विमानस्थल सञ्चालनपछि इलाम-काठमाडौं एक घण्टामा सरर
इलाम: पूर्व प्रधानमन्त्री खनाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहितको टोली काठमाडौंबाट इलामको फाल्गुनन्द सुकिलुम्बा विमान स्थलमा एक घण्टाको हावाई यात्रामा पहिलो पटक अवतरण गरे।
सिलान्यास भएको ११ वर्षपछि विमानस्थल उद्घाटन गर्न आएका खनाल भन्दै थिए, ‘अब विमानस्थललाई चाहिने पूर्वाधार निमार्णले तिव्रता पाउने छ।’ पर्यटकीय सम्भावनाले भरिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको नवनिर्मित धावन मार्ग उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले विगतको सरकारले विमानस्थल निर्माणमा ध्यान नदिएकाले ढिला भएको बताए। खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संयुक्तरुपमा विमानस्थल उद्घाटन गरेका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले इलाम पर्यटन सम्भावनाले भरिपूर्ण जिल्ला रहेको बताउँदै जहाजको नियमित उडानका लागि कुनै पनि कुरामा कमी हुन नदिने बताए। आइतबारदेखि उडानको सुरुवात भएकाले यात्रुको चाप हेरेर विमानको सेड्युल तय हुने बताए। मन्त्री आलेले निजी कम्पनीजस्तै साना जहाज थप्ने तयारीमा नेपाल बायुसेवा रहेको जानकारी दिए।
उद्घाटन कार्यक्रममा प्रदेश १ पर्यटन मन्त्री खिनु लङ्वा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवाका कार्यकारी अध्यक्ष युवराज अधिकारीले इलाममा चाँडौ नै सेवा उपलव्ध गराउन चाहिने पूर्वाधार र उपकरणको व्यवस्था गरिने तत्परता व्यक्त गरे।
गत माघ २६ गते परीक्षण उडान सम्पन्न भएपछि नेपाल वायुसेवाले आजको उडानमार्फत् धावनमार्गको उद्घाटन गरिएको जनाएको छ। निजी कम्पनीलाई समेत नियमित जहाज सञ्चालन गर्न कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ।
२०५८ सालमा सर्वे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैतदेखि निर्माण सुरु भएको थियो। आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावन मार्ग र पार्किङ स्थलमा कालोपत्र निर्माण भएको थियो। जम्मा ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ। विमानस्थल निर्माणका लागि स्थानीयले तीन सय २८ रोपनी जमीन उपलब्ध गराएका थिए।