हानिकारक परम्परागत अभ्यासले महिला हिंसामा बृद्धि
राजविराज : सप्तरीमा हानिकारक परम्परागत अभ्यासका कारण महिला हिंसाको घटनामा बृद्धि भएको जनाइएको छ। राष्ट्रिय महिला आयोगको आयोजना र इन्सेकको संयोजनमा राजविराजमा बुधबार आयोजित ‘समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यास’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा इन्सेकले एक वर्षको अवधिमा महिला हिंसाको ६५ घटना भएको जनाएको छ। यस्तै प्रहरी महिला सेलमा ११४ जना महिलाले घरेलु हिंसाको उजुरी गरेको जनाइएको छ।
कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले सप्तरीमा सन २०२१ को अवधिमा बालिका बलात्कारको १६, यौन दुव्र्यवहारको ९, महिला बलात्कार र महिला बलात्कार प्रयासको ९÷९, बहुविवाहको ९, बालविवाहको ३, आत्महत्या दुरुत्साहनको ३, गर्भपतनको २ तथा कथित बोक्सी, महिला हत्या, बलात्कारपछि बालिका हत्या, बालक हत्या र अप्राकृतिक मैथुनका १/१ घटना भएको जनाएको छ।
सबै घटनामा १५ देखि ७१ वर्षका ११० जना आरोपित रहेकोमा ४५ जना मात्र पक्राउ परेको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनअनुसार पक्राउ परेकामध्ये २२ जना पुर्पक्षका लागि धरौटीमा रिहा भएको, १ जना संरक्षकको जिम्मामा, २ जना जमानीमा, १ जनाले सफाई पाएको र ४ जना विरुद्ध वारेण्ट जारी भएको छ भने १३ जना पुर्पक्षका लागि थुनामा रहेको र २ जना बालसुधार गृहमा रहेका छन्।
कार्यक्रमका अध्यक्ष राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले सामाजिक रुपान्तरणका साथै राजनीतिक प्रतिबद्धता, सुझबुझपूर्ण राजनीतिक नेतृत्व र सही सोंचबाट मात्र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्य सम्भव रहेको बताइन्।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले हानिकारक अभ्यासका लागि महिला पुरुष सबै दोषी रहेकोले अन्त्यका लागि पनि सबैको भूमिका आवश्यक रहेको बताए।
सप्तरीका सिडिओ जनार्दन गौतमले सरकारी सेवा, सम्पति र राजनीतिमा महिलाको पहुँच बढदै गएको र विभेदका धेरै कानूनहरू हटदै गए पनि समाजले अंगिकार नगरुञ्जेल कानून कार्यान्वयनमासमेत जटिलता आउने गरेको बताए।
इन्सेक सप्तरी प्रतिनिधी मनोहरकुमार पोखरेलले “हानिकारक अभ्यास र जिल्लाको अवस्था : सरोकारवालाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्दै हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिवाद गर्छु भन्ने प्रतिबद्धता र राजनीतिक संरक्षण नगरी कानून बमोजिम हदैसम्मको कारबाही गराउन सबैको पहल आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार इकाईका अध्यक्ष डोमन साह, आदिवासी जनजाती महासंघका अध्यक्ष बृजमान तामाङ, गैसस महासंघ सप्तरी तथा सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झालगायतले समाजमा परम्परागत रुपमा चल्दै आएको हानिकारक अभ्यासका कारण हुने विभेदले समाजमा पारेको असरका बारेमा बताए।
कार्यक्रममा सप्तरी जिल्लाभरीको नगरपालिकाका उपप्रमुखहरू, गाउँपालिकाका उपाध्यक्षहरू, न्यायिक समितिका सदस्यहरू, विभिन्न राजनीतिक दलका महिला नेतृहरू, स्थानीय तहमा महिला बालबालिका शाखामा कार्यरत कर्मचारीहरू, कानुन व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी, किशोरकिशोरी, बालबालिकालगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा हिंसा विरुद्धको साझा प्रतिबद्धताको व्यानरमा सहभागीहरूले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका थिए।