डलर उतारचढावले बाह्य ऋणमा कमी
काठमाडौं : सार्वजनिक ऋण १७ खर्बभन्दा बढी पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ६ महिनाको प्रतिवेदनका अनुसार १७ खर्ब २८ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्न बाँकी देखिएकोे हो। उक्त ऋणमा बाह्य ऋण ९ खर्ब ४८ अर्ब रहेको छ भने आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब पुगेको छ। ६ महिनामा आन्तरिक ऋण ६ अर्बले बढेको प्रतिवेदनमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले जारी गरेको ६ अर्बको ट्रेजरी बिल (घरेलु सापटी) का कारण आन्तरिक ऋण बढेको हो।
अमेरिकी डलरमा भएको उतारचढावका कारण बाह्य ऋणमा कमी भएको छ। विकास खर्चमा कमी र राजस्व प्रणाली तथा दायरामा आएको सुधारका कारण सरकारी ऋणको वृद्धिदरमा कमी देखिएको कार्यालयले जनाएको छ। सरकारी तथ्यांक अनुसार हालसम्मको राजस्व संकलन लक्ष्यको करिब ५२ प्रतिशत छ भने पूँजीगत खर्च करिब १७ प्रतिशत रहेको छ। पहिला खर्च गर्ने अनि भुक्तानी गर्ने शोधभर्ना प्रणालीबाट सार्वजनिक ऋण लिइने गरिएको छ।
दोस्रो त्रैमासिकमा बाह्य ऋणको ऋण प्राप्ति २३ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने कूल भुक्तानी ६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। विनिमय दरमा भएको उतारचढावले हालको त्रैमासिकमा १६ अर्ब ४७ करोड बराबरको नाफा भएको प्रतिवेदनमा समावेश छ।
समीक्षा अवधिमा ६ अर्बको आन्तरिक ऋण थपिएको छ भने दोस्रो त्रैमासिकमा आन्तरिक ऋणको कुनै पनि भुक्तानी हुन सकेको छैन। आर्थिक वर्ष २०७८/०७९ दोस्रो त्रैमासिकको अन्त्यमा कुल ग्राहस्थ उत्पादनमा कुल ऋणको अनुपात ४०.५३ प्रतिशत पुगेको छ। कुल ग्राहस्थमा बाह्य ऋणको अनुपात १८.२८ प्रतिशत र आन्तरिक ऋणको अनुपात २२.२४ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७७/०७८ को ४२ खर्ब ६६ अर्बको कुल ग्राहस्थको तथ्यांकसँग गणना गरिएको हो। आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिकमा कुल ग्राहस्थमा कुल कर्जाको अनुपात उत्पादन अनुपात ४०.३९ प्रतिशत थियो। कुल ग्राहस्थमा सार्वजनिक ऋणको अनुपात ७० प्रतिशतसम्मलाई सकारात्मक नै मानिन्छ।
आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासमा कुल कर्जा प्राप्ति २९ अर्ब १७ करोड रुपैयाँ रहेको छ। जसमा २३ अर्ब १७ करोड रुपैयाँ बाह्य स्रोतबाट र ६ अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट प्राप्त भएको छ। वैदेशिक ऋणमध्ये ८७.३७ प्रतिशत अर्थात् २० अर्ब २४ करोड रुपैयाँ बहुपक्षीय स्रोतबाट र बाँकी १२.६३ प्रतिशत अर्थात् २.९२ प्रतिशत द्विपक्षीय स्रोतबाट प्राप्त भएको छ।
आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा कुल ऋण सेवा २०.१४ अर्ब रुपैयाँ रहेको छ। जसमध्ये ११ अर्ब ४० करोड अर्थात ५६ दशमलव ६१ प्रतिशत आन्तरिक ऋण र बाँकी ८ अर्ब ७४ करोड अर्थात ४३ दशमलव ३९ प्रतिशत बाह्य ऋणको हो। ब्याज भुक्तानी बाहेक प्रतिवद्धता शुल्क र कमिशन गरी करिब १३ अर्ब १८ करोड भुक्तानी गरिएको छ।
दोस्रो त्रैमासिकमा बाह्य ऋणदातालाई ६ अर्ब ९५ करोड रुपैयाँ चुक्ता गरिएको छ। यस त्रैमासिकमा आन्तरिक ऋणको कुनै सावाँ भुक्तानी गरिएको छैन। ब्याजको कुल भुक्तानी २० अर्ब १४ करोड रुपैयाँ छ। जसमध्ये बाह्य र आन्तरिक ऋणदातालाई क्रमशः ८ अर्ब ७४ करोड र ११ अर्ब ४० करोड रुपैयाँ ऋण भइसकेको छ।