गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सकियो क्यालिब्रेसन फ्लाइट
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सूचारु अघि गरिएको यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सकिएको छ।थाइल्याण्डबाट ल्याइएको विशेष विमानमार्फत उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरू गरिएको छ।
थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर संचारलगायत उपकरणहरूको जाँच गरेको हो। ‘यान्त्रिक उडानको प्रारम्भिक रिपोर्ट अनुसार विमानस्थलमा जडान भएका संचारलगायतका उपकरणहरू ठिक पाइएको छ’ विमानस्थलको आइसीपी टू आयोजनाका प्रमुख प्रविण न्यौपानेले भने, ‘फाइनल रिपोर्ट आएपछि यकिन हुन्छ।’ विमानस्थलको दुई चरण आइसीपी वान (भौतिक संरचना निर्माण) र आइसीपी टू (संचार उपकरण जडान) अन्र्तगतमा काम भएको छ। विमानस्थलको आईसीपी टू को ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक उडान गरेको हो।
‘कम्पनीलाई आन्तिरक र फाइनल गरी दुई वटा रिपोर्ट सकेसम्म छिटो उपलब्ध गराउन भनेका छौं’ उनले भने, ‘दुवै रिपोर्ट आएपछि सोही अनुसार थप प्रक्रिया अगाडि बढाउँछौँ।’ सम्भवत १५÷२० दिनभित्रमा यान्त्रिक उडानका दुबै रिपोर्ट आउने बताइएको छ।
विमानस्थल संचालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि सय दिनको योजनाअन्र्तगत काम भइरहेको छ। पर्यटन मन्त्रालयअन्र्तगतका निकायबाट काम भइरहेपनि गृह, अर्थलगायत मन्त्रालयअन्र्तगतबाट हुने काम ‘फिल्ड’मा देखिएको छैन।
अगामी ०७९ जेठ २ गते विमानस्थल सञ्चालनको लक्ष्य राखिएपनि विमानस्थलमा गृह अन्र्तगतको अध्यागमन र अर्थ अन्र्तगतको भन्सार कार्यालय राख्ने कुनै सुरसार देखिएको छैन। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय भएको नदेखिँदा विमानस्थल सञ्चालन लक्ष्य राखिएको मिति अझै धकेलिन सक्ने सम्भवना देखिएको छ।