डिजिटल कर्जा ५ लाखसम्म
काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीले डिजिटल कर्जा लिन पाउने भएका छन्। कर्जाका लागि आवेदनदेखि भुक्तानीसम्म बैंकमा भौतिक उपस्थितिबिनै (विद्युतीय माध्यमबाट) पाइनेछ। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ)सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। अब बैंकलाई सोही मापदण्डमा रहेर कर्जा दिन बाटो खुलेको छ।
बैंकमा तलबी खाता वा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकले अधिकतम पाँच लाख रुपैयाँसम्म विद्युतीय कर्जा लिन पाउनेछन्। यसबाहेकका ग्राहकले भने दुई लाखसम्मको कर्जा विद्युतीय माध्यमबाट लिन सक्नेछन्। यस्तो कर्जा तीन वर्षसम्मका लागि लिन पाउँछन्। कर्जा प्रदान वा फिर्ता भुक्तानी एकै पटक वा किस्तामा समेत गर्न सकिने व्यवस्था छ। केही बैंकले यसअघि पनि मोबाइल बैंकिङमार्फत तलबी खातावालाका लागि दुई लाखसम्म एकवर्षे कर्जा दिँदै आएका थिए। नबिल, कुमारी, एनआईसी एसिया, एनएमबीलगायत बैंकले अनलाइन आवेदनमार्फत कर्जा प्रवाह गर्ने स्किम ल्याइसकेका छन्। एनआईसी एसिया बैंकका खातावालाले कर्जा आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने व्यवस्था गरेको थियो।
बैंकले विद्युतीय कर्जा प्रवाहको छुट्टै पोर्टल राख्नु पर्नेछ। संस्थाले मोबाइल एपबाट कर्जा आवेदन लिन सक्छन्। त्यसपछि आवश्यक सूचना विद्युतीय माध्यममार्फत नै प्राप्त गर्छन्।
फोनबाटै ऋण उपलब्ध गराउने स्किम नबिल बैंकको छ। अनलाइन आवेदनबाट कर्जा सुविधा दिएपछि धेरै ग्राहक आकर्षित भएको कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकार बताउँछन्। भन्छन्, ‘राष्ट्र बैंकले व्यवसायीका लागि पनि दिन पाउने प्रडक्ट ल्याउन मापदण्ड बनाएर सहज गरिदिएको छ।’ यो मापदण्डले एकरूपता सहजता प्रदान गर्ने राष्ट्र बैंकको भनाइ छ। विद्युतीय कर्जा प्रणालीको विस्तार गरी त्यसप्रति सेवाग्राहीलाई अभ्यस्त बनाउन यो व्यवस्था गरेको गरेको राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए। ‘यसका साथै औपचारिक कर्जा प्रवाह प्रक्रिया सरलीकृत गर्न, कर्जा आवश्यकताको बढ्दो अपेक्षा पूरा गर्न, कर्जामा सर्वसाधारणको पहुँच बढाउन र कर्जा प्रवाहको लागत कम गर्न यस्तो व्यवस्था गरेका हौं,’ उनले भने। वाणिज्य बैंकले वालेटको सहयोग लिएर डिजिटल कर्जा प्रवाह गर्न सक्छन्। यो अन्तर्राष्ट्रिय स्तरमै चलेको प्रडक्ट हो। ‘अन्य देशमा पनि प्रभावकारी बनेको छ’, पौडेलले भने, ‘यसको सुन्दर पक्ष भनेकै थोरै रकमको कर्जा घरबाटै लिन सकिनु हो।’
यो प्रडक्ट आम सर्वसाधारणलाई साना कर्जाहरूमा पहुँच दिन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। लगानीयोग्य पुँजी (तरलता) अभावका कारण अधिकांश बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा छन्। यही अवस्थामा केन्द्रीय बैंकले यस्तो मापदण्ड ल्याएको छ। यस्तो कर्जामा धितो लिने वा नलिने बैंकको नियमअनुसार हुन्छ। तर बैंकले आफ्ना ग्राहकलाई आकर्षण गर्न पनि नियमित कारोबार गरिरहेका खातावालालाई दिने गर्छ। र कतिपयले दिँदै पनि आएका छन्। बैंकले विद्युतीय कर्जा प्रवाहको छुट्टै पोर्टल राख्नु पर्नेछ। संस्थाले मोबाइल एपबाट कर्जा आवेदन लिन सक्छन्। त्यसपछि आवश्यक सूचना विद्युतीय माध्यममार्फत नै प्राप्त गर्छन्।
कर्जा पाउन योग्य भए वा नभएकाबारे बैंकले विश्लेषण गरी योग्य आवेदकलाई कर्जा स्वीकृत भएको जानकारी विद्युतीय माध्यमबाट गराउँछ। स्वीकृत कर्जा प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिन्छ। कर्जासम्बन्धी कागजात विद्युतीय माध्यमबाट सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउनुपर्छ। विद्युतीय कर्जा उपयोग गर्दा लाग्ने शुल्कका बारेमा ऋण दिनुअघि स्पष्ट जानकारी दिनुपर्ने मापदण्डमा उल्लेख छ।