घरमै फेला परे फरार अभियुक्तहरु
राजविराज : घरमै बसे पनि लामो समयदेखि फरार सूचीमा रहेका दुई जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ। फरार अभियुक्तहरुको खोजीमा रहेको सप्तरी प्रहरीले बोक्सीको आरोप लगाएर फरार रहेका र सवारी ज्यान मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको जनाएको छ।
कथित बोक्सीको आरोप लगाउदैँ ०६६ वैशाख ६ गते कुटपिट गर्ने अभियुक्त सप्तरीको राजगढ गाउँपालिका–२ का रामबिलास यादव १२ वर्षपछि पक्राउ परेका हुन्। घटनाका बेला रामविलासको उमेर २५ वर्षको थियो। खोजतलासको क्रममा यादवलाई उनकै गाउँघरमा फेला पारी पक्राउ गरिएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए।
सप्तरी प्रहरीका अनुसार राजगढ गाउँपालिका–२ की ४० वर्षीया सरस्वतीदेवी खंगको उजुरीमा कथित बोक्सीको आरोप लगाउने अभियुक्त यादवलाई सप्तरी जिल्ला अदालतले २०६७ माघ १८ गते ३ महिना कैद सजाय र १० हजार रुपियाँ जरिवाना ठहर हुने फैसला गरेको थियो। तत्कालिन पुनरावेदन अदालत राजबिराजको इजलाशले २०७१ मङ्सिर २९ गते सो फैसला सदर गरेको थियो।
यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका अभियुक्त राजविराज नगरपालिका–६ का ३३ वर्षीय ललनकुमार देवसमेत पक्राउ परेका छन्। जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका अभियुक्तलाई खोजतलाशका क्रममा उनकै घरमा फेला पारिएको प्रहरीले जनाएको छ। अमरेन्द्रकुमार झाको जाहेरीमा सप्तरी जिल्ला अदालतले ०७४ असार ५ गते देवलाई ५ महिना कैद र २ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको थियो।
डिएसपी काफ्लेका अनुसार पक्राउ परेका दुबै अभियुक्तलाई सप्तरी जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानको लागि राजविराज कारागार पठाइएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार ६ महिनाको अवधिमा ९५२ जना फरार अभियुक्त पक्राउ परेका छन्।
आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ९५२ जना पक्राउ पर्दा ३६५ वर्ष २ महिना ३ दिन कैद तथा ३ करोड ७९ लाख ६६ हजार ७१४ रुपियाँ जरिवाना असुल भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी तुलबहादुर अधिकारीले जानकारी दिए।