जसले बसाले नियात्राको जग

जसले बसाले नियात्राको जग

काठमाडौं : ‘असार एक गते निकै रोएँ। रुनु मनलाई निको पार्ने हो भन्ने धेरैको सोचाइ छ। तर हेर्नुहोस्, जति रोयो उति भक्कानो फुटेर आउँछ। जति भक्कानो फुट्यो उति सर्वांग थर्थराएर आउँछ। जति अंग थर्थरायो उति हृदय विदीर्ण भएर आउँछ। छाती छियाछिया भएर आउँछ र मुटु नै ढुक्क ढुक्क हुँदै बाहिर छचल्किएर आउँछ।’

साहित्यकार प्रा. डा. तारानाथ (ताना) शर्माले बुबाको निधनमा लेखेको निबन्ध ‘आँसु छचल्किँदै जान्छ’का हरफ हुन् यी। भाषा, साहित्यका बहुआयामिक व्यक्तित्व उनै शर्माको निधनमा मंगलबार नेपाली भाषाप्रेमी, साहित्यकार, विद्यार्थी र पाठक उसरी नै रोएका छन्। भक्कानो फुटेको छ उनको अन्तिम बिदाइमा। जानेमानेका अधिकांश साहित्यकार मंगलबार पशुपति आर्यघाट पुगेका थिए। उनीहरूको साहित्यकार र शुभचिन्तक हृदय विदीर्ण बनेको थियो। 
शर्माले त्यो निबन्धमा आफू मुसलधारे पानी परेको असारको समयमा जन्मिएको लेखेका थिए। उनको निधनमा सूर्यले उज्यालो किरण छरेको थियो। उनी ८७ वर्षको उमेरमा फागुन ३ गतेको पारिलो घाममा सदाका लागि अस्ताए।

शर्माले लेखेको निबन्ध ‘घनघस्याको उकालो काट्दा’ कक्षा १० को नेपाली पुस्तकमा सबैले अध्ययन गरे। त्यही भएर शर्मालाई धेरैले सम्झने मूल कारण ‘घनघस्याको उकालो काट्दा’ बन्यो। उनले लेखेको नियात्राको लेखनीलाई सम्मान गर्दै २०२६ सालमा ‘नियात्रा’ शब्द बन्यो। त्यति मात्र होइन, सोही वर्ष डा. शर्माले लेखेको नियात्रा संग्रह ‘बेलायततिर बरालिँदा’ले मदन पुरस्कार पायो।
‘तत्कालीन समयमा कसैले नपत्याएको नियात्रा विधामा मदन पुरस्कार पाउने उहाँ एक मात्र नेपाली साहित्यकार हुनुहुन्छ’, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले अन्नपूर्ण पोस्ट्सित भने, ‘निजात्मक अनुभूतिको धाराको सुरुआतकर्ता र उचाइमा पुर्‍याउने सर्जक। मदन पुरस्कारबाट सम्मानित हुने उहाँ एक्लो व्यक्तित्व हो आजसम्म।’ 

उनका अनुसार त्यसअघि यात्रा संस्मरण भनिन्थ्यो। दुई धारा थिए, वर्णनात्मक र निजात्मक अनुभूति। त्यसअघिका नियात्राले कसैले घुमेको कथा सुनाउँथे र उनले नियात्राका पाठकलाई सँगसँगै घुमाउन थाले।
सौन्दर्य चेतसहितको नियात्रा लेखनको प्रारम्भ गर्ने व्यक्तित्व शर्मा नै हुन्। उनले जुन शैलीको स्थापना गरे, त्यो ऐतिहासिक प्राप्ति पनि हो। कविताको जगमा उभिएर काव्यिक मूल्ययुक्त नियात्रा लेखेका छन्। शर्माको व्यक्तित्व बहुआयामिक छ। उनी नियात्राकार, निबन्धकार, समालोचक र भाषाविद् हुन्। 

‘डा. शर्मा पहिलो समालोचक हुनुहुन्थ्यो। दोस्रो, बिर्सन नहुने व्यक्तित्व नियात्राकार। अझ उहाँको प्रमुख आयाम भनेको भाषाशास्त्री’, साहित्यकार डा. विप्लव ढकाल भन्छन्, ‘यी तीनभित्रै युनिक विशेषता छन्। खरो समालोचक हो उहाँ।’ मबीबी शाहका कविताका समालोचना गर्ने क्रममा अनेकौं प्रश्नको सामना गर्नुपरेको ढकाल स्मरण गर्छन्। शर्मा कडा आलोचकीय चेत भएका समालोचक भएको उनको बुझाइ छ। डा. शर्माले पहिचान पनि यसैमा बनाए। त्यसो त प्रभाववादी भएर चाँदनी शाहका कवितालाई प्रशंसा गरेका छन्। अर्को शब्दमा भन्नुपर्दा, कतिपय अति प्रशंसा र कडाभन्दा कडा आलोचना पनि गर्ने दुवै विशेषता बोकेका व्यक्तित्व हुन् शर्मा।

शर्मामा सिर्जनात्मक र समीक्षात्मक सामथ्र्य सराबरी भएको मूल्यांकन डा. रमेश शुभेच्छुको छ। शर्माको मूल पहिचान समालोचक थियो। उनी अब्बल सम्पादक पनि थिए। शर्माकै सम्पादनमा गुरुप्रसाद मैनाली, भीमनिधि तिवारीलगायत विशिष्ट विद्वान्का विशिष्ट कृति बाहिर आएका छन्। गोपालप्रसाद रिमालको आमाको सपना कविताको सम्पादन गरेको हो। गुरुप्रसाद मैनालीको नासो कथा पनि सम्पादन गरे। २५ वर्षका नेपाली निबन्धको किताबको सम्पादन गरेका थिए। 

बेलायतमा प्राध्यापन गरेर नेपाल फर्किए। नेपालमा राइजिङ नेपालको प्रधान सम्पादक भएर काम गरे। उनले महत्वपूर्ण कृतिको अनुवाद पनि गरे्। भाषाविज्ञानमै विद्यावरिधि गरेका डा. शर्मा नेपाली भाषामा झर्रोवादी आन्दोलनका अभियन्तामध्ये एक हुन्। उनको समग्र लेखनमा झर्रो नेपाली भाषाको सुललित प्रयोग पाइन्छ। 
प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल अंग्रेजी भाषा पढेर पनि नेपाली भाषाप्रति अत्यन्तै सद्भाव राख्ने व्यक्तित्वका रूपमा लिन्छन् शर्मालाई। २०२७ सालमै नेपाली साहित्यको इतिहास लेख्नु ठूलो योगदान हो। डा. साबित्री मल्ल कक्षपतिले शर्माले त्रिभुवन विश्वविद्यालयको चउरमा नाटक पढाएको स्मरण गरिन्। 

शर्माका कृति सयको हाराहारीमा छन्। समालोचना, नियात्रा, आख्यान, कविता, संस्मरणजस्ता थुप्रै विधामा कलम चलाएका छन्। अनुवाद र सम्पादन गरेका अरू सयजति छन्। २००८ सालमा साथी साप्ताहिकमा पहिलो रचना प्रकाशन भएको थियो। १९९१ असार ९ गते पूर्वी नेपालको इलामको बरबोटेमा जन्मिएका उनी ८८ वर्ष पुग्न तीन महिना बाँकी हुँदा संसारबाट बिदा भए। उनका पत्नी शान्ता र छोराद्वय अनलनाथ र सलिल छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.