बप्पी दासँगको त्यो अकल्पनीय भेट

बप्पी दासँगको त्यो अकल्पनीय भेट

प्रायः मानिस जन्मिएको खबर सीमित व्यक्तिसम्म मात्र प्रसारण हुन्छ। सफल व्यक्ति त्यही हो जसको मृत्युको खबर अधिक मान्छेको ढोकासम्म ढकढक्याउन पुग्दछ। जन्मनु खासै ठूलो कुरा होइन। न त मर्नु नै महान कुरा हो। तर सबैको चासोको विषय बनाएर यो संसार छोड्नु महान् कर्ममा पर्दछ। बलिउडले यसै महिना संगीतका दुईजना महान् हस्तीलाई गुमायो। लता मंगेशकरको मृत्युको खबर सेलाउन नपाउँदै डिस्को किंग उपाधि पाएका महान् संगीतकार बप्पी लहिरी पनि संसारबाट बिदा भए। बप्पी दाको संगीतमा लता मंगेशकरले गाएको गीत छः

आओ तुम्हें चाँद पे ले जाएँ
प्यार भरे सपने सजाएँ
छोटा सा बंगला बनाएँ
एक नयी दुनियाँ बसाएँ।

गीतले भने जस्तैः लताले बप्पी लाहिरीलाई चन्द्रमामा साथै लिएर गएकी छिन्। एउटा अर्को दुनियाँको महलमा बस्ती बसाउन लिएर गइन् भन्न सकिन्छ।
ooo
बप्पी दासँगको त्यो अकल्पनीय भेट

फेसबुकका भित्ताहरू एकाएक श्रद्धाञ्जलिका शब्दले भरिएको देखें। बप्पी लहिरीले मुम्बईको क्रिटिकेयर अस्पतालमा मंगलबार राति ११ः४५ मा अन्तिम सास लिएको समाचार पत्रपत्रिकामा छ्याप्छ्याप्ती छायो। ६९ वर्षमा प्राण त्यागेको समाचार पढिसकेपछि बप्पी लहिरीसँग प्रत्यक्ष भेटेको सम्झना ताजा भयो। मैले भारतका संगीतकर्मी  एआर रेहमान, जावेद अली, कविता कृष्णमूर्ति, हरिरण, जगजित सिंहका प्रत्यक्ष कन्सर्ट सुन्ने अवसर प्राप्त गरेको छु। तर, दोहोरो संवाद भने बप्पी लाहिरीसँग मात्र गर्न पाएको छु। हालसम्म। 

कुरा सन् २०१० तिरको हुनुपर्छ। त्यतिबेला वैदेशिक रोजगारीको सिलसिलामा दुबईको इमारत कम्पनीमा कार्यरत थिएँ। मेरो भर्खरै ब्रिज भन्ने स्टेसनमा ट्रान्सफर भएको थियो। उक्त ठाउँ दुबईको बरदुबई नजिकै पर्छ। त्यहीँ थियो, मेरो कार्यशाला। नजिकै रमी रोयल होटल थियो। त्यहाँ बलिउड कलाकारको आवतजावत भइरहन्थ्यो। त्यही क्रममा रनवीर कपुर, केट्रेना कैफलाई पनि भेट गर्ने अवसर मिलेको थियो। म पेट्रोलपम्पको सि–स्टोरमा काम गर्थें। त्यसदिन रात्रिसेवामा थिएँ। क्यासियर भएकाले काउन्टरमा उभिइरहेको थिएँ। 

बप्पी लहिरीको असली नाम अलोकेष लहिरी हो। संगीत दुनियाँमा आएपछि आफ्नो नाम बप्पी राखे। तर शुभचिन्तकले बप्पी दा र डिस्को किंग भनेर सम्बोधन गर्न थाले।

अचानक स्टोरभित्र आगमन भयो, घुम्रिएको बाल, गोलमोटोल अनुहार, कालो चस्मा, सेतो सर्ट बाहिर कालो इष्टकोट लगाएको मान्छेको। त्यो अनुहारसँग कताकता परिचित भए जस्तो लाग्यो। अनि मस्तिष्कले ठम्माइहाल्यो, अरे यो त बप्पी लहिरी हो। मैले उनलाई शिष्टाचार निभाउने क्रममा गुड इभिनिङ भनिहालेँ। उनले प्रतिउत्तरमा भने, ‘नेपाली बाबु, के छो ?  म अचम्मित भए दुईवटा कुरामा। एउटा नेपाली कसरी जानेको होला अनि अर्को म नेपाली भन्ने कसरी ठ्याक्कै चिनेको होला भनेर। मैले यो अवसरलाई अवस्मरणीय घटना मानेकाले सहकर्मीलाई क्यामरामा तस्बिर कैद गर्न आग्रह गरिहालेँ। फोटो खिच्ने भने पछि उनले सर्टभित्र छोपेर राखेको घाँटीका सुनका सिक्रीलाई नजर पर्ने गरी प्रदर्शन गरे। 

हामी सबैले देखेको र सुनेको कुरा हो कि उनले डेढ किलो सुन शरीरमा भिरेर हिँडछ्न् भनेर। त्यसको प्रत्यक्षदर्शी हुन पाएँ। उनीसँग सामान्य कुराकानी भयो। सपरिवार यूएई भ्रमणमा आएका रहेछन्। एटीएमबाट केही पैसा निकालेर हामीबाट बिदा मागे। उनको मृत्युको खबरले मलाई फेसबुकको एल्बममा भएका उनीसँग खिचिएको तस्बिर खोज्न बाध्य बनायो। त्यहीँबाट एउटा फोटो तानेर श्रद्धाञ्जलिका दुई शब्द पनि अर्पण गरिहालेँ।
ooo
बप्पी लहिरीको जीवन–यात्रा 
बप्पी लहिरीको जन्म सम्पन्न सांगीतिक परिवारमा २७ नोभेम्बर १९५२ मा कलकत्तामा भएको थियो। पिता अपरेस लहिरी  प्रसिद्ध गायक र आमा बन्सरी लहिरी संगीतकार थिइन्। बप्पी लहिरीको असली नाम अलोकेष लहिरी हो। संगीत दुनियाँमा आएपछि आफ्नो नाम बप्पीराखे। तर शुभचिन्तकले बप्पी दा र डिस्को किंग भनेर सम्बोधन गर्न थाले। 

सन् १९७७ मा फिल्म निर्माता चित्रानी लहिरीसँग विवाह गरे। उनका दुई सन्तान छन्। छोरा बप्पा लाहिरी र छोरी रेमा लाहिरी। बप्पा निर्देशक र रेमा गायिका हुन्। कपीकिताब, पेन्सिल, कटर र इलेजर लिने कलिलो चार वर्षको उमेरमै बप्पी दाले तबला बजाउन सिकिसकेका थिए। उनको प्रारम्भिक शिक्षा कलकत्ताको जलपाईगुडीस्थित निजी पाठशालामा भयो। संगीतमा अधिक रुचि भएकै कारण कक्षा ११ मै शिक्षालाई पूर्णविराम लगाएर गायन र संगीतको करियरलाई अगाडि बढाउन थाले। संगीतकारका रूपमा उनको पहिलो उपस्थिति बंगाली फिल्म ‘दादु’ थियो। त्यसपछि उनी मुम्बई गए।

मुम्बईमा शंकर जयकिशन, एसडी बर्मन, लक्ष्मीकान्त प्यारेलाल, आरडी बर्मनजस्ता संगीतकारको एकछत्र राज थियो। १९ वर्षको उमेरमा उनको परिवार मुम्बईमा बसाइँ सर्यो। त्यहाँ कामका लागि खासै संघर्ष गर्न परेन। पिता गायक तथा संगीतकार भएकाले मुकेश,  मोहम्मद रफी, लता मंगेशकर आदिसँग उठबस हुन्थ्यो।

भारतको हरेक विवाह पार्टीमा उनका गीत बज्थे। ८० को दशकमा बप्पी दाले डेढ वर्षमा १२ वटा ब्लक बस्टर फिल्म दिएर रेकर्ड राखे।

नन्हा शिकारी उनले संगीत दिएको चलचित्रका गीत चलेनन्। त्यसपछि चरित्रहीन फिल्ममा काम गरे, त्यो पनि चलेन। जख्मी फिल्ममा दिएको संगीतले उनलाई रातारात चर्चित बनायो। उक्त फिल्मको ‘जलता हे जिया मेरा’ गीत सुपरहित भयो। शराबी फिल्मका गीतले थप उचाइमा पुर्यायो। उनले सो फिल्ममा शास्त्रीय संगीतलाई फ्युजन गरेर गीत बनाएका थिए। इन्तेहा हो गई इनतजारकी, मञ्जिले अपनी जगा, लोग केहेते हे में शराबी हुँ जस्ता गीतहरू सदाबहार बने। 

उनले नमक हरामका लागि कम्पोज गरेका गीतले पनि बलिउड सांगीतिक उद्योग धनी बन्यो। पग घुँघरु, रात बाँकी, आज रपट जाए, जवानी जाने मन, थोडी सी जो मेँ ने पि आदि उनका मास्टरपिस गीतहरू हुन्।

मेलिडियस गीतहरूमा काम गर्दागर्दै ८० को दशकमा उनको करियरले नयाँ मोड लियो। एकदिन बब्बर सुभाष निर्देशक केही नयाँ संगीतको काम गर्ने प्रस्ताव लिएर आए। उनले अमेरिका शिकागोको डान्स क्लबमा डिस्को संगीतबारे केही बुझेर आएका थिए। अनि फिल्म डिस्को डान्सरका लागि बनाए डिस्को संगीत। र, भारतमा डिस्को संगीत भित्र्याउने सफल संगीतकार बन्न पुगे। उनले कम्पोज गरेका आई एम अ डिस्को डान्सर, जिम्मी जिम्मी, औवा औवा, याद आ राहा हे आदि गीतले भारतमा इतिहास रच्न सफल भयो। मिथुन चक्रवती सुपरस्टार बन्न पुगे। भारतको हरेक विवाह पार्टीमा उनका गीत बज्न थाले। ८० को दशकमा बप्पी दाले डेढ वर्षमा १२ वटा ब्लक बस्टर फिल्म दिएर रेकर्ड राखे। 

सन् १९८६ मा १ सय ८० भन्दा बढी गीत रेकर्ड गराएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भए। उनले जीवन कालमा लगभग पाँच सय फिल्मका लागि पाँच हजार गीत बनाउन भ्याए। संगीतकारसँगै गायकका रूपमा पनि आफूलाई चर्चित बनाए। उनका कयौं गीतहरू रिमिक्स भएर अहिलेका फिल्ममा पनि प्रयोग गरिएका छन्। डर्टी पिक्चरको ‘ऊ लालाला उलाला’ उनले गाएको पछिल्लो चर्चित गीत हो। हिन्दी बाहेक तेलुगु, उडिया, कन्नड भाषाका गीतमा पनि संगीत भरेका छन्। डिस्को डान्सर फिल्मको गीत ‘जिमी जिमी’ ४५ भन्दा बढी भाषामा रेकर्ड भएको छ। यसै गीतका लागि चाइनाले दिने अवार्ड पनि प्राप्त गरेका थिए।

संगीत चोरीको आरोप
बप्पी दाका धेरै चर्चित कम्पोजिसनलाई चोरीको आरोप लागेका छन्। हलिउड संगीत उद्योगबाट धेरै गीतलाई जस्ताको त्यस्तै लय ल्याएर हिन्दी गीतका शब्दका ढालेका छन्। ‘मेरे दिल गाए जा’ भन्ने ‘डान्स डान्स’ फिल्मको गीत ‘ब्रद्रर लुइस’ मोडर्न टकिङबाट लय साभार गरिएको हो। ‘कोही यहाँ’ चर्चित गीत जुन डिस्को डान्सर फिल्मको गीत हो यसलाई ‘भिडियो किल्ड द रेडियो स्टार’ इङ्लिस गार्डेनबाट दुरुस्तै फोटोकपी गरिएको पाइन्छ। ‘तम्मातम्मा’ थानेदारको सुपरहिट गीत पनि मेरी काँटेको ‘तम्मा’ गीतबाट सारिएको हो। जिले ले, तेरा मेरा, जिम्मी, सोचना क्या, हंस के गुजरे जिन्दगी, हरि ओम हरि, दिल मेरा तोडोनालगायतका गीतको लय पनि विश्वका विभिन्न गीतबाट जस्ताको त्यस्तै साभार गरिएका हुन्। बलिउडमा आरडि बर्मन, अनु मलिक, प्रितम आदि संगीतकारलाई पनि गीत चोरी गरेको आरोप लागेकै छन्।

बप्पी लाहिरीले गीत चोरीको आरोपलाई सहर्ष स्वीकारेका थिए। करिब २० वटा गीत पश्चिमी संगीतबाट प्रेरित भएर बनाएको कुरालाई नकारेनन्। डिस्को संगीतको अनुभूति गराउन ती गीतको मुखडालाई प्रयोग गरेको बताउने गरेका थिए। 

बप्प्पी दाले विदेशी गीतको नक्कल मात्र गरेनन्। उनका गीतका पनि विदेशीले नक्कल गरेका छन्। अमेरीकी आर एन्ड बि टुथ हर्टसले सन् २००२ मा गीत ‘एडिक्टी’ मा लाहिरीको गीत ‘थोडा रेशम लगता हहै’को अंशलाई प्रयोग गरेका थिए। 

बप्पी दाले कयौं पुरस्कार हात पारेका छन्। उल्लेखनीय पुरस्कारका रूपमा फिल्मफेयर अवार्ड तीन पटकसम्म र लाइभ टाइम एचिभमेन्ट अवार्डद्वारा पनि सम्मानित भएका छन्। उनका गीत पाँच पटकसम्म ग्रामी अवार्डका लागि सर्ट लिस्टेड भएका थिए।

बप्पी लाहिरी र सुनको किस्सा 
हामीले बप्पी लाहिरीलाई सुनका गहनाले ढकमक्क देख्ने गरेका छौं । उनी र सुनका धेरै किस्सा छन्। आउनोस् केही किस्साबारे चर्चा गरौं। उनले एउटा अन्तर्वार्तामा धेरै सुन लगाउनुको कारण खुलाएका थिए। हलिउड गायकबाट आफू प्रभावित भएको कुरा बताएका थिए। भनेका थिए, ‘मैले हलिउड गायक एल्विस प्रेस्लीलाई धेरै मन पराउँथे। उनले सधैं एउटा सुनको सिक्री लगाउने गर्थे। मलाई उनको यो शैली धेरै मन पर्यो।’

एल्विस प्रेस्लीलाई देखेर बप्पी दाले सुन लगाउने निर्णय गरेका थिए। बप्पी लाहिरीका लागि सुन लक्की रहेको पनि उनले बताएका थिए। उनको मान्यता थियो जति जति सुनका गहना थप्दै गए उतिउति फिल्म उद्योगबाट सफलता प्राप्त गर्दै गए।

बप्पी लाहिरीको सुनसँग निकै प्रेम थियो। त्यसैले गएको धनतरेसमा श्रीमतीले सुनको चाय सेट उपहार दिएकी थिइन्। उनले सुनको चिया सेट कहीँ कतै देखेका थिए। सो कुरा श्रीमतीले याद गरेर त्यस्तै गिफ्ट दिएर खुसी बनाएकी थिइन्। एउटा पार्टीमा बप्पी लाहिरीको जम्काभेट नायक राजकुमारसँग भएको थियो। सो पार्टीमा बप्पी दाले अधिक सुनको गहना लगाएर गएका थिए। बप्पी दाको सुन देखेर राजकुमार दंग परे। त्यो देखेर राजकुमारले भने, वाह! सानदार ... गजबका गहना लगाएका छौं। मात्र एउटा मंगलसूत्रको कमी भयो। भनिन्छ कि राजकुमारको यो प्रतिक्रियाले बप्पी दा निकै उदास भए तर उनले आफूलाई हाँसोमा उडाइदिए।

बप्पी दाले आफ्नो फेसन अन्दाज अन्तर्राष्ट्रिय कलाकार बेयोन्स, एकोन, इमिनेम र साकिराले पनि अनुसरण गरेका छन् भनेर एउटा अन्तर्वार्तामा बताएका थिए।

बप्पी दा र नेपाल
बलिउडका गीतसंगीत सुन्ने पारखी नेपालमा प्रशस्तै छन्। उनका गीत नेपाली श्रोतामाझमा लोकप्रिय नै छ। धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि उनले देशभक्ति भावको नेपाली गीत ‘फरक छ भाषा’ गाएका छन्। सो गीतका संगीतकार बीबी अनुरागी हुन्। राष्ट्रसंघीय नियोग युनेस्कोले बप्पी लाहिरीलाई सन् २०१४ मा नेपालका लागि सद्भावना दूतमा नियुक्त गरेको थियो। दूत बनेपछि उनले नेपालप्रति प्रेम, सद्भाव र स्नेह रहेको बताएका थिए।

बप्पी लाहिरी र माइकल ज्याक्सनको भेट 
एकपटक बाल ठाकरेको घरमा माइकल ज्याक्सन आएका थिए। बप्पी लाहिरी माइकललाई भेट्न त्यहाँ पुगे। बाल ठाकरेले डिस्को डान्सर म्युजिक कम्पोजर भनेर परिचय दिएपछि, माइकलले मैले जिम्मी जिम्मी गीत सुनेको र धेरै मन पराएको कुरा बताएका थिए। साथै, बप्पी दाको सिद्धिविनायकको लकेट देखेर प्रभावित भएका थिए माइकल। 

बप्पी लाहिरीको सम्पत्तिा हामीलाई एउटा प्रसिद्ध बलिउडको कलाकारको सम्पत्ति कति हुने रहेछ भन्ने जिज्ञासा लाग्नु स्वाभाविक हो। उनको सम्पत्तिका बारेमा लेख्दै छु। उनीसँग कुल २२ करोड रुपैयाँ थियो। मुम्बईमा एउटा सुविधा सम्पन्न घर जसको मूल्य ३.५ करोड पर्छ। उनले एउटा गीत गाएको पारिश्रमिक ८ देखि १० लाख लिन्थे। एक घण्टा लाइभ कन्सर्टको २० देखि २५ लाख लिन्थे।

अब्सट्रक्टिभ स्लिप एपनिया (ओएसए) रोगका कारण उनको सास लिने प्रक्रिया सधैंका लागि समाप्त भयो। यो रोग श्वासप्रश्वाससम्बन्धी रोग हो। 

‘चल्ते चल्ते मेरे ए गीत याद रखना कभी अल्विदा ना केहेना’ किशोर कुमारको स्वर र बप्पी दाको संगीत रहेको यो गीत किशोर कुमारको पनि एकदम मनपर्ने गीत हो। बप्पी दाले भने अनुसार यो गीत सुनेर किशोर कुमार रोएका छन्। किशोर कुमार बप्पी दाका मामा पर्छन्। बप्पी दाले सबै कन्सर्टको अन्त्यमा यो गीत गाउने गर्थे। गीतले भने जस्तै बप्पी दा त गइसके तर उनको गीत सधैंभर याद रहनेछ। बप्पी दा हाम्रो मन मस्तिष्कमा छन्। त्यसैले कहिले अल्बिदा हुने छैनन्। हार्दिक श्रद्धाञ्जलि बप्पी दा।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.