कोरला सडकको हिउँ पन्छ्याउदै पालिका

कोरला सडकको हिउँ पन्छ्याउदै पालिका

जोमसोम : चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको उत्तरी कोरलानाका जोड्ने सडकको हिउँ बुधबारदेखि पन्छ्याउन सुरु गरिएको छ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जोमसोम-कोरला सडक अन्तर्गत वारागुङ मुक्तिक्षेत्रको समरदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङसम्म सडक माथि थुप्रिएको हिउँ पन्छ्याउन सुरु गरिएको हो।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र उपाध्यक्ष ढोका गुरुङको पहलमा अवरुद्ध उपल्लो मुस्ताङ सडक सञ्चालनमा ल्याउन हिउँ पन्छ्याउन सुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले जानकारी दिईन्। उनका अनुसार पालिकाकै आन्तरिक खर्चमा प्रति घण्टा ४ हजार ५ सय रुपैयाँ शुल्क तिर्ने गरी डोजर भाडामा लिएर सडकको हिउँ पन्छ्याउने काम भईरहेको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका ५ वटै वडाध्यक्षहरुको उपस्थितीमा डोजरको सहायताले हिउँ पन्छ्याउने काम अघि बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले जनाईन्। उपल्लो मुस्ताङको चराङदेखि समरसम्म हिउँ पन्छयाईने उनले बताईन्। उनका अनुसार सडक माथिको हिउँ पन्छ्याउने करिव दुई दिन लाग्ने छ। लोघेकर गाउँपालिकाले करिव ५० किलोमिटर सडकको हिउँ पन्छयाउन थालेको हो। सडक माथिको हिउँ पन्छ्याएपछि उपल्लो मुस्ताङको यात्रा सहज हुने उनको भनाई छ।

मुस्ताङमा जारी सिजनमा आशिंक हिमपात भएपनि दुई पटक भने भारी मात्रामा हिमपात भएको थियो। गत पुस १४ गते भारी हिमपात हुँदा उपल्लो मुस्ताङको सडक अवरुद्ध बनेको थियो। त्यससमय पनि लोघेकर दामोदरकुण्ड गाउँपालिकाकै पहलमा सडक माथिको हिउँ पन्छ्याईएको थियो। सडकमा बाक्लो हिमपात जमेर बसेपछि त्यससमय एकसातासम्म सडक अवरुद्ध बनेको थियो। मुस्ताङमा दोश्रो पटक गत माघ २० गते भारी हिमपात भएको थियो। हिमपातले पुनः उपल्लो मुस्ताङको सडक यातायात अवरुद्ध बनेको थियो।

उपल्लो मुस्ताङका अधिकांश नागरिक अत्यधिक चिसो र हिमपात छल्न कार्तिक अगावै बेसी झरेका थिए। उपल्लो मुस्ताङीहरु क्रमशः घर फर्किन समयमा भारी हिमपात हुँदा सडक आवागमनमा समस्या परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए। ‘बिस्तारै स्थानीय घर फर्किदै छन्, उनले भने, ‘हिउँले सडक अवरुद्ध उनीहरुलाई घर फर्किन समस्या पर्यो, यसैले हामीले हिउँ पन्छ्याउन थालेका हौं।’ उपल्लो मुस्ताङी हिउँदेयामको जाडो छल्न र बिभिन्न घुम्ती व्यापारका लागि पोखरा-काठमाण्डौँ लगायत भारतका विभिन्न स्थानमा पुगेका छन्। उनीहरु घर फर्किदा खाद्यान्न, लत्ता कपडा र अतिआवश्कीय सामाग्री लिएर फर्किन्छन्। उपल्लो मुस्ताङी माघको तेश्रो सातादेखि बैशाख महिनासम्म घर फर्किने क्रम चलिरहन्छ। यस्तै चिसो र हिमपात छल्न उपल्लो मुस्ताङका निजी, गुम्बा र सामुदायिक विद्यालयहरु घुम्तीमा बेसी झरेका छन्। यस्तै उपल्लो मुस्ताङमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी लगायतलाई पनि हिमपातले सडक अवरुद्ध हुँदा आउजाउमा समस्या पर्दैै आईरहेको थियो।

उपल्लो मुस्ताङको सडक माथि बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको लोघेकर-१ चराङका वडाध्यक्ष टै ढिुन्डुक ठकुरीले जानकारी दिए। उनका अनुसार समरदेखि माथि जोमसोम-कोरला सडकमा ३ फिट भन्दा बढी हिउँ जमेको छ। नागरिकको सेवा र सुविधाका लागि स्थानीय सरकारको दायित्व रहने भएकाले पालिकालेनै हिउँ पन्छ्याउन काम गरेको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.