जीतपुरसिमरा गोल्डकपको १२ औं संस्करण चैत्र दोस्रो साता

जीतपुरसिमरा गोल्डकपको १२ औं संस्करण चैत्र दोस्रो साता

सिमरा : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको एक जीतपुरसिमरा गोल्डपको १२ औं संस्करण चैत्र दोस्रो साता हुने भएको छ। आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र १० गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी दिएको हो। 

आयोजक क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनको ६ र मोफसलको ४ गरी १२ टिमको सहभागीता रहनेछ। प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ। 

आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्वितीय पुरस्कारमा एक लाख पचास हजार वृद्धि गरेको छ। ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पचास हजार थियो।

चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन्। आयोजकले यस वर्ष पनि उदयीमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ। 

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिताको अनुमानित लागत करिब ८३ लाख रहेको अध्यक्ष लामाले बताए। ११औं संस्करणमा प्रतियोगिताको अनुमानित लागत ७० लाख ५५ हजार थियो। 

१०औं संस्करणसम्म सिमरा गोल्डकपको नामबाट संचालन हुँदै आएको प्रतियोगिता पछिल्लो संस्करणबाट जीतपुरसिमराको नाममा रुपान्तरित भएको हो। स्थानीय सरकारका रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि मुख्य सहयोगीको भूमिकामा सहयोग गर्दै आएको छ। अघिल्लो संस्करणमा २० लाख आर्थिक सहयोग उपलब्ध गराएको उपमहानगरपालिकाले यस संस्करणमा २५ लाख उपलब्ध गराउने भएको छ। 

राष्ट्रिय स्तरको प्रतियोगिता सफल बनाउन उपमहानगरपालिका मुख्य सहयोगीको रुपमा अग्रसर हुन थालेपछि आयोजक र खेलप्रेमी उत्साहित देखिएका छन्। आर्थिक सहयोगका साथ प्रतियोगिता आयोजना हुने सिमरा रंगशलाको खेल मैदान सुधारका लागि उपमहानगरपालिकाले साधनस्रोतसमेत उलपब्ध गराउँदै आएको छ। 

सिमरा रंगशालाको खेल मैदानलाई अहिले दक्षिणतर्फ विस्तार गरिएको छ। निर्माणाधीन प्यारापीटको मध्यभागमा पर्ने गरी मैदान विस्तार गरिएको महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए। विगतमाभन्दा यस वर्ष खेलप्रेमी दर्शकले प्यारापीटमा बसेर खेलकुदको मनोरञ्जन लिन सक्ने ठकुरीको भनाइ छ। 

प्रतियोगिता यस वर्ष पनि फ्लड लाइटमा हुनेछ। गर्मी मौसमलाई मध्यनजर आयोजकले अघिल्लो संस्करणदेखि फ्लड लाइटमा खेल सञ्चालन गर्न लागेको हो। फ्लड लाइटमा खेल संचालन हुदा खेलाडीलाई राहत पुग्ने र दर्शकको उपस्थिति बाक्लो रहने आयोजकको अपेक्षा छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) टुर्नामेन्ट सर्पोटरको रुपमा रहेको प्रतियोगिताको प्रोमोटरमा नेपाल पर्यटन बोर्ड रहेको छ। प्रतियोगिता अवधीभरका लागि वीरगन्जस्थित लुम्बिनी जनरल इन्स्युरेन्सले खेलाडी, अफिसियल, स्वयंसेवनकलाई १० लाख र एक सय ३० जना दर्शकलाई पाँच लाखको बिमा गर्ने भएको छ। 
प्रतियोगिता सफल पार्न सिमरास्थित युआर अटोमेटिक लन्ड्री, मुनसाईन टेक्नोलोजी, सुसप्त मेडिकल हल प्राविधिक सहयोगीको भूमिकामा रहने भएका छन्। पत्रकार सम्मेलनमा आयोजकले ११औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा आयोजना गर्न समेत माग गरेको छ। 

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरी, क्लबका पूर्व अध्यक्षद्वय कासिम मियाँ र राजकुमार भट्टराई, नेकपा एमाले बाराका जिल्ला कमिटी सदस्य भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ वडाध्यक्ष हिराबहादुर गुरु, कार्यपालिका सदस्य शोभा कार्कीलगायत सहयोगी संघसंस्थाका प्रतिनिधि, क्लबका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो। क्लबका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.