मेची राजमार्ग जीर्ण
फिदिम : पूर्वी पहाडको ‘लाइफलाइन’ मेची राजमार्ग जीर्ण अवस्थामा पुगेको छ। यसले सडक दुर्घटनाको जोखिम बढेसँगै पहाडको आर्थिक गतिविधिमा समेत नकारात्मक प्रभाव परेको छ। ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम फिदिम, इलाम हुँदै झापाको चारआली जोड्ने २६८ किलोमिटर लामो यस सडक अधिकांश स्थानमा भत्किएको छ।
झापाको चारआलीदेखि ७७ किलोमिटर इलामखण्डमा ६० वटाभन्दा बढी गोलाइ छन्। गोलाइ भएको अधिकांश स्थानमा सडक भत्किएको छ। पाँचथरको राँके–फिदिमखण्डको दर्जनांै स्थानमा सडक भत्किएका छन्। फिदिम–काबेलीखण्डमा गाडी गुडाउनै समस्या हुनेगरी सडकको बीच भागमा खाल्डाखुल्डी छन्।
कात्तिक पहिलो साता पहिरो झर्दा सयाँै स्थानमा सडक भत्किएकोे छ। पहिरो पन्छाएर तत्कालका लागि सडक सुचारु गरिए पनि पूर्ण रूपमा सडक मर्मत नगरिँदा जोखिम बढेको हो। भिरालो जमिनमा गोलाइ भएको साँघुरो सडक भत्केपछि सवारीसाधन सञ्चालनमै समस्या भएको हो। सडकको अधिकांश स्थानमा ठूल्ठूला खाल्डा परेका छन्। कालोपत्रे भत्किएर हिलाम्मे बनेको सडकमा गाडी भासिएर निकै समस्या हुने गरेको छ।
सडक डिभिजन कार्यालय इलामले मेची राजमार्ग संरक्षण र मर्मतको जिम्मा लिएको छ। बिग्रिएको सडक मर्मतमा डिभिजन कार्यालयले चासो नदेखाउँदा जीर्ण अवस्थामा पुगेको राजमार्गमा दुर्घटनाको जोखिम बढेको सवारी चालकहरू बताउँछन्। ‘ज्यान जोखिममा राखेर गाडी चलाइरहेका छौं,’ पिकअप चालक भीम शंकरले भने, ‘सडकको खराबीका कारण गन्तव्यमा पुग्न धेरै समय लाग्छ। यसले भाडा पनि बढ्छ। सवारीसाधानमा पनि खराबी आउँछ।’
राजमार्ग नै कच्ची सडक जस्तो बनेपछि दुर्घटनाको जोखिम बढेको ट्राफिक कार्यालय इलामका प्रमुख जनक तिम्सिना बताउँछन्। ‘राजमार्गको दुरावस्थाका कारण दुर्घटनाको जोखिम बढेको हो,’ तिम्सिना भन्छन् । यो राजमार्गलाई इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको उत्तरपूर्वी क्षेत्रको मेरुदण्डका रूपमा लिइन्छ।
राजमार्ग जीर्ण बनेपछि पूर्वी पहाडको आर्थिक क्रियाकलापमा समेत समस्या भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल बताउँछन्। ‘मेची राजमार्गबाट ढुक्कले सवारीसाधन चलाउने अवस्था छैन,’ नेपालले भने, ‘हालसम्म पहाडमा मेची राजमार्गको विकल्प छैन। राजमार्ग जीर्ण बनेपछि पहाडका आर्थिक क्रियाकलापमा समेत नकारात्मक प्रभाव परेको छ।’ अप्ठ्यारो भूगोलमा बनेको राजमार्गमा क्षमताभन्दा धेरै भारवाहन गर्ने गाडी गुडाउनुपर्ने भएकाले सडकमा समस्या थपिएको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी सञ्जय गौतमले बताए।पाँचथरखण्डको मर्मत गर्न गत वर्ष नै ठेक्का लागेको सडक डिभिजन कार्यालयले जनाएको छ। तर, हालसम्म सडक मर्मत भएको छैन।