रुपन्देहीमा अपराध : भतिजा–भतिजी बने ‘रिभेन्ज’को सिकार

रुपन्देहीमा अपराध : भतिजा–भतिजी बने ‘रिभेन्ज’को सिकार

भैरहवा : नाम– खेम बहादुर पौडेल। उमेर– ३५। ठेगाना– सैनामैना नपा–५ भैरवटोल, रुपन्देही। पेशा– बेरोजगार। मुद्दा (अपराध)–अपहरण तथा शरीर बन्धक। प्रहरीको मुद्दा शाखामा हाल पौडेलको परिचय बनेको छ यो।

पौडेल र उनकी श्रीमतीको वैवाहिक जीवन सुरुवाती चरणमा राम्रै चलेको थियो। तर, विस्तारै दुवै जीवनमा खटपट हुन सुरु भयो। अवस्था यहाँसम्म पुग्यो कि श्रीमती माइत गएर बस्न थालिन्। बढेको विवाद साम्य भएन। एकदिन पौडेलले श्रीमतीको खिचेका अश्लील तस्बिरहरु श्रीमतीका आफन्तहरुलाई पठाइदिए। विवादले झन् चर्को रुप लियो। श्रीमतीले श्रीमानविरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहार मुद्दा दर्ता गराइन्। श्रीमान पक्राउ परे र मुद्दा चल्यो। आफूलाई कारवाही गराउनमा श्रीमतीका दाई सैनामैना नपा– ६ का प्रेम दाहाल परिवारले भुमिका खेलेको अनुमान लगाउँदै दाहाल परिवारसँग ‘रिभेन्ज’को सोच बनाए। पौडेल दुई हप्ता अघि धरौटीमा छुटे।

अनि भयो अपहरण

श्रीमतीका दाई प्रेम दाहालको १२ वर्षीय छोरा प्रशिद्द दाहाल र ९ वर्षीया छोरी प्रसन्न दाहाल सधै झै बिहीबार (फागुन ५ गते) पनि बिहान साढे ९ बजे विद्यालयको बस चढेर विद्यालयतर्फ लागे। तर, बीच बाटोमा पौडेलले विद्यालयको बसबाट भतिजा प्रशिद्द र भतिजी प्रसन्नलाई फोटो खिच्न भनी बसबाट लिएर हिँडे। उता बालबालिकालाई अभिभावकलाई छोरा-छोरी अपहरणमा परेको पत्तै भएन। छोरा-छोरी विद्यालय गएको ठानेको अभिभावकले साँझ विद्यालयको बसमा छोरा–छोरी घर नआएपछि आत्तिए। खोजबिन गर्न थाले। बुबाले विद्यालयमा सम्पर्क गरे। विद्यालय बसको कर्मचारीले अभिभावकले बच्चा लिएर गएको र विद्यार्थीहरुले पनि पौडेलले लगेको भन्दै पौडेलको हुलिया बताए। बुबा प्रेमले इप्रका रन्यौरामा घटनाबारे जानकारी गराए। घटनालाई गम्भीरताका साथ लिँदै जिल्लाभर हुलिया विवरणसहितको चेकिङ खोजतलास सुरु गर्‍यो र कमाण्ड पोष्ट स्थापना गरी एसपीसहितको टोली परिचालन भयो।

रातारात जंगलभर प्रहरी

‘बच्चाहरुलाई बिहान लिएर गएको रहेछ, हामीले जानकारी साँझ ६:५० बजे पायौँ’ रुपन्देहीका एसपी मनोज केसीले भने, ‘तत्काल बालबालिकालाई उद्दार गर्नका लागि हामीसँग कुनै ठोस ‘क्लू’ थिएन। चारैतिर प्रहरीको मुम्भमेन्ट बढायौँ र सैनामैना, नुवाकोट लगायत जंगल क्षेत्रमा सर्च अपरेशन चलायौँ।’

प्रहरीले पौडेलले प्रयोग गर्ने मोबाइल नम्बरको ‘लोकेसन ट्रेस’ गर्ने प्रयास गर्‍यो। मोबाइल सोही दिन ३:४० बजे बुटवलमा स्विच अफ भएको देखियो। त्यसपछि प्रहरीले सीडिआर हेर्‍यो।

प्रहरीले रातारात चारैतिर निरन्तर अध्याँरो तिर हानिरहेको थियो।‘पक्राउ परेका पौडेलसँग सोही दिन दिउँसो साढे १२ बजे उनका भाई गुप्तबहादुर पौडेलको कुराकानी भएको सिडिआरबाट खुल्यो’ उनले भने,‘भाईले दाईलाई एउटा सुटकेश दिएको पाइयो।’

प्रहरीले राती नै सीसीटिभी फुटेज पनि हेर्‍यो। फुटेजमा पौडेलले रातो रंगको सुटकेशसहित देखिए। तर, साथ भतिजा–भतिजी भने देखिएनन्।

प्रहरीले बालबालिकाको विद्यालयको झोला बुटवलको एक फेन्सी पसलबाट बरामद गरेको छ। ‘बसबाट बच्चाहरुलाई झारेपछि पौडेलले उनीहरुलाई दिनभर कुन ठाउँमा राखे ? लगायत विषयमा अहिले खुलिसकेको छैन’ एसपी केसीले भने, ‘भर्खर त्यहाँ (झापा) नियन्त्रणमा लिएर आएका छौँ, अब अनुसन्धानमा सबै खुल्छ।’

भोलीपल्ट शुक्रबार बिहान पौडेलले नवलपरासीको भुमहीमा रहेकी आफ्नो दिदीलाई नयाँ सिम नम्बरमार्फत फोन सम्पर्क गरे। त्यसपछि यता प्रहरीले पनि सोही नम्बरमा पौडेललाई फोन सम्पर्क गर्‍यो र उता फेरि ‘लोकेसन ट्रेस’ गर्‍यो। प्रहरीले बच्चाहरुलाई ‘हेण्डओभर’गर्न आग्रह गर्‍यो। तर, उनले मानेनन्।

‘आफु मर्न र मार्न आएकोले खोज्ने प्रयोस नगर्नुस्’ पौडेलको भनाई उदृत गर्दै एसपी केसीले भने।

प्रहरीले ‘ट्रेस’गरेको ‘लोकेसन’झापाको बिर्तामोड देखायो। यता प्रहरीले बुटवल बसपार्कमा पनि सोधखोज गरिरहेको थियो। पौडेलले वर्षौसम्म दार्जिलिङमा काम गरेकोले सोही स्थानतर्फ भतिजा–भतिजीलाई लगेको प्रहरीको अनुमान छ।

जब हात लाग्यो ‘क्लू’...

‘बसपार्कको टिकट काउन्टरबाट पौडलले बसको टिकट काटेर बिर्तामोड गएको देखियो’एसपी केसीले भने, ‘सिमको लोकेसन र बसपार्क दुवैबाट पौडलले बिर्तामोडमा रहेको पाइयो। यो हाम्रो लागि ठोस ‘क्लू’ हुन पुग्यो र प्रहरीको एक टोली तत्काल बिर्तामोडको लागि मुभ भयो।’

यता फेरी पौडेल र पीडित परिवारबीच फोन सम्पर्क भयो। पौडेलले आफु बुटवलमा रहेको बच्चाहरु लिन आउन भनी परिवारलाई झुक्काए। सम्बन्धित ठाउँमा परिवार पुगेपछि आफु नारायणघाट रहेको र त्यही आउन भने। फेरि उनले आफुलाई बिर्तामोडबाट आउने टिकट पठाएमा आफू आएर भतिजा भतिजी सुम्पिदिने बताए। पौडलले यो कुरा गरिरहँदा उता रुपन्देही प्रहरीको एक टोलीले बिर्तामोडको यात्रामा थियो। साथै, रुपन्देही प्रहरीले उता झापा प्रहरीलाई घटनाबारे जानकारी गराएर सम्बन्धित व्यक्तिहरुको हुलिया पठाइसकेको थियो। उता झापा प्रहरी पनि सक्रिय भयो। पौडल आफू बसको अगाडितिर र भतिजा भतिजीलाई बसको अन्तिम सिटमा बसालेर ल्याउने क्रममा बिर्तामोडबाट आरोपीलाई नियन्त्रणमा लिइएको र बालबालिकाको २४ घण्टाभित्र सकशुल उद्दार गरिएको रुपन्देहीका एसपी केसीले बताए।

अभद्र व्यवहार मुद्दामा दाहाल परिवारका कारण आफु थुनामा परेको भन्ने ‘रिभेन्ज’लिने बनाएको सोचले पौडेलले घटना घटाएको प्राराम्भिक अनुसन्धानमा देखिएको उनी बताउँछन्। पक्राउ परेका पौडेल उपर अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.