सडकमा हतारो होइन होशियार
सन्तानलाई अनावश्यक रूपमा सवारी साधन (खासगरि मोटरसाइकल) खरिद गरिदिनुभन्दा आवश्यकतालाई ध्यानमा राखेर मात्र सवारीसाधन खरिद गर्नु उपयुक्त हुन्छ।
घटना—१
मोरङको उर्लाबारी–३ स्थित सोल्टी खोला पुलमा केही साताअघि बिहान ट्याक्टर र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो। पूर्वपश्चिम राजमार्गस्थित सोल्टी खोला पुलमा को२त ८२९६ नम्बरको ट्याक्टर विपरीत दिशाबाट गइरहेको प्रदेश १–०१–०१२–प ७१५२ नम्बरको पल्सर मोटरसाइकल ठोक्कियो। मोटरसाइकल चालक उर्लाबारी–७ का निश्चल बानियाँको घटनास्थलमै मृत्यु भयो।
घटना—२
सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा परी नेकपा माओवादीका प्रदेश सांसद रिपुप्रसाद राई ‘देवान’का छोरासहित दुईजनाको मृत्यु भयो। मृत्यु हुनेमा संखुवासभा खाँदवारीका २६ वर्षीय सन्तोष राई र सोही ठाउँका २० वर्षीय अभि राई छन्। बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
यी दुई घटना प्रतिनिधि मात्र हुन्। हरेक दिन दुईचार सडक दुर्घटनाका समाचार आइरहेका हुन्छन्। पछिल्लो चरणमा जेठो छोराले विदेशमा काम गरेर पैसा कमाउने अनि सोही पैसाले कान्छो छोरालाई मोटरसाइकल किनिदिने चलन थपिएको छ। अल्लारे, बेरोजगार अनि नयाँ मोटरसाइकल, दुर्घटनाका कारण बनेको पाइन्छ। एसईई सकिएपछि कलेज पढ्न थाल्छन्। अब पनि के स्कुल बस चढ्नु ? साथीहरू सबैको बाइक छ। बजारमा नयाँ मोडेलको मोटरसाइकल आयो। कसरी मनलाई थाम्नु ?
घुक्र्याएर, थर्काएर, बहाना बनाएर भए नि एउटा २०० सीसीको मोटरसाइकल किन्नै पर्छ। कलेज जीवन, बिदाको घुमफिर र रमाइलो, सबै दुर्घटनाका कारण नबन्लान् भन्न सकिँदैन। छिटो पुग्न सकिने, अप्ठ्यारो बाटोमा पनि सजिलो, सस्तो र ट्राफिक जाममा पनि सजिलै निस्कने सबैभन्दा प्रचलित साधन बनेको छ, मोटरसाइकल। तर, मोटरसाइकलकै कारणले रित्तिँदै छ, आमाहरूको कोख अनि राष्ट्रका कर्णधारहरू।
सडक दुर्घटना मृत्युका नयाँ कारक होइन। विश्व स्वास्थ्य संघले जुन २०२१ को प्रतिवेदनअनुसार हरेक वर्ष १३ लाख मानिस सडक दुर्घटनाका कारण मृत्यु हुने तथा ५ करोड मानिस घाइते हुने गरेका छन्। सडक दुर्घटनाहरूको कुल संख्याको ९३ प्रतिशत दुर्घटना कम तथा मध्यम आय भएका मुलुकहरूमा हुने गरेको प्रतिवेदनले देखाएको छ। दुःखलाग्दो कुरा के भने यस्ता दुर्घटनामा मृत्यु हुने अधिकांशको उमेर ३० वर्षभन्दा कम छ। नेपालको अवस्थामा पनि यस्तै छ। ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार आर्थिक वर्ष २०७१÷७२ पछि सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो छ। २०७१÷७२ मा सवारी दुर्घटनाले २ हजार ४ जनाले ज्यान गुमाए। २०७२÷७३ मा २ हजार ६ जनाको मृत्यु भयो। २०७३÷७४ मा २ हजार ३ सय ८४ जनाको ज्यान गयो भने २०७४÷७५ मा २ हजार ८७ जनाको मृत्यु भयो। २०७५÷७६ मा २ हजार ७ सय ७९ जनाको मृत्यु भइसकेको छ।
सडक दुर्घटना किन बढ्दो छ ? खोज अनुसन्धान नभएको होइन। महाशाखाले दुर्घटना हुने कारणहरूको प्रतिवेदन पनि सार्वजनिक गर्ने र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने गरेका छन्। नेपालमा मुख्यतः चालकको लापरवाही, सवारीको अति तीव्र गति, मादक पदार्थ सेवन, सवारीको यान्त्रिक गडबडी, ओभरटेक, ओभरलोडजस्ता कारण छन्। पछिल्लो समयमा सडकमा दुर्घटनाको डरमा कमी आउँदै गएको पनि देखिन्छ। त्यसैले चालकको मात्र होइन, पैदलयात्रुको पनि लापरबाही बढ्दै गएको तथ्यांक छ। काठमाडांै महानगरमा चालकको हतारका कारण दुर्घटना बढेको निष्कर्षसहितको समाचार पढें। ‘दुर्घटना विभिन्न प्रकृतिले हुन्छ। पछिल्लो पटक गरिएको अध्ययनले चालक र यात्रुको हतारोपन नै दुर्घटनाको मुख्य कारण भेटेका छौं।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भनेका छन्। अन्नपूर्ण पोस्टको उक्त समाचारमा पछिल्लो तीन वर्षको अवधिमा सवारी दुर्घटनाकै कारण ७ हजार ५ सय ५१ जनाले ज्यान गुमाएको तथा १५ हजार ४ सय ४४ जना गम्भीर घाइते भएको पनि जनाएको छ।
सडकमा सवारी साधनहरूको चाप थपिँदै गएको छ। त्यसैले सडकहरू साँघुरिएका छन्, जताततै ट्राफिक जाम हुने गरेको छ। यस्तोमा दुईपांगे्रेका चालकले जताबाट भए पनि छिराउने, अनि चारपांग्रेका चालकले सहजै नछोड्ने तथा प्रतिस्पर्धामा हुइँक्याउने गरेको नदेख्ने कमै होलान्। यसबाहेक घरबाट ढिला निस्किने अनि बाटोमा हतार गर्ने, ट्राफिक प्रहरीलाई देखाउन मात्र सडक अनुशासन कायम गर्ने संस्कारले पनि सडक दुर्घटना बढिरहेको छ। सडक दुर्घटनामा वास्तविक दोषी खोज्नेभन्दा पनि ठूला साधनलाई नै दोष देखाउने चलन छ। हाम्रो कानुन पीडित पक्षमैत्री छ। जसले गर्दा विशेषतः मोटरसाइकल चालकहरूले सडकका सर्वमान्य सिद्धान्तविपरीत ओभरटेक तथा लेन क्रस गर्ने, दूरी कायम नगर्नेजस्ता लापर्वाही गर्ने गरेका छन्।
सडक दुर्घटनाबारे सरकार अनभिज्ञ पक्कै छैन। सडक सुरक्षाका लागि यातायात व्यवस्था विभाग तथा नेपाल प्रहरीको अगुवाइमा विभिन्न यातायात व्यवसायी, चालक तथा यात्रुलाई सचेतना गराउने काम भएका छन्। यस्तै, ट्राफिक नियमहरू अवगत गराउने, सडक अनुगमन तथा सडक नियमको अनुगमन, नियन्त्रण तथा कार्बाही गर्ने गरेका छन्। नेपालले संयुक्त राष्ट्रसंघको विश्वव्यापी ‘डिकेड अफ एक्सन फर रोड सेफ्टी २०११–२०२०’ लाई आत्मसात् गरेको छ। नेपाल रोड सेफ्टी एक्सन प्लान २०१३–२०२० तर्जुमा गरेर राष्ट्रिय सडक सुरक्षा रणनीति लिएको थियो। यस रणनीतिअन्तर्गत सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक तथा आवागमन, सुरक्षित सवारी, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछिको सेवासमेत गरेर महŒवपूर्ण पाँच खम्बाहरू थिए।
ती महत्वपूर्ण रणनीति अवलम्बन गरेर सन् २०२० सम्ममा सडक दुर्घटनाबाट मृत्यु र गम्भीर घाइतेको संख्या ३५ देखि ५० प्रतिशतसम्म घटाउने लक्ष्य नेपालले राखेको थियो। जुन सम्भव भएन भन्दा फरक नपर्ला। त्यसैले तिनै पाँच खम्बालाई परिमार्जित गरेर फेरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल रोड सेफ्टी एक्सन प्लान २०२०–२०३० तयार गरेको छ। यसले दुर्घटना न्यूनीकरण गर्ने तथा दुर्घटनामा घाइते भएकालाई तुरुन्त उपचार गर्नेसम्मको स्पष्ट र वैज्ञानिक उपाय भएकाले पक्कै प्रभावकारी हुने आशा पलाएको छ।
तर जति नै योजना तथा रणनीति बनाए पनि सवारी साधनको संख्या र सडकको क्षमतासँग मेल खान नसक्नु एउटा मुख्य समस्या बनेको छ। दोषीलाई कार्बाही नगरेर पीडितलाई मात्र क्षतिपूर्ति दिने, समयानुसार कानुनमा संशोधन नगर्ने र ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा भन्दा राजस्व उठाउन बढी केन्द्रित हुनुले दुर्घटनामा कमी आउँला भन्न सकिँदैन। अनावश्यक रूपमा यात्रा गर्ने, तीव्र गतिमा साधनहरू कुदाउने, समयमा सवारीसाधनको मर्मत नगर्ने, सडक अनुशासन कायम नगर्ने, गाडी चलाउँदा पनि मोबाइल प्रयोग गर्ने जस्ता समस्या सदा देखिन्छन्। सडक अतिक्रमण गरेर व्यापार गर्ने जस्ता व्यवहार सामान्य देखिए पनि सडक दुर्घटनाका कारण बनिरहेका हुन्छन्। पैदल यात्री, साइकल, विद्युतीय रिक्सा तथा दुईपांग्रे सवारीका लागि छुट्टै सडक लेन बनाउने काम सरकारले गर्नुपर्छ। सवारी दुर्घटनाको निष्पक्ष एवं वैज्ञानिक तवरबाट अनुसन्धान गरी दोषी देखिएका पक्षलाई कारबाही गर्ने जस्ता कार्यलाई तीव्रता दिनुको विकल्प छैन। चालकहरूले मोबाइल चलाउने, तीव्र गतिमा हुइँक्याउने, तथा जथाभावी ओभरटेक गर्ने कामलाई निस्तेज गराउनु आवश्यक छ।
कम उमेरका चालकहरूमा धैर्य कम हुने, आपत्कालीन निर्णय लिन नसक्ने तथा चाँडै बहकिने भएकाले यिनीहरूबाट दुर्घटना बढी हुने मान्यता छ। यो यथार्थ युवा पुस्ताले मनन गरे आफ्नै ज्यान जोगिन्छ। ज्यान रहे न अरू काम। चालक अनुमतिपत्र प्रदान गर्दा उमेर र शिक्षालाई पनि महत्त्व दिनुपर्छ। सन्तानलाई अनावश्यक रूपमा सवारी साधन खरिद गरिदिनुभन्दा पनि आवश्यकतालाई ध्यानमा राखेर मात्र सवारीसाधन खरिद गर्नु उपयुक्त हुन्छ। कलेजहरूले पनि आफ्ना विद्यार्थीलाई अब विशेषगरी
मोटरसाइकलमा आउन निस्तेज गर्नुपर्ने जरुरी भएको छ। अनावश्यक रूपमा दुईपांग्रे साधन हुइँक्याउने विद्यार्थी र बेरोजगार युवा वर्गलाई सचेतनासँगै निस्तेज गर्ने कार्यक्रमहरू अगाडि बढाउनु पर्ने पनि उत्ति नै आवश्यक देखिन्छ।