जंगलमा महिलाको शव भेटियो, बच्चाहरु स्थानीयको आश्रयमा
महोत्तरी : महोत्तरीको सागरनाथ जंगलभित्र बुधबार दिउँसो एक महिला मृत अवस्थामा भेटिएकी छिन्। गौशाला नगरपालिका १२ स्थित रेल्वे लिकभन्दा ५ सय मिटर अगाडि पहिचान खुल्न नसकेकी एक २५ वर्षीय महिलाको शव फेला परेको हो।
गर्भवती अवस्थामा रहेकी सो महिलाको घाटीमा डाम रहेकोले कसैले हत्या गरी जंगलमा फालेका हुनसक्ने प्रहरीको अनुमान रहेको छ।
प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएका छन्। शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि जलेश्वर ल्याउने तयारी भईरहेको डिएसपी विष्टले जानकारी दिए।
फेला परेको वच्चाहरु स्थानीयको आश्रयमा
गएराति फेला परेका दुई बच्चाहरु अहिले स्थानीयवासी दिनेश महतोको आश्रयमा रहेका छन्। नेपाल रेडक्रस सोसाईटी उपशाखा गौशालाका उपसभापतिसमेत रहेका महतोले ती वालकहरुको संरक्षणमा लिई स्यारसुहार गर्दै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीले ती वच्चा र मृत अवस्थामा भेटिएकी महिलाको सम्बन्धमा जोडेर थप अनुसन्धान गर्दै आएको डिएसी विष्टले बताए। डिएसपी विष्टले भने, ‘अहिले ठयाक्कै केही भन्न सक्दैन। प्रहरीहरु घटनास्थलमा पुगि अनुसन्धान गर्दैछन्। भेटिएका ती वच्चाहरु मृतककै सन्तान हुन कि भनेर प्रहरी विभिन्न तरिकाले अनुसन्धान गर्दैछन्।’
गएराति एक महिलाले दुई वच्चाहरुलाई स्थानीय दिलबहादुरको होटेलमा राखेर बेपत्ता भएकी थिईन्। ती महिलाले बच्चाहरुलाई अलपत्र अवस्थामा छाडेर आफूले आत्महत्या गरेको हुन सक्ने स्थानीयहरुले शंका गरेका छन्।