पत्रकार हत्याका मुख्य अभियुक्तलाई आममाफी !

पत्रकार हत्याका मुख्य अभियुक्तलाई आममाफी !

झापा : सरकारले पत्रकार यादव पौडेलको हत्याका मुख्य अभियुक्त युवराज गिरीलाई आममाफी दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा गिरीले शनिबार आममाफी पाएका हुन्।

पत्रकार पौडेलको हत्या अभियोगमा उनी करिब १० वर्षदेखि झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। आममाफीका लागि गिरी आफैँले गरेको अपिलका आधारमा राष्ट्रपतिले आममाफी दिएको झापा कारागार स्रोतले जनाएको छ।

२०६८ चैत २१ गते मध्यराति झापाको बिर्तामोडस्थित नेपाल पत्रकार महासंघको कार्यालय नजिक पत्रकार पौडेलको हत्या भएको थियो। पत्रकार पौडेलको हत्या अभियोगमा होटल सञ्चालक सोम ढकाल, उनकी श्रीमती भनिएकी फूलमाया कार्की र होटल व्यवसायी गिरी पक्राउ परेका थिए।

झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका गिरीले आममाफी पाएको पुष्टि गरे। ‘नियमित प्रक्रिया अन्तर्गत कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका गिरीले आममाफी पाएका हुन्’, प्रजिअ रिजालले भने, ‘उनले झण्डै १० वर्ष सजाय भुक्तान गरिसकेका रहेछन्।’ 

मुलुकी अपराध (संहिता) २०७४ को दफा १५९ मा भएको माफीसम्बन्धी व्यवस्था अनुसार गिरीले आममाफी पाएका हुन्। ऐनमा फैसलाबमोजिम सजाय पाएको व्यक्तिले गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिने प्रावधान छ। गृह मन्त्रालयले माफी सम्बन्धमा निर्णयका लागि सरकारसमक्ष कारण खुलाएर सिफारिस पेस गर्नुपर्ने व्यवस्था छ। 

तीन तलामाथिबाट खसालेर हत्या गरिएका पत्रकार पौडेल त्यतिबेला राजधानी दैनिक र एभिन्युज टेलिभिजनमा कार्यरत थिए। अस्पतालको पोष्टमार्टम रिपोर्टमा पत्रकार पौडेलको टाउको र फोक्सोमा रगत जमेको, कलेजो फुटेको, तीनवटा करङ तथा देव्र हात भाँचिएको उल्लेख थियो।

हत्या अभियोगमा पक्राउ परेका तीनै जनालाई पुनरावेदन अदालत इलामले २०७१ असार तेस्रो साता जन्मकैदको फैसला सुनाएको थियो। यसअघि झापा जिल्ला अदालतले मुख्य अभियुक्त गिरीलाई मात्रै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उनका दुई सहयोगीलाई समेत जन्मकैदको माग गरिए पनि उनीहरु थोरै सजायको भागिदार भएका थिए। 
गिरी पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पनि गएका थिए। सर्वोच्चले पनि गतवर्ष पुनरावेदन अदालतको फैसलालाई सदर गरेपछि गिरीका अगाडि न्यायिक अपिलको अदालती ढोका बन्द भएको थियो। तर, गिरीले कारागार प्रशासनमार्फत आममाफीका लागि पहल थालेका थिए। 

आममाफीको पत्र आएलगत्तै शनिबार गिरी रिहा भएको झापा कारागारकी निमित्त प्रमुख हिमा पौडेलले बताइन्। ‘आममाफी पाएर गिरी रिहा हुन भयो’, निमित्त प्रमुख पौडेलले भनिन्, ‘उहाँबाहेक अरु १५ जनाले कैद सजाय छुट पाएका छन्।’ 

पत्रकार पौडेलकी श्रीमती सुनम पौडेलले गिरीलाई आममाफी दिइएकोप्रति दुःख प्रकट गरेकी छन्। ‘मजस्ता पीडितमाथि सरकारले यो भन्दा अन्याय गर्ने ठाउँ छैन’, सुनमले भनिन्, ‘यो देशमा पीडितका लागि न्याय मरेजस्तै रहेछ। ममाथि यो अर्को बज्रपात हो।’
पत्रकार पौडेलको हत्यापछि नेपाल पत्रकार महासंघले उनका दुई वटा छोराछोरीको पठनपाठनको दायित्व लिने घोषणा गरेको थियो। तर, महासंघबाट पनि भने अनुसार सहयोग नपाएको उनले दुःखेसो गरिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.