्दै कार्यकर्तालाई उचाल्थे।
संविधान बनाउन माओवादी सकारात्मक बने पनि उ, सत्ता बाहिर नै थियो। त्यो बेला कांग्रेस र एमालेको गठबन्धन थियो। कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री थिए। संविधान जारीपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने, प्रचण्डको समर्थनमा। तर, ओलीले सत्ता साझेदारीमा पूर्वसहमति पालना नगरेको भन्दै प्रचण्ड गठबन्धनबाट बाहिरिए। प्रचण्डले कांग्रेससँग सहकार्य अघि बढाए। कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने। सत्तामा आलोपालो सहमतिअनुसार प्रचण्डले ०७४ जेठमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे।
दूतावासमा मुसुक्क, ओलीसँग सुटुक्क
०७४ साउन २८ मा काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७०औं गणतन्त्र दिवसको कार्यक्रम थियो। विदेशमन्त्री सुष्मा स्वराज मुख्य अतिथि थिइन्। प्रचण्डले कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गरेपछिको कार्यक्रम थियो, त्यो। शेरबहादुर देउवा प्रधानमन्त्रीसहित माओवादी अध्यक्ष प्रचण्ड कार्यक्रममा सहभागी थिए। कार्यक्रममा स्वराजले प्रचण्ड र देउवाबीच विश्वासको वातावरण बनेको भन्दै खुबै प्रसंशा गरेकी थिइन्।
लोकतान्त्रिक पद्धतिमा भएको देउवा र प्रचण्डको सहकार्य लामै जाने स्वराजको विश्वास थियो। त्यो बेला प्रचण्ड मुसुमुस हाँस्दै उत्साहित पनि भएका थिए। तर, कांग्रेस–माओवादी गठबन्धनको प्रशंसाले पुलकित बनेका प्रचण्डले केही दिनमै कांग्रेसको साथ छोड्ने निर्णय गरे। एमालेसँग चुनावी एकतासँगै पार्टी एकता गर्ने निर्णय गरे। प्रचण्डको त्यो निर्णय ‘सरप्राइज’ भन्दै राजनीतिक वृत्तमा निकै चर्चा चलेको थियो।
बाहिर धार्मिक अफवाह, भित्र भैंसीपूजा
कम्युनिष्टहरू धर्मलाई अफिमको संज्ञा दिन्छन्। माओवादी अध्यक्ष प्रचण्डले पनि युद्धकालमा ‘हिन्दुधर्म’ विरोधी गतिविधि गराए। धर्मलाई विकासको बाधक भन्दै कार्यकर्तालाई प्रशिक्षण गरे। मठ मन्दिर भत्काउन लगाए। तर, पछि ग्रहदशा कटाउन भन्दै आफैंले भैंसीपूजा गरे। धार्मिक संकीणर्ताले नेपाली समाजको विकास नभएको टिप्पणी गर्ने प्रचण्ड धार्मिक कार्यमा संलग्न देखिएपछि चौतर्फी आलोचना भयो। उनले त्यसपछि नयाँ नारा दिए, ‘भौतिकवाद र अध्यात्मवादको फ्यूजन गर्छु।’ त्यसपछि त प्रचण्ड रामदेवदेखि विभिन्न मठमन्दिरमा पूजा गर्दै हिँडे। दसैंमा टीका लगाएको फोटो सार्वजनिक भयो।
दिउँसो नेपाललाई गाली, राति ताली
०६६ सालमा बनेको माधव नेपाल नेतृत्वको सरकारलाई माओवादीले ‘कठपुतली’ को संज्ञा दियो। सरकारविरुद्ध आमहडतालको आह्वान गर्यो, गाउँ–गाउँबाट कार्यकर्ता राजधानी उतार्यो। तर, हडतालबाट पार नलाग्ने भएपछि प्रचण्डको उपस्थितिमा बानेश्वरमा समापनसभा गरियो। त्यहाँ प्रचण्डले ‘नोकरसँग होइन, मालिकसँग वार्ता गर्छु’ भनेर सरकारविरुद्ध विषवमन गरे। परर् ताली बजाउँदै कार्यकर्ताहरू घर–घर लागे। दिनभर गाली गरेका प्रचण्ड भने साँझ उनै माधव नेपालसँग भेट गर्न गए।
खानपिन सहितको उक्त भेटमा प्रचण्डले नेपाललाई अंकमाल नै गरेको त्यस बेलाका नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले पत्रकारलाई जानकारी गराएका थिए। हिँड्ने बेलामा प्रचण्डको चस्मा छुटेको थियो। प्रचण्डको चश्मा नेपालले कोटको खल्तीमा राखे। भोलिपल्ट संविधानसभा बैठकमै प्रचण्डलाई नेपालले चश्मा दिए। मुसुक्क हाँस्दै प्रचण्डले चस्मा लिए। ‘दिउँसो गाली, राति ताली’ रहेछ भन्ने चर्चा त्यतिबेला संविधानसभामा निकै चलेको थियो।
छिन्मै प्रचण्डपथ, छिन्मै गायब
०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्धमा पार्टी होमिएपछि नेतृत्व झन् ‘केन्द्रीकृत’ गर्दै पार्टीमा ‘प्रचण्डपथ’को अभ्यास गर्न लगाए। ०५७ सालमा भारतको कलकत्तामा भएको दोस्रो सम्मेलनबाट माओवादीले मार्गदर्शक सिद्धान्तका रूपमा प्रचण्डपथ थप्यो। नेपालका नेताहरूको नामबाट पार्टीको मार्गदर्शक सिद्धान्त चयन भएको यो पहिलोपटक थियो। त्यस बेला कार्यकर्तालाई प्रचण्डपथ कण्ठै गर्न लगाइयो। ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकताकेन्द्रसँग पार्टी एकतापछि भने रातारात प्रचण्डपथ स्थगित गर्न लगाए। विभिन्न समयमा विभिन्न सम्झौता गर्दै प्रचण्डले पार्टीको नाम नै ६ पटक फेर्न लगाए।
प्रचण्डको साथ छोडेका नेत्रविक्रम चन्द विप्लवले प्रचण्डको यो शैलीको कटाक्ष गर्दै भनेका थिए, ‘जीवनभर एमालेलाई संशोधनवादी भनेर नथाक्ने प्रचण्ड आफैं थाके, गले र पतन भए।’
अरूलाई जनवादी, आफ्नो बुढेसकालमा बिहे युद्धकालमा माओवादीले अन्तरजातीय र जनवादी विवाहमा जोड दियो। पार्टीका कार्यकर्ताहरूले ‘एक चिम्टी सिम्रिक र एउटा माला’ लगाइदिएर हजारौंले जनवादी विवाह गरे। उनीहरूले ‘माओवाद र प्रचण्डपथ’ को शपथलाई ‘वैवाहिक मन्त्र’ माने।
तर, शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डले बिरामी श्रीमती सीता दाहालसँग दोस्रोपटक विवाह गरे। त्यो विवाह निकै भड्किलो र खर्चिलो भएको भन्दै माओवादीकै नेताहरूले आलोचना गरे। प्रचण्डले आफ्नो सुविधाका लागि जे पनि गर्न सक्छन् भन्ने त्यो एउटा उदाहरण पनि थियो। गरिब, निमुखाका छोराछोरीलाई युद्धमा ‘बलिदानी’ गर्न लगाएर प्राप्त राजनीतिक उपलब्धिको फाइदा उठाउँदै प्रचण्डले आफ्ना परिवार र नातागोतालाई मात्र स्थान दिएको आरोप लाग्ने गरेको छ। प्रचण्डको साथ छोडेका नेत्रविक्रम चन्द विप्लवले प्रचण्डको यो शैलीको कटाक्ष गर्दै भनेका थिए, ‘जीवनभर एमालेलाई संशोधनवादी भनेर नथाक्ने प्रचण्ड आफैं थाके, गले र पतन भए।’
प्रचण्डको विलाशिताको राजनीति र परिवारवादका विषयमा पार्टीको आठौं महाधिवेशनमा निकै कुरा उठ्यो। कार्यकर्तालाई चाँडै विश्वास दिलाउन माहिर प्रचण्डको जवाफ थियो, ‘आवश्यक परे म झुपडीमा बस्न तयार छु।’ कार्यकर्ताले ताली पिटे। मानौं, भोलिदेखि नै प्रचण्ड सादगी सर्वहारा कम्युनिष्ट जीवन व्यतित गर्दैछन्। तर, त्यस्तो भएन। ठेकेदारको घरमा किन बसेको भन्दै सयौं कार्यकर्ताले महाधिवेशनमा गरेको प्रश्नले प्रचण्डलाई छोएन। अझै ठेकेदार शारदाप्रसाद अधिकारीको घरमै बसिरहेका छन्। ‘प्रश्न सोध्ने’ कार्यकर्ताको मुख टाल्न प्रचण्डले राजनीतिक प्रतिवेदनमै नेताहरूको फेरिएको जीवनशैलीबारे आत्मालोचना गरिसकेका थिए। ‘पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै अनुचित कार्य गर्न पछि नपर्ने प्रवृत्ति हावी हुँदै गएको’ भन्दै उल्टै उनले सिँगै पार्टीका नेताहरूतिर प्रश्न तेस्र्र्याइदिए। ‘बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौं लाख उजाड छ यो देश, मुट्ठीभरलाई स्वर्ग छ,’ भन्ने जेबी टुहुरेको गीत मन पराउने प्रचण्ड आफैं सबैभन्दा बढी सुविधाभोगी र आत्मकेन्द्रित बनेको आरोप लाग्ने गरेको छ। विगतमा उनलाई साथ दिएका कैयौं नेताहरूले साथ छोडेका छन्। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द (विप्लव), रामबहादुर थापा (बादल), मोहन वैद्य, सीपी गजुरेललगायतका हस्ती नेताहरू प्रचण्डबाट अलग भएर छुट्टै चुलो बालिरहेका छन्।
गौरकाण्डमा मौन, फोरमसँग सहकार्य
०६३ चैतमा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच एउटै स्थानमा आमसभा जुधेपछि गौरमा दोहोरो झडप भयो। माओवादीका २७ कार्यकर्ताको हत्या भयो। झडपपछि माओवादी कार्यकर्तालाई लखेटी–लखेटी हत्या गरिएको विभिन्न अध्ययन प्रतिवेदनले देखायो। तर, शान्ति प्रक्रियामा आइसकेपछि पनि एकैस्थानमा त्यत्रा कार्यकर्ता मारिएका विषयमा प्रचण्डले कहीँकतै जोडदार आवाज उठाएको पाइएन। बरु, आन्दोलनकारी नयाँ शक्तिबीच सहकार्यको जरुरी भन्दै दाहालले तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवसँग पटक–पटक सहकार्य गरे।
उक्त घटनामा उपेन्द्र यादवको प्रत्यक्ष संलग्नता रहेको भन्दै उनीविरुद्ध प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर पनि भएको छ। मृतकका परिवारहरूले घटनाको छानबिन भए पनि दोषीमाथि कारबाही नभएको भन्दै प्रचण्डको पटक–पटक ध्यानाकर्षण पनि गराइसकेका छन्। गौरकाण्डमा प्रचण्डको ‘रहस्यमय’ मौनता रहेको भन्दै अरू नेताहरूले पटक–पटक सार्वजनिक अभिव्यक्ति दिने गरेका छन्।