उत्खनन

उत्खनन

मेरा अस्तित्वका अंशहरू!

उडिरहेको पुतलीको आँखाले संसार हेर्नू 
खुसी हुनू
हरियो पातमा लेख्नु आफ्ना रहरहरू
आमालाई माया गर्नू!

घामसँगै उठ्नू
जीवनका होमवर्कहरू राम्रोसँग गर्नू!

कहिलेकाहीँ बहिनीहरूलाई काखमा लिनू
कोरिबाटी गरिदिनू
बेलाबेला गमलामा पानी हाल्नू
आफंैसँग हुर्काउनु कलिला मुनाहरू!

वर्षात्मा धेरै टाढा ननिस्कनू
आँगनमा घाँस उम्रेला 
निस्केला छिमेकीको बारीबाट विषालु सर्पहरू!

कहिलेकाहीँ 
मिलाएर यात्रा गर्नू
अन्धकारदेखि भयभीत नहुनू
 नआत्तिनू – जहाँ साँझपर्छ त्यही घर हो!

अर्काको अनुहारमा आफूलाई खोज्ने भूल नगर्नू
अर्काको हाँसो नचोर्नू !

सबै परिबन्दहरू सामान्य हुँदैनन् 
पहाडजस्ता जटिलताहरू बाटोमा छन् 
हिँड्न नछाड्नू!

आफूतिर आइरहेको बतासलाई म सम्झनू
हिँडिरहेको बाटोलाई म सम्झनू 
शून्य आकाश र अदृश्य वायुमण्डललाई म सम्झनू 
स्मृति एक दुर्लभ सम्पदा हो
मलाई केवल सम्झनाहरूमा सम्झनू!

– मेरा वंशजहरू!

मेरो पाइताला पछ्याउँदै नभौंतारिनू
मेरो हड्डी खोज्दै नहिँड्नू
मेरो खप्परको अनुसन्धानमा समय खेर नफाल्नू
कृपया– मेरो उत्खनन नगर्नू !
समयले समयलाई खोज्दै हिँड्यो भने
इतिहासले इतिहासलाई खोज्दै हिँड्यो भने 
बाटोले बाटोलाई खोज्दै हिँड्यो भने 
रहस्यले रहस्यलाई खोज्दै हिँड्यो भने 
के हुन्छ ?

यो धर्तीमा
बारम्बार कुहिएर
झोल हुँदै 
लेदो हुँदै
जुन पदार्थमा परिणत भएँ म !

अहिले त्यहाँ 
फुलेको छ एउटा गुमनाम फूल!

जो, फेरि झर्नेछ 
र, फेरि कुहिनेछ
...फेरि फुल्नेछ!

त्यसैले मेरो उत्खनन नगर्नू!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.