‘सूचनालाई फिल्टर गरेर मात्रै लाईक, सेयर गर्नुपर्छ’
काठमाडौं : स्वतन्त्र र स्वच्छ निर्वाचनलाई सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाले चुनौति थपिएको छ। यसले मतदातालाई अन्यौलतामा पार्ने गरेको छ। मिथ्या सूचनाले उम्मेदवारहरुको प्रतिष्ठामा पनि आँच ल्याउने गरेको सरोकारवालाले बताएका छन्।
‘डिजिटल मिडिया र पैसाको गलत प्रयोगले निर्वाचन प्रभावित भइरहेको छ,’पूर्व निर्वाचन प्रमुख आयुक्त भोजराज पोखरेलले भने,‘गलत सूचनाले मतदातामा गलत भ्रम सिर्जना गर्छ।’ निर्वाचनमा कोही पनि न्यायधिश(जज) बन्न नहुने उनले बताए।
नेपाल मतदाता अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पूर्व निर्वाचन प्रमुख आयुक्त पोखरेलले निर्वाचनको समयमा भ्रम फैलाउन सोसल मिडियाहरु साशक सिद्ध भइरहेको छ। ‘सूचनालाई फिल्टर गरेर मात्रै लाईक, सेयर गर्नुपर्छ,’उनले भने।
सिमान्तकृत समुदायका मतदाताहरु भ्रामक, मिथ्या र गलत सूचनाले प्रभावित हुने गरेका छन्। सरकारले बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दैछ। ‘देश निर्वाचनमय बनेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वासनी बनाउन हामी लागी परेका छौं,’ निर्वाचन आयोगकी आयुक्त डा. जानकी तुलाधर भन्छिन्, ‘आम मतदाता माझ सजिलै सूचना पुर्याउने माध्य सामाजिक सञ्जाल हो।’ तर, मिथ्या सूचनाले निर्वाचनमा चुनौति थपेको उनले बताइन्।
‘भ्रामक सूचनाले मतदातालाई कमजोर बनाउँछ, उमेदवारको प्रतिष्ठामा आँच पुर्याउँछ,’ उनले भनिन्,‘यस्ता सूचनाले दलित, अल्पसंख्यक र दुरदराजका बस्तीहरुमा गम्भीर असर पुर्याउँछ।’
नेपाल टेलिकमका अनुसार नेपालको कूल जनसंख्या मध्ये ८७.१९ प्रतिशत मानिसहरु ईटरनेटको पहुँचमा छन्। त्यस मध्ये ४४.२ प्रतिशत युवा पुस्ता छन्। नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डि बेरीले नेपालले साहसिकरुपमा लोकतन्त्र प्राप्त गरेको बताए। ‘नागरिक मुलुकको संरक्षक हो। असत्य र गलत सूचनालाई सबैले पहिचान गर्नुपर्छ। नत्र यसले लोकतन्त्रलाई कमजोर बनाउँछ’, उनले भने।
भ्रामक सूचना समकालिन नेपालका लागि नयाँ बिषय बनेर आएको नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्माले बताए। निर्वाचनमा सामाजिक सञ्जालबाट छरिने भ्रामक सूचनालाई नियन्त्रण गरे युवा पुस्ताले लोकतन्त्रलाई बलियो बनाउनु पर्ने जोड दिए।