एमसीसी सकस : भित्र वार्ता, बाहिर झडप
काठमाडौं : रामेछापकी मनमाया चौलागाईं बिहीबार काभ्रे बनेपाबाट आउँदै थिइन्। टेकु पुग्नु थियो। तर, बसले कोेटेश्वरमै ओराल्यो। हिँडेर जानुपर्ने भयो। बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीचको घम्साघम्सीले पैदल जान पनि कठिन भयो। घरी प्रहरीले अश्रुग्यास हान्थे। घरी प्रदर्शनकारीले ढुंगा हान्थे। भाग्दाभाग्दै ‘बीचमा’ परिने हो कि भन्ने चिन्ता थियो, चौलागाईंलाई। ‘दुःख भनेको त हामी गरिबलाई नै आइपर्ने रहेछ’, उनले अन्नपूर्ण पोस्ट्सित भनिन्।
एमसीसीको विपक्षमा रहेकाहरूले प्रतिनिधिसभा बैठक बस्ने दिन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। बिहीबार संसद भवनमा दलहरूबीच वार्ता चलिरहँदा बाहिर उक्त ठाउँ अशान्त बन्यो। तर, यस्तो प्रदर्शनको चुरो कुराबारे अनभिज्ञ छिन् मनमाया। बरु छिटो टेकु पुगेर ठेलामा चटपटे बेच्ने हतार थियो उनलाई।
‘देशलाई एमसीसी चाहिन्छ कि चाहिँदैन के भन्नु ?’ ३७ वर्षकी उनले भनिन्, ‘हामीलाई थाहा छैन। बाटोघाटो छेउमा पसल राखेर खानेलाई दरबार आए पनि हामीलाई हुने केही होइन। पसल गर्नेहरूको सरसामान लुटपाट हुन्छ। झन् त्यसमाथि बन्दले सधैं दुःख दिन्छ।’
लगातार २ घण्टासम्म झडप
बानेश्वर क्षेत्र बिहीबार प्रहरी र प्रदर्शनकारीले भरिभराउ थियो। दिनभर घम्साघम्सी चल्यो। दुई घण्टासम्म त लगातार झडप नै भइरह्यो।व्यापार व्यवसाय ठप्प थियो। तोडफोडको डरले व्यापारीले पसल खोलेनन्। तीनकुनेबाट माइतीघरसम्मका सडकमा गाडी गुडेनन्। निषेधित क्षेत्र भन्दै प्रहरीले सडकमा काँडेतार र फलामे छेकबार लगाएको थियो।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो। लगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, इँटा, गुलेली, बियरका बोतल प्रहार गरेका थिए। प्रहरीले १ सय २ सेल अश्रुग्यास प्रहार गर्यो। त्यसपछि प्रदर्शन उग्र बनेको थियो। एक महिलासहित १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सन्तोष सिंह राठौरले बताए। उनका अनुसार एक जना गम्भीर घाइते भएका छन्।
बानेश्वर चोकमा सहदेव खड्काको खाजा पसल छ। पसल तोडफोड हुने हो कि भन्ने चिन्ता छ उनलाई। सरकारमै रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका कार्यकर्ताले सडक तताउने गरेका छन्।
‘गाडी चल्दैन। पसल बन्द गर्नुपर्छ’, व्यवसायी खड्काले भने, ‘आन्दोलनले व्यापारमा असर गरिरहेको छ। महिनाको ६५ हजार सटर भाडा तिर्नुपर्छ। कमाई हुँदैन।’दोलखाकी दिनमाया लामिछाने हिँड्दा–हिँड्दै हैरान भइन्। झन्डै ६० वर्ष लागेकी उनी छोरा भेट्न गाउँबाट काठमाडांै आएकी थिइन्। सडकमा सार्वजनिक गाडी गुडेनन्। निकै दुःख पाइएको उनले सुनाइन्।
प्रदर्शनकारीलाई यातना
मानवअधिकार आयोगले शान्तिपूर्ण प्रदर्शन गर्न र बढी बल प्रयोग नगर्न बुधबारै सरोकारवालाको विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको थियो। आयोगको अन्तर्राष्ट्रिय सन्धि अनुगमन महाशाखाका खिमानन्द बस्यालले सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखियो। उनका अनुसार केही प्रदर्शनकारीले निधेषित क्षेत्र तोड्न खोजे। त्यसपछि सुरक्षाकर्मीले उनीहरूलाई लखेटे। पानीको फोहोरा र अश्रुग्यास पड्काएर प्रहरीले तितरबितर भए।
‘प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएर कुटेको हो भने गलत हो’, उनले भने, ‘यसबारे हाम्रो ध्यानाकर्षण भयो। प्रहरी नियन्त्रणमा रहेकाहरुसँग कुरा गर्छाैं।’