शिवज्ञानलाई बोध गर्ने पर्व

शिवज्ञानलाई बोध गर्ने पर्व

शिवलिंगप्रतिको यौनिक सोचलाई गलत व्याख्या गरिएको छ। शिवलिंगलाई प्रकृति र पुरुषको शक्ति र सौन्दर्यसँग जोडेर हेरिन्छ।


नेपाली माटोमा पावन धराधामले बसुधैव कुटुम्बकम्को भावलाई एकाकार गरेका छन्। नेपाली रोमाञ्चकता भावनामा रमेको छ। सिर्जनशील र उद्यमी हुनु जति आवश्यक छ, त्यति नै शान्तिको आवश्यकता छ। जहाँ शान्ति हुँदैन, त्यहाँ समृद्धि अधुरो हुन्छ। अज्ञानताले किचिएको छ मान्छे। अनि, ज्ञानको सागर हरदम बगिरहेको यो पावन भूमिले शिवरात्रिजस्ता पर्वको महिमालाई मनन् गर्न सिकाएको छ। वास्तवमा शिवको अर्थ मंगल, कल्याण, आनन्द अर्थात् मुक्त हुने मार्ग भन्ने हुन्छ। मुक्ति वा मोक्षको गहनतम् आधारका रूपमा शिवतत्वलाई ग्रहण गरिन्छ। ग्रन्थ पुराणमा शिवशक्तिको महिमाभित्र सृष्टिको सम्बन्ध गाँसिएको छ। त्यहाँ प्रकृति र पुरुषको गहन अर्थ समाहित भएको छ। त्यसमा पनि हिन्दू धर्मावलम्बीको यो शिवरात्रि पर्वको महत्वालाई जीवन र जगत्सँगै जोडेर हेरिन्छ।

अन्तज्र्ञानको रहस्य अर्थात् आत्मज्ञानको निर्विकार रूपको अर्थतात्त्विक सारलाई अपनाइएको छ। यसर्थ अल्पव्याख्या र अपव्याख्याको संकुचनलाई चिरेर हेर्दा यो शिवरात्रिलाई शिवकथासँग जोडेर हेर्नु आवश्यक देखिन्छ। शिव विवाहको वार्षिकीका रूपमा मनाइने शिवरात्रि पर्वलाई सनातनको ज्ञानका कोणबाट बोध गर्नु वाञ्छनीय हुन्छ। अझ भनौं, जाडोयामलाई लगभग बिदाइ गर्दै वसन्तको आगमनको स्वागत गर्ने व्यावहारिक परिवेश पनि। वर्षभरिमा १२ ओटा शिवरात्रि रहने भए पनि फागुन महिनामा कृष्ण चतुर्दशीको छुट्टै आध्यात्मिक, सामाजिक र सांस्कृतिक महत्व छ। चन्द्रमासको चौधौं दिन जसमा नयाँ चन्द्र उदाउनुपूर्वको रात्रि मानिने शिवरात्रिको पावन दिनलाई ज्योतिष विज्ञानले उच्च महत्वका साथ स्वीकार गरेको छ। यसै दिनमा सप्तर्षिहरूलाई आदिगुरु बनेर शिवजी स्वयम्ले योग शिक्षा दिई जनकल्याणको ज्ञान दिइनु, शिवज्ञान प्रदान गर्नु, क्रोधादि मनोविकार समाप्तितर्पm मोडिने सन्देश प्रवाह गर्नु नै यो पर्वको मूल रहस्य हो। यसरी हेर्ने हो भने शिवभक्त हुनु भन्नाले धूमपानमा सरिक हुनु कदापि होइन।

भक्तजनको घुइँचो, शिव पुराणका पवित्र मन्त्रोच्चारण र यज्ञ होमादिले यो दिन साँच्चै शोभनीय लाग्छ। शिव मन्दिरमा पूजा अर्चना गर्नेको सुखद तँछाडमछाड, व्रत उपासना अनि जमघटले सामाजिक मर्यादा र एकताको सद्भावलाई जोगाएको छ। विज्ञानसँग पनि यसको मेल रहेको अर्को सुन्दर रहस्यले महाशिवरात्रि टाढिएकै छैन। आजको दिनलाई कुम्भ संक्रान्तिका नाममा चिनिन्छ। सौर्यमण्डलमा रहेका तारामध्येको एउटा तारा ‘उत्तरफाल्गुनी’ का नामबाट फागुन महिनाको न्वारन भएको बुझिन्छ। वैज्ञानिकले यो रात्रिको समयमा धर्तीका जीवमा एक प्रकारको शक्ति अर्थात् गुरुत्वाकर्षणको अचम्मको प्रभाव रहने तथ्य अघि सारेका छन्। अर्को अर्थमा बिउबिजन लगाउने, मकै, गहुँ, जौजस्ता बिउबिजन छर्ने कृषिकर्मको सहचार्य तथा फागु अर्थात् होली खेल्ने समयको रूपमा यो महिना सामाजिक, सांस्कृतिक एकताको पर्व बनेको देखिन्छ।

पौराणिक मान्यताअनुसार शिवको विवाह वार्षिकी तथा शिवरात्रिकै दिन भगवान् शिवले आशुतोषको रूप धारण गरेको मान्यता रहिआएको छ। आराध्य देव मानिने शिवले पर्वतको रूप धारण गरेर अजर अमर त्यो लीलालाई बोध गराएको मान्यता यस पर्वसँग जोडिएको पाइन्छ। यो रात्रिको समयलाई निर्भय तथा आँटिलो बिम्बबाट नियालिन्छ। अर्को पक्षमा नेपालका बहुल धार्मिक संस्कारसँग यसको आपसी समन्वय भएको पाइन्छ। यही दिनलाई नेवा समुदायले ‘सिलाचःह्रे पूजा’ गर्ने पर्वको रूपमा मनाउँछन्। बालबच्चाले बाटो छेकेर पैसा जम्मा गर्ने तथा सोही रकमले त्यो साँझमा आगो बालेर त्यहाँ मकैजन्य खाद्यान्न भुटी खाने चलन छ। बाटो छेक्ने चलनलाई ‘जगा छेक्ने’ भन्ने गरिन्छ। यो विधिमा पनि शिवकै पूजा गरिन्छ। बेलुका धुनी जगाउने पद्दतिगत समानता हिन्दू र नेवाको चाडका दुवै समुदायमा उस्तै रहेको बोध हुन्छ। यस दिनमा व्रत बस्ने चलन नेवा समुदायसँग समान रहेको पाइन्छ। यो महिनालाई दुवै समुदायले पवित्र महिनाको संज्ञा दिन्छन्। पवित्रताको द्योतक मानिने यो समयले चिसो मौसमलाई बिदाइ गरी मौसमी बदलावलाई इंगित गरिरहेको हुन्छ। उता शिवरात्रिकै रूपमा सोही दिन नभए पनि किराँत समुदायले उँभौली र उँधौली पर्वका रूपमा प्रकृतिलाई पूजा गर्नु जहाँ सुम्निमा (पार्वती) र पारुहाङ (शिव) लाई सम्मान गर्नुले पनि यी चाडपर्वको बहुल मान्यता गाँसिन्छ।

शिवशक्तिको पूजा अर्चनाबाट यो रात्रिले शक्ति, सौर्य र सामथ्र्य जगाउने जनमान्यता छ। शिवजी उत्पत्तिको रातका नामले चिनिने काल, मोह, सुख र शिव गरी चार रात्रिमध्ये यो रातलाई प्राणीको हृदयलाई खुसी बनाउने आशुतोष भगवान्को अनुकम्पाले ओतप्रोत रहेको समय मानिन्छ। दीनदुःखीमाथि करुणाको वर्षा गराउने भगवान् शिवको प्यारो यो दिनलाई हिन्दू धर्मावलम्बीले व्रतोत्सवका रूपमा मनाउँछन्। आराध्य देवलाई शिव मन्दिरमा पूजा अर्चना गर्छन्। शिवको प्रिय बेल–पत्र चढाउँछन्। यस दिनमा शिवको पञ्चाक्षरी ‘ओम नमः शिवाय’ मन्त्रलाई उच्चारण गरे मात्र पनि सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास छ। यो दिन ब्रह्माले रुद्ररूपी शिवलाई उत्पन्न गरेका तथा शिवजीको विवाहोत्सव मनाइने परम्परित आस्था गाँसिएको छ। कृष्ण चतुर्दशीको यो रातमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमागान वा कीर्तन भजनलाई मुख्य पूजा विधि मानिन्छ। यस दिनमा शिवले आफ्नो तेस्रो नेत्रद्वारा निस्किएको भयंकर ज्वालाले प्रलयकालको प्रदोषको समयमा ताण्डव नृत्य गर्छन्। यसरी ब्रह्माण्डलाई समाप्त पार्ने भएकैले यो समयलाई कालरात्रि तथा महाशिवरात्रि भनिन्छ।

रुद्राक्ष, विष, भाङ, धतुरो, बेल पत्र, दुग्ध धारा आदिलाई शिव पूजनका साधन मानिन्छन्। पछिल्लो समय विकसित शिवको नाममा गाँजा, भाङ खाने, उच्छृंखलपना मच्चाउने विकृति बढेको देखिन्छ। यथार्थमा यी कर्महरू केवल आफ्नो स्वार्थबाट पक्षपोषित छन्। कथालाई विश्लेषण गर्दा कालकुट विष पान गरेर संसारलाई बचाउनु, विषलाई समन गर्दै प्राणी जगत्को रक्षा गर्नु उनको कर्तव्य हो। प्रकृति भएकैले यो विषय रहर, रोमाञ्चक थिएन, जुन गुण हामीमा छैन। यसर्थ हाम्रा लागि ती मद्यपान, धूमपानका विषय अपाच्य र अग्राह्य छन्। आजभोलि भगवान्को श्रद्धा अर्पण गर्ने नाममा बढेका विकृतिलाई त धर्मशास्त्रले तामसी कर्मको संज्ञा दिन्छ।

जे जसरी भौतिक रूपमा शिवको व्याख्या गरिएको भए पनि शिवको अर्थ शान्ति र ज्ञानको प्रतीक हो। वस्तुतः यो पर्व एउटा धर्मभित्र बाँधेर हेर्ने गरिन्छ। शिवको शक्तिलाई निराकार अर्थात् रूपविहीन मानिन्छ। अमूर्त शक्ति जसको कुनै आकार नभएर पनि सबै थोक त्यही शक्तिमा केन्द्रित हुने अपौरुषेय मानिन्छ। उनको न त जन्म भयो न त मृत्यु नै। 

‘एकोअहं द्वितीयो नास्ती, न भूतो न भविष्यति।’ अर्थात् ‘म एकै हुँ दोस्रो छैन, म न त भूत हुँ न भविष्य नै। यसर्थ सधैं वर्तमान हुँ’ भन्ने भावना यस पर्वको शिवशक्तिको स्रोत हो। यो मर्मलाई गीताले पनि उही रूपमा उल्लेख गरेको हुँदा हिन्दू दर्शनमा जे जति ईश्वरका नाम र काम भए पनि सबैको स्रोत शक्ति अर्थात् निरञ्जन निराकार रूपमा मिल्न जान्छ।

अर्कोतिर शिवलिंगप्रतिको यौनिक सोचलाई गलत व्याख्या गर्ने गरिएको छ। शिवलिंगलाई प्रकृति र पुरुषको शक्ति र सौन्दर्यसँग जोडेर हेर्ने गरिन्छ। यसमा ज्योतिर्लिंग र शक्ति उपासनाका आधारमा परमात्मासँगको साक्षात्कारलाई गाँसिएको हुँदा यो एउटा बिम्बात्मक अर्थमा आएको देखिन्छ। अनन्त वा निराकारको अर्थमा आउने शिवलिंगका बारेमा अल्पअध्ययनका कारण अपव्याख्या भएको भान हुन्छ। यसर्थ यस्तो शक्तिलाई मन र बुद्धिले समात्न सक्दैन। हृदयसँग सम्बन्धित शक्तिलाई अनुभवबाट मात्रै ग्रहण गर्न सकिने शास्त्रोक्ति छ। यसर्थ जीवनको अर्थलाई बुझ्न आत्मज्ञानको मर्मको ग्रहण आवश्यक रहने देखिन्छ। यो ज्ञानका लागि समयको सद्गुरुको आवश्यकता पर्छ। अतः यो ज्ञानलाई आलेख मानिन्छ। जडवाद र आत्मवादको द्वन्द्वमा रहेर निस्केको अवधारणालाई स्वीकार गर्ने हो भने शिवतत्वले निर्विकार शक्तिलाई स्वीकार गर्छ। यहाँ मानिस नै जनार्दन बन्ने खुबी राख्ने प्राणी हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.