मुस्ताङको कागबेनीमा पक्की मोटरेबल पुल बन्ने
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा पक्की मोटरेबल पुल बन्ने भएको छ। मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा कागबेनी-तिरी हुँदै डोल्पा जोड्ने सडकमा अर्को पक्की पुल मोटरेबल पुल निर्माण हुन लागेको डिभिजन सडक कार्यालय बाग्लुङले जनाएको छ।
कागबेनीमा कालिगण्डकी नदी माथि मोटरेबल पुल निर्माणको अख्तियारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल डिभिजन सडक कार्यालयलाई दिईएको छ। पुल निर्माणको प्रक्रिया अघि बढाउन मन्त्रालयले पुलको डिपिआर प्रतिबेदनसमेत डिभिजन सडक कार्यालयलाई पठाएको कार्यालयका ईन्जिनीयर किरण पोखरेलले जानकारी दिए। ‘मन्त्रालयले पुलको डिपिआर फाईनल गरी हामीलाई पठाएको छ, कार्यालयले लागत स्टमेट तयार गरी मन्त्रालय पठाउँछौ, उनले भने, ‘त्यसपछि चालु वर्षभित्रै पुलको ठेक्का सम्झौता हुन्छ र अर्को वर्ष बजेट बिनियोजन भई काम अघि बढ्ने छ।’
डिभिजन सडक कार्यालयका अनुसार कागबेनी-तिरी जोड्ने पुलको लम्बाई ४० मिटरको हुने जनाईएको छ। पुलको लगात स्टमेट पास भई बजेट बिनियोजनपछि फिल्ड भेरिफेकसन हुने जनाएको छ। मन्त्रालयले उक्त पुलको डिपिआर हालै तयार गरी पठाएको थियो। कालिगण्डकी नदीमा निर्माण हुने पक्की पुलको फाउन्डेसन लगायतका सम्पूर्ण काम ढलान हुने छ भने पुलको सवारी गुड्ने सुपर स्टक्चर फलामको हुनेछ।
कागबेनी स्थित कालिगण्डकी नदीमा मोटरेबल पुल नहुदा तिरी गाउका २५ घरधुरीलाई बर्खायाममा खाद्यान्न ढुवानी र आवत-जावतमा समस्या पर्दै आईरहेको थियो। उक्त स्थानमा पुल निर्माण भएपनि तिरी गाउँसहित डोल्पा सडकमा समेत जोडिने संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।