बारुदमाथि उडानमा विमर्श

बारुदमाथि उडानमा विमर्श

विषम समयमा जोखिमपूर्ण काम गर्नु नै उनको जोस र जाँगरको परिचायक बन्न गयो। माओवादीले बम बारुद आक्रमण गरेपछि जनजीवन असामान्य र असहज बन्यो। त्यसको सामना गर्दै आँटिलो काम उनले गरे। यस्ता काममा पनि अभिव्यक्ति सहज एवं सरल ढंगबाट गर्नु उनको बौद्धिक इमानदारी हो।


‘बारुदमाथि उड्दा’ रामेश्वर थापाको क्याप्टेन जीवनको जीवन्त दस्तावेज बन्न गएको छ। उनले ‘पाइलट जीवन प्रारम्भ गरेको प्रहरीसँग हो’ भनेर सहर्ष स्वीकार गरेका छन्। पाइलट बन्ने सपना उनले बचपनदेखि नै पालेको कुरा किताबमा प्रस्ट छ। सर्वप्रथम उनले आकाश जहाज उडेको देखेर आमालाई भनेका रहेछन् कि ‘म पाइलट बन्नेछु’। यो अठोट नै उनको जीवनको प्रेरणास्रोत बनेको पाइन्छ। हुन त उनले जीवनयापन गर्न धेरै कार्यालयमा काम गरेका रहेछन् तर अन्तिम अठोट एवं अभिलाषा उनको पाइलट बन्नु नै रहेछ। यसलाई उनले पूर्ण गर्न धेरै हन्डर र ठक्कर खानु परेको सत्य पुस्तकमा स्वीकारिएको छ। उनले रुसमा पाइलटको तालिम लिएका थिए। रुसमै निर्मित एमआई १० हेलिकोप्टरको प्रशिक्षक पाइलटकारूपमा नेपाली सेनाका लागि उनले काम थालेका थिए। सरकारले माओवादी जनयुद्ध नियन्त्रण र निस्तेज गर्न संकटकालको घोषणा गर्यो। सेना परिचालन गर्यो। विज्ञ पाइलटका हैसियतले सेनाको हवाई बाहिनीसँग थापा जोडिए। २०५८ मंसिरपछि सेनाकै हेलिकप्टर उडाउन थालेको कुरा पनि पुस्तकमा छ।

क्याप्टेन थापाको प्रारम्भकालीन जीवनको सुरुआत नै सोचभन्दा फरक छ। सेनाका पाइलटहरूलाई तालिम दिने, सैनिक ब्यारेकहरूमा सैन्यशक्ति र एम्युनिसन ओसार्ने, भिडन्त स्थलबाट घाइते सेना र प्रहरीको उद्धार गर्ने, मृतकहरू ओसार्नेलगायतका काममा सघाउने भनेरै उनलाई नियुक्त गरियो। त्यो पनि सामान्य स्थितिमा आफ्नो काम सुरु गर्नु भएको थिएन। विषम र विपक्तियुक्त समयमा यस्ता जोखिमपूर्ण काम गर्नु नै उनको जोस र जाँगरको परिचायक बन्न गयो। माओवादीले बम बारुद आक्रमण गरेपछि जनजीवन असामान्य र असहज बन्यो। त्यसको सामना गर्दै आँटिलो काम उनले गरे। यस्ता काममा पनि अभिव्यक्ति सहज एवं सरल ढंगबाट गर्नु उनको बौद्धिक इमानदारी हो। 

कहिलेकाहीँ आपत्कालीन अवस्थामा नियमविपरीत काम गरेको अनुभव पनि वर्णन गर्दा पाठकलाई अचम्म एवं आश्चर्य लाग्छ। उनले त्यो पनि लुकाएको छैन।‘२१ जना क्षमताको जहाजमा ३२ जना र एम्युनिसन लोड गरेर हामी सोझै भैरहवा गयो।’ उनले संस्मरणात्मक संग्र्रहकारूपमा युद्ध साहित्यको सम्झना गराउनु स्वाभाविक हो। सुरुदेखि अन्यसम्म युद्धको बीभत्स विभीषिकाको वर्णन कसैकसैलाई अत्यासलाग्दो हुन सक्छ। तर युद्ध साहित्यमा यो सर्वथा स्वाभाविक हो। तत्कालीन राजा ज्ञानेन्द्रको सोझो हस्तक्षेप हो, जसरी भए पनि सेनाले यो युद्ध जित्नु पर्छ। एकातिर राजाको आदेश अर्कोतिर आक्रमणको मुख्य योजनाकार जनमुक्ति सेनाका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड। उनको आक्रमणको मुख्य कमान्ड मध्य डिभिजन प्रमुख नन्दकिशोर पुन, पश्चिम डिभिजन प्रमुख जनार्दन शर्मा प्रभाकर थिए। यसरी माओवादीले जनयुद्धकालमा आफ्नै छुट्टै सैन्य संरचना निर्माण गरेको तथ्य बुझिन्छ।

अंग्रेजविरुद्ध नालापानी युद्धमा बलभद्र कुँवरले अपनाएको रणनीति माओवादीले प्रयोग गरिरहेको थियो। उनले आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्न प्रतिबद्ध एवं प्रतिज्ञाबद्ध पूरा गरेको पाइन्छ। किनभने पुर्खाका निडर र निर्भिक गुण उनमा थियो। तसर्थ उनले प्रहरी सेना वा सशस्त्र प्रहरी मात्र होइन, घाइते अवस्थामा भेटिएका माओवादीलाई पनि उद्धार गरे। उनमा मानवीय गुण पनि भएकाले बिरामीको पहिलो आवश्यकता उपचार हो र यो सबै नागरिकको नैसर्गिक अधिकार पनि हो भन्ने भाव थियो। आक्रमणपछिको आर्तनाद सुन्नमा उनी अभ्यस्त भए। त्यहाँको बीभत्स दृश्यको वर्णन गर्न पनि उनी पछाडि परेनन् : रेन्जर फोर्स झटपट ओर्लिएर विभिन्न पोजिसन लिन थालें। एम्युनिसन पनि झर्न थाले। ककपिटबाट बाहिर ओर्लिने अवस्था थिएन। फोर्स र एम्युनिसन झारेर घाइतेलाई हेलिकप्टरमा राख्दै गर्दा मैले ककपिटबाटै बाहिर नजर घुमाएँ। त्यहाँ लासहरू छरिएका थिए। हदयविदारक अवस्था थियो (पृ. २९)। कतिपय प्रसंगको उल्लेख गर्दा आफू पदोन्नति र पदका लागि होइन। मानवीयता र देशप्रतिको कर्तव्य सम्झेर जोखिम लिएको छु। पदक चाहिँदैन। उनले लेखेका छन्।

क्याप्टेन थापाकै शब्दमा भन्दा...जनयुद्धलाई प्रत्यक्ष देखेभोगेका मजस्तो एउटा पाइलटका आँखाबाट हेर्दा खारा भिडन्त माओवादीका निम्ति पक्कै एउटा महत्वपूर्ण घुम्ती हो। जहाँबाट उनीहरूका पाइला युद्धबाट विमुख हुन पुगे। अन्ततः माओवादी शान्ति प्रक्रियामा आएर अहिले त मूलधारको राजनीतिमा समाहित भइसकेको छ (पृ. ०३२)। जिन्दगीको उडान शीर्षकमा पाइलट बन्ने सपना भएर दुई दशकदेखि आकाशमा उडिरहेको छु। अहिले केही दार्शनिक पारामा आफ्नो अभिव्यक्ति पोख्दा एउटा सफल व्यक्तित्वको छाप छोड्ने छनक भेटिन्छ। यस अध्यायमा लेखक बाल्यकालको सुखदुःखको कथन कथिएका छन्। तर यसमा सुखभन्दा दुःखद् स्थिति र अवस्था कोरिएको छ। पहिलो काठमाडौं यात्रा, अदालतमा आठ वर्ष जागिरे जीवनको व्यथासँगै रुसमा पाइलट ट्रेनिङको आरोह अवरोहलाई उनले अभिव्यक्त गरेका छन्। टे्निङपछि एभरेस्टसँग आबद्ध, पहिलो उडान, बारुदमाथिको उडानलाई आधार मानेर समस्त पुस्तकको नामकरण गरेका छन्।

त्रिवेणी डोल्पा (३ पुस २०५३) मा ३०-४० जनाको माओवादी जत्थासँग २ घण्टासम्म लडेर प्रहरी टोलीले चौकी कब्जा र माओवादी कमान्डर विजय घलेलाई घाइते तुल्याएको तथ्य लेखकलाई सुनाएका छन्। बेथान रामेछाप (२० पुस २०५३) अपरेसन किलो शेरा टुको वर्णन गरेका छन् : कालिकाटार अपरेसन तनहुँ (२०५५ जेठ दोस्रो हप्ता महत रुकुम (५ असोज २०५६), रारालिही जुम्ला रामपुर (२० पुस २०५६), सल्यान (१२ माघ २०५६), घर्ती गाउँ रोल्पा (८ फागुन २०५६)।

लेखक थापाले दिनहुँको घटना परिघटनाको डायरीको रूपमा टिपोट गरेर प्रस्तुत गर्नु प्रशंसनीय काम हो। यसले लेखक कुन मितिमा कहाँ छ ? घटनाको विस्तृत व्यहोराबाट पाठकलाई सुसूचित गर्न लेखक सिपालु देखिन्छन्। माओवादी युद्धका बारेमा पुस्तक तयार गरेर एउटा उल्लेखनीय काम उनले गरेका छन्। जुन इतिहास बनेर रहेको छ। पुस्तकमा उल्लेखित ठाउँ र मितिमा घटना कहाँ कहाँ घटित भनेर त्यसको विस्तृत र व्यापक वर्णन गर्नु अभिनन्दनीय कार्य हो। 

माओवादी प्रहरी र सेनाबीच दिनहुँजसो भिडन्त हुनु त्यसताका अनौठो कुरो होइन। यिनीहरू लड्नमै धेरै श्रम र शक्ति साथै हातहतियार गोलाबारुद र गोली हानाहानमै थिए। एकअर्काको शत्रु पक्षलाई नै परास्त गर्ने प्रयत्नमा दिन, रात, बिहान, बेलुका ज्यू ज्यान अर्पेर पनि उद्देश्य पूरा गर्थे। पाण्डौन प्रोप्रोगान्डा, कैलाली शीर्षकमा लेखकले एउटा राम्रो प्रश्नको उद्घाटन गरेका छन्। यसलाई प्रमाणित गरेका छन् कि यो वास्तवमा प्रोप्रोगाण्डा नै हो। युद्धकालमा यस्तो अफवाह र प्रोपोगाण्डा भइरहन्छ। कहिले सेनाको पक्षमा कहिले शत्रुको पक्षमा यसो गर्दा हार्नेहरूको मनोबल गिर्ने गर्छ।

लेखकले कैलालीमा पाण्डौन अपरेसनलाई नेपाल सरकारले सेनाको ठूलो उपलब्धी भनेर हल्लीखल्ली गर्यो। तर त्यो केवल प्रोप्रोगाण्डा थियो। सुदूरपश्चिम पृतनामा त्यसबेला जर्नेल थिए, राजेन्द्र थापा। सुपरिचित गीतकारसमेत रहेका उनी नेपाली सेनाका प्रवक्ता भएपछि सुदूरपश्चिम पृतनामा गएका थिए। उनकै समयमा सेनाले पाण्डौन जंगलमा माओवादीको तालिम केन्द्र छ भनेर अपरेसन गर्यो। राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक र म आयोगका तर्फबाट जर्नेल राजेन्द्र थापा र उनको मातहतमा खटेको टोलीसँग अन्तक्र्रिया कार्यक्रम गरेका थियौं। मानवअधिकारको स्थिति र अवस्थाबारे सुदूरपश्चिमको भ्रमणपछि सुदूरपश्चिममा मानव अधिकारमा स्थिति र अवस्थाबारे एउटा आलेख प्रकाशित गराएँ। त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिमको भ्रमण गरेका थिए।

यसै दौरानमा लेखक क्याप्टेन थापा स्वयं हेलिकप्टर दुघर्टनामा परे। अचेतन अवस्थामा बी एन्ड बी अस्पतालमा उपचारार्थ पुर्याएको घटना पुस्तकमा छ। हेलिकप्टर दुर्घटनामा परे पनि बाँच्नु आफैंमा अभूतपूर्व संयोग थियो। दुर्घटनापछि प्राप्त जीवनलाई दोस्रो जीवन पाएको भनी लेखकले त्यसलाई ‘एउटा रोमाञ्चक घटना’ भनेका छन्। उनको शब्दमा : दुर्घटना आफैंमा एउटा दुःखद् संयोग हो।

‘क्याप्टेन हुँदै उद्यमी’ शीर्षकमा आफू कसरी सफल उद्यमी भएँ भन्ने सन्दर्भ साथै त्यसमा प्राप्त सफलता र असफलताको आकलनबारे लेखकले स्पष्ट पारेका छन्। साझेदारी व्यापार धेरै टिकाउ नभएको अनुभव अभिव्यक्त छ। स्पेस एयरको लाइसेन्स आफ्नो नाममा लिएर उड्डयन व्यवसायमा संलग्न भए थापा। आफूसँग पर्याप्त पुँजी नभए पनि विभिन्न उद्यमीसँगको सहयोगमा उनले सिम्रिक एयर सुरु गरे। यसमा बैंकको लगानी पनि भित्र्याएर त्यसलाई सुचारु रूपमा दुई दशकदेखि सञ्चालनमा ल्याएको कथा किताबमा छ। यस कथाको पछाडि उनको दृढ इच्छाशक्ति र अठोट महत्वपूर्ण रहेको कुरा उनी स्वीकार्छन्। उनले उद्यमीका रूपमा जुन सपना सँगाले र जुन संकल्प गरे, त्यसको उदाहरण हो सिम्रिक एयर। यसबाहेक पनि उनले आज मिडिया, रियलस्टेट, हाइड्रो, पर्यटनलगायत क्षेत्रमा पनि लगानी र सहभागिता जनाए। जुन उनको जीवनको सफलताको सोपान सबै सामु छर्लंग भएको छ।

थापाले सफल जीवनको कथा र असफल जीवन कहानी दुवैलाई पुस्तकमा समेटेका छन्। अन्तिम अध्याय ‘अब नदोहोरियोस् हिंसा प्रतिहिंसामा’ मा उनले देश र जनतालाई काम लाग्ने सन्देश छ। लेखकको शब्दमा एउटा सकारात्मक सोचको उल्लेख हुनु प्रेरणाप्रद सन्देश प्रवाहित गर्छ। आफ्नो सम्पूर्ण जीवनको निचोडका रूपमा सँगालेका अनुभवलाई उनले निम्नलिखित शब्दमा व्यक्त गरेका छन्, ‘हेलिकप्टर उडानमा करिअर बढ्दै जाँदा मैले चाहे, सोचेभन्दा धेरै नै बढी देखें भोगें। गाउँले जनजीवनका अभाव र जटिलता मात्रै देखिनँ। गाउँहरू बादलमा रगमगिए झैं रगतमा लतपतिएको देखें। बम र बारुद नै मुस्लोमा छोपिएका वस्तुहरू पनि एउटा नेपालीले अर्को नेपालीलाई सहर्ष गरेको आन्तरिक युद्ध देखें। त्यसले बनाएका घाउ र पीडा प्रत्यक्ष अनुभूत गरें। जुन आजपर्यन्त बल्झिरहेको छ।’

लेखक थापाले प्रस्तुत गरेका जीवनभरका साक्षात र सप्रमाण अनुभवले के सिद्ध गर्छ भने हिंसा\प्रतिहिंसाले देशको अधोगति हुन्छ। जुन सर्वथा सत्य साबित पनि हुँदै गएको छ। एक दशक लामो जनयुद्धबाट देशलाई कति क्षति भयो ? जनजीवनको कति क्षति भयो ? यसको लेखाजोखा हुन सकेको छैन। तर पनि संवेदनशील लेखकको दृश्य परिवर्तन हुनु एउटा महत्वपूर्ण दस्तावेजको रूपमा दर्ज भएको छ। पुस्तकको भाषाशैली सरल, सरस र सारगर्भित भएको स्वयंसिद्ध छ। एउटा उद्धरण, ‘जुनसुकै पेसा व्यवसायमा सक्रिय भए पनि नेपालजस्तो तरल राजनीति रहेको देशका जनता राजनीतिबाट चाहिँ अलग्गिन नसक्ने रहेछौं। राजनीति सही बाटोमा हिँड्न नसकेकै कारण हुनुपर्छ, सबैको चासो राजनीतिक स्थिरता र सुशासनमा छ (पृ.२०९)।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.