वासस्थान बढाऔं बाघ जोगाऔं
बाँके–बर्दियामा तीन वर्षको अवधिमा पाटेबाघको आक्रमणबाट २९ जनाको ज्यान गएको छ। ४० प्रतिशत बाघको आक्रमण निकुञ्जभन्दा बाहिर भएको छ। बाघको संख्या वृद्धि भएर बाँके र बर्दियामा मात्र होइन, अन्य संरक्षित क्षेत्र बाहिर पनि बाघ आक्रमणका घटना भइरहेका छन्। आहाराको खोजीमा अहिले बाघ निकुञ्ज बाहिर निस्केका छन्। स्थानीय डरत्रासमा छन्। मान्छे र घरपालुवा चौपायाको सजिलो शिकारमा बाघ पल्किन थालेको छ। सामुदायिक वनमा दिउँसै बाघसँग जम्काभेट हुनु सामान्य घटना बनेका छन्।
२०औं शताब्दीको पूर्वाद्र्धमा विश्वमा एक लाखको हाराहारीमा बाघ थिए। सन् २०१८ को गणनामा विश्वभर ३ हजार ८९० मात्र बाघ छन्। विश्वभर १३ देशमा मात्र बाघ पाइन्छ। वनजंगल फँडानीले बासस्थानमा कमी हुनु, संरक्षणको अभाव, गैरकानुनी चोरी शिकारले अहिले बाघ लोपोन्मुख प्राणीको सूचीमा दर्ज भएको छ। पाटेबाघका नौ प्रजातिमध्ये तीन प्रजाति त लोप भइसकेका छन्। योजनाबद्ध रूपमा बाघ संरक्षण नगरेको भए केही वर्षभित्रै बाघ प्रजाति नै लोप हुने खतरामा थियो। बाघको संख्या बढेकै संरक्षण गर्न थालेपछि हो। यही वर्षभित्र बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा हुँदैछ। बाघको संख्या वृद्धि भएसँगै निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविक मार्गमा पर्ने वनको आसपासका बासिन्दा बाघको आक्रमणबाट अकालमा ज्यान गुमाइरहेका छन्। कतिको अंगभंग भएको छ। घरेलु चौपायालाई पनि बाघले खाएको छ। मानिस र घरपालुवा जनावरको शिकारमा बाघ पल्कनु भनेको मानवका लागि मात्र होइन, बाघकै लागि पनि खतरा हुन्छ। बाघको शिकार गर्ने गुण हराउँदै जान्छ। एउटा शिकार गर्न बाघले कम्तीमा २० वटा आक्रमण गर्छ। बाघ नरभक्षी हुँदा वा घरपालुवा जनावरमा पल्किँदा उसका विशिष्ट गुण पनि हराउँछन्। केही नलागे बुढो बाघले त खाल्डो खनेर आत्महत्या गर्छ भनिन्छ। जसले सिंगो ‘इको सिस्टम’लाई नै प्रभाव पार्नसक्छ।
जंगली हात्ती गाउँ पस्छ। घर भत्काउँछ। मानिसमाथि आक्रमण गर्छ। बाली खाइदिन्छ। गैंडा पनि निर्बाध रूपमा टोलबस्तीबाटै हिँड्छ। मृग, बँदेल, नीलगाई, बाँदर आदि वन्यजन्तुले पनि बाली खाएर किसान हैरान पर्छन्। यसको मुख्य कारण वर्षौंदेखिको वन्यजन्तुको वासस्थान मानवले कब्जा गरेर हो। जनसंख्या बढ्दो छ। जमिन बढ्दैन। त्यसैले वन क्षेत्र नै अतिक्रमणको चपेटामा पर्छ। विगतको विशाल वन क्षेत्रमा अहिले मानव बस्ती छ। घरजग्गा छन्। जसबाट वन्यजन्तुको वासस्थान साँघुरो हुँदै गएको छ। वन्यजन्तुको संख्या वृद्धि गर्ने उद्देश्यले बनाएका संरक्षित क्षेत्रमा यस्तो समस्या अझ बढी छ। जसका कारण वन्यजन्तु–मानव द्वन्द्व बढिरहेको छ।
बाघ प्रकृतिको सुन्दर लोपोन्मुख प्राणी हो। जैविक प्रणालीलाई सन्तुलनमा राख्न बाघले योगदान पुर्याउँछ। खाद्य शृंखलामा बाघ मुख्य शिकारी जनावर भएकाले अरू जनावरलाई नियन्त्रणमा राखेर वातावरण सन्तुलनमा योगदान गर्छ। बाघ संरक्षणका लागि ठूलो जंगल क्षेत्र चाहिने भएकाले अन्य वन्य पशुपंक्षीको संरक्षणमा पनि मद्दत पुगिरहेको हुन्छ। बाघको संरक्षण गरेपछि अन्य वन्यजन्तु, जीवजन्तु जस्ता जैविक विविधताको स्वतः संरक्षण भइरहेको हुन्छ। त्यसैले निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र वा मध्यवर्ती क्षेत्र विस्तार गर्नु पनि बढ्दो बाघको वासस्थान व्यवस्थित गर्ने एउटा उपाय हो। निकुञ्ज आसपासका बस्तीलाई अन्यत्र सार्न सकिन्छ। निकुञ्ज र आरक्ष निर्माण गर्दा विगतमा बस्तीलाई स्थानान्तरण गरेका अनुभवबाट पाठ सिक्दै संरक्षित क्षेत्र विस्तार गर्न ढिलो गर्नु हुँदैन। वन मन्त्रालयले सम्भाव्यता अध्ययन गर्न ढिलो गर्नु हुँदैन। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ।